३० चैत्र २०८०, शुक्रबार | Sat Apr 13 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अन्तर्वार्ता


‘कोञ्ज्योसोममा पुर्वाधारका काम धेरै भएका छन्’



दक्षिण ललितपुरको कोञ्ज्योसोम गाँउपालिका ८० प्रतिशत भन्दा धेरै जनसंख्या तामाङ्ग समुदायको बसोबास गर्ने गाँउपालिका हो । काठमाडौं उपत्यका बाहिर रहेको डाँडा पाखाहरुले ढाकिएको यो गाँउपालिका उर्भर खेती योग्य जमिन भएको गाँउपालिकाको रुपमा परिचत छ । पुर्नसंरचना भएको पहिलो स्थानीय निकायको कार्यकालमा कस्ता विकाश, निर्माण भए साथै कस्ता खाले चुनौती सामाना गर्नु प¥यो भन्ने सन्दर्भमा गाँउपालिकाका अध्यक्ष गोपिलाल सिङ्गतानसँग हामीले कुराकानी गरेका छौं । प्रस्तुत छ संवादको सम्पादित अंश :

चार वर्ष कार्यकाल पूरा भएको छ । के के काम भएका छन् ?

हामी सुरुमा आउदा कपी र कलम समेत थिएन । बस्ने ठाँउ समेत थिएन । न त स्थानीय सरकार संचालनका लागि कानून नै थियो । त्यो शुन्यको अवस्थाबाट हामीले काम गर्नु परेको थियो ।
हामीले धेरै कानून बनाएका छौं । भौतिक पुर्वाधारका काम पनि धेरै भएका छन् । गाँउ, टोल र बस्ती बस्तीमा सडक पु¥याएका छौं । अहिले हरेक टोलबाट १० मिनेट हिडेपछि सवारी साधन गुड्ने सडकसम्म पुग्ने अवस्था श्रृजना भएको छ । गाँउपालिका कार्यालयसम्म जाने ४० एमएमको कालोपत्र सडक सडक बनेको छ ।
गाँउपालिकाको पाँचै वटामा पर्यटकीय संरचना बनाउने क्रममा धार्मिक पर्यटन प्रर्बद्धनका लागि कामहरु भइरहेका छन् । गाँउ गौरवको आयोजनाको रुपमा कोञ्ज्योसोम प्रतिमा बन्दैछ । लिफ्ट प्रविधिको खानेपानी बन्दैछ ।
प्राचिन ऐतिहासिक साँस्कृतिक धरोहर गुप्तेश्वर गुफासम्म जानका लागि पौवाचौरदेखि गुप्तेश्वर गुफासम्म २ करोड ५० लाख रुपैया बजेटले ढुंगाको सिडि बाटो बन्दैछ । शंखुमा कृष्ण प्रणामी मन्दिर र छोरदेन गुम्वा बन्दैछ । दलचोकी मन्दिरको पुर्ननिर्माण हुँदैछ । दलचोकी भ्यूटावर बन्दैछ । पाथिभारा मन्दिर स्तरोन्नती हुँदैछ । सडक बनेको छ । चौघरेमा क्षत्रीयस्तरको रंगशाला बनाउदैछौं । ४ करोड ५० लाखमा गाँउपालिका भवन बनाइएको छ । छिट्दै हामी सरेर त्यसै भवनबाट सेवा दिदैछौं ।
स्वास्थ्य क्षेत्रमा हामी वागमती प्रदेशमा १ नम्बरमा छौं । पशु तथा कृषिको प्रगतिमा हामी देशै भरिमा दोश्रो नम्बरमा छौं । भौतिक पुर्वाधारको प्रगतिमा हामी १ नम्बरमा रहेका छौं ।
०७७÷७८ सालको नीति तथा कार्यक्रममा १२ बषदेखि ५० वर्षसम्मका महिलाहरुलाई नि : शुल्क सेनेटरी प्याड वितरण गर्दैछौं । सामाजिक सुरक्षा भत्ता घर घरमै पुग्ने व्यवस्था गर्दैछौं ।


गाँउपालिकामा काम गर्न चुनौती कस्ता कस्ता रहेछन् ?
सुरु सुरुमा कर्मचारी नै नहुँदा काम गर्न कठिन भयो । जनप्रतिनिधिहरु भनेको विज्ञ होइनन् । जनप्रतिनिधिहरुले नीति निर्माण गर्ने हो । अनुगमन र नियमन गर्ने हो । काम गर्ने भनेको कर्मचारीले हो । कोञ्ज्योसोम गाँउपालिकामा मैले कर्मचारी राम्रोसँग व्यवस्थापन गर्न सकिएको छ । कतिपय आवश्यक कर्मचारी गाँउपालिकाको गाँउसभाले निर्णय गरेर करारमा समेत राखेका छौं ।
कार्यान्वयन गर्ने सवालमा जनताले पनि नीति नियम पालन गरे सुशासन कायम हुन सक्ने रहेछ । कतिपय उपभोक्ता समितीले अपेक्षाभन्दा राम्रो काम पनि गरेका छन् । कतिपय काम ठेकेदारको भन्दा पनि गुणस्तरहीन बनेको छ । म चौविसै घण्टा खटेर काम गर्ने गाँउपालिकाको अध्यक्षको ठाँउमा त यस्तो छ भने देश भरि के होला ?
काम गर्ने जनप्रतिनिधिलाई काम गर्ने वतावरण दिने चलन छैन । राम्रो काम गर्नेलाई साथ र समर्थन गरिदैन । मरेपछि मात्रै त्यसको मूल्याङ्कन गर्ने गरिन्छ । सालिक बनाइन्छ । मनले काम गर्नेलाई साथ दिने भए धेरै काम गर्न सकिन्छ । चुनौतीहरु धेरै छन् । संघ र प्रदेशले के काम गर्ने भन्ने स्प्रष्ट नहुँदा पनि समस्या बढेको छ ।
समयमै ऐन र कानून नबनाइदिदा समस्या बढेको छ । ऐन, कानून र कार्यविधिहरु बनाउदा स्थानीय तह हेरेर नबनाउदा पनि समस्या बढेको छ । एक रुपता छैन ।
स्थानीय राजनीतिकर्मीहरुले काम गर्न कति सघाएका छन् ?
मलाई गाँउपालिकामा प्रतिपक्षहरुबाट राजनीतिक हिसावबाट कुनै अवरोध छैन । म आफूलाई लाग्छ, मैले पुर्वाग्रह राखेर काम नगरेको कारण नै यो सहयोग मिलेको हो । मैले सबै पार्टीका राजनीतिककर्मीहरुलाई समन्वय गरेर काम गरेको छु । विकाश निर्माणमा पारदर्शी काम गरेको छु । जहाँ अपारदर्शी काम हुन्छ त्याँहा विरोध हुन्छ । सबैको अपनत्व हुने गरेर काम गर्नुपर्छ । काम गर्न खुला हुनुपर्छ । कोञ्ज्योसोममा विकाश निर्माणमा अवरोध र विरोध छैन ।
कर्मचारीहरुको सहयोग कति छ ?
मुख्य कुरा जनप्रतिनिधिहरु अभिभावकको भूमिकामा रहने हुँदा काम गर्ने वातावरण हामीले बनाउनु पर्छ । कर्मचारीलाई काम गर चनेर दवाव दिएर हुँदैन । गाँउपालिकाको अध्यक्ष भएको हैसियतले यो कुरा मैले बुझ्नु पर्छ भन्ने लाग्छ । मैले व्यवस्थापन गर्न जान्नु पर्छ र निर्देशन दिनुपर्छ । काम गर्नेलाई मैले प्रोत्साहन दिएको छु । सम्मान गरेको छु । तर काम नगर्नेहरुलाई कारवाही पनि गर्छु । त्यसैले कोञ्ज्योसोम गाँउपालिकामा काम गर्ने वातावरण छ । त्यही वातावरणका कारण कर्मचारीहरुले साथ पनि दिएका छन् । त्यही भएर म सफल भएको होला ।
कोञ्ज्योसोम पर्यटनको सम्भावना भएको क्षेत्र हो । पर्यटन प्रवद्र्धनका लागि अहिलेसम्म काम चाही के के भएका छन् ?
कोञ्ज्योसोम गाँउपालिकालाई कृषि पर्यटनका लागि घोषणा गरेको गाँउपालिका हो । कोञ्ज्योसोम जाँदा सबै कुरा अर्गानिक पाउछ भन्ने जनमानसमा बनाउनु छ । म जनप्रतिनिधि हुनुभन्दा अघि गाँउपालिकाबाट दैनिक रुपमा ६ हजार दुध उत्पादन हुन्थ्यो भने अहिले दैनिक २० हजार लिटर दुध बजारमा विक्रि हुन यहाँबाट जान थालेको छ । दैनिक ४० हजार लिटर दुध शहर लगेर बेच्न सकिने अवस्था बनाउने मेरो भिजन छ । हाम्रो नारा कोञ्ज्योसोम जाँउ अर्गानिक खाउ भन्ने नारा छ ।
अघिल्लो वर्ष पर्यटन प्रवद्र्धनका लागि हामीले कोञ्ज्योसोम पदयात्रा गरेका थियौं । सामाजिक क्षेत्रका विभिन्न व्यक्तिहरुदेखि पत्रकारहरु समेत सहभागी यस यात्राबाट पर्यटकीय गन्तव्यहरुमाथि धेरै बहस र प्रचार भएको थियो । तर कोरोना माहामारीले त्यसको निरञ्तरता दिन सकिएन । हामीले प्रशस्तै पर्यटकीय संरचना निर्माणमा लगानी गरेका छौं । यसको प्रतिफल पक्कै आउनेछ ।
दलचोकीबाट काठमाडौं उपत्यका सुन्दर देखिन्छ । यस ठाँउ स्वर्गजस्तो हुन्छ । दोश्रो दार्जलिङ्ग बनाउछु भन्ने योजना छ । तर समय पो छैन । हिजो केही नभएर काम गर्न सकिएन । आज सबै छ । तर समय छैन । कार्यकाल सकिन लाग्यो ।


कोरोना माहामारीसँग कोञ्ज्योसोम गाँउपालिकाले कसरी लडाई लड्यो ?
कोरोना भाइरससँगको लडाईमा यो गाँउपालिका अग्रपंतीमा थियो । हामीले राम्रोसँग सृजकता अपनायौं जनप्रतिनिधि र कर्मचारी खटेर कोरोनाबाट यस गाँउपालिकालाई जोगाउन सफल भयौं । कोरोनाका कारण यहाँ कसैको पनि अकालमा मृत्यु भएन । कोञ्ज्योसोम जना व्यक्तिको मृत्यु भयो । तर बाहिर बस्ने व्यक्तिको मात्रै । अध्यक्ष फोरम गठन गरेर हामीले अन्य गाँउपालिकासँग समन्वय गरेका थियौं । लकडाउन,निषेधाज्ञा गरेको अन्य गाउपालिकामा पनि एक रुपता ल्याउका थियौं ।
कृषिमा क्षेत्रमा काम के कस्ता भएका छन् ?
कृषिमा पकेटको कार्यक्रम ल्याएका छौं । शंखुलाई भैसी पकेट क्षेत्र घोषणा गरेका छौं । यहाँ ललितपुरको सबैभन्दा धेरै दुध उत्पादन हुन्छ । वडा नं. ३ लाई बाख्रा पकेट क्षेत्र घोषणा गरेका छौं । वडा नम्बर ४ लाई गोलभेडा, ५ र १ लाई अन्य तरकारी पकेट क्षेत्र घोषणा गरेका छौं । यसरी कृषी कार्यक्रमहरु ल्याएर नमूना काम गरेका छौं ।
विदेशमा पलायन भएका युवाहरुलाई आफ्नै गाँउमा स्वरोजगार हुन हामीले बैंकहरुसँग विना धितो ऋण दिलाउने पहल भइरहेको छ । त्यसको नियमन र कार्यान्वयन हुने गरि कार्यविधि बन्दैछ । सम्झौता गर्दैछौं । त्यसपछि स्थानीय उत्पादन बढ्नेछ ।
कर नीति कस्तो लिनु भएको छ ?
कर को विषयमा राज्यले नै आलोचनाको विषय बनाइ दिएको छ । जनतालाई सरकारले कर लिएर लुट्यो भन्ने परेको छ । त्यो लुटेको होइन सिस्टम बसालेको हो । व्यावसायीहरुले कर तिर्नुपर्छ । जनतालाई त कर लिएकै छैन । कृषकलाई कर लिएको छ र ? फलफुल बेच्नेलाई कर लिएको छैन । जनतालाई कर लिएको मालपोत रु घटना दर्तालगायतको सामान्य कर हो । तर अस्वभाविक प्रचार भएको छ ।
कोञ्ज्योम गाँउपालिका स्थानीय श्रोत र साधन नभएको ठाँउ हो । ढुंगा खानीको प्रशस्त सम्भावना भएको ठाँउ हो । तर प्रदेश र केन्द्रले अंकुश लगाइदिएको छ । स्थानीय पर्यटन क्षेत्रमा पार्किङ्ग,पर्यटन शुल्क भनेको छ । भएको ठाँउ सबै बन जंगल । बनलाई बन ऐनले छुनै दिदैन । के पर्यटन क्षेत्र बढाउनु ?
पर्यटकीय क्षेत्र विकाशका लागि पार्किङ्ग, धार्मिक संरचना र पिकनिक स्थलहरु आदि बनाउन सरकारले स्थानीय सरकारलाई केही जमिन दिनु जरुरी छ ।
स्थानीय सरकारले अधिकार पाएन भन्न खोज्नु भएको हो ?
हो, संविधानले दिएको अधिकार मन्त्रीस्तरको निर्णय सचिव स्तरको निर्णयको पत्रले रोकिरहेको छ । अंकुस लगाइदिएको छ । त्यो स्थानीय सरकारलाई क्षेत्रअधिकार दिइएको छ । ती सबै अधिाकार कार्यान्वयन गर्न दिएको छैन ।
अर्को कार्याकाल दोहो¥याउने अवस्था आए के गर्नुहुन्छ ?
दोश्रो पल्ट कार्यकाल दोहो¥याउने भन्ने मेरो बशको कुरा होइन । सबैको साथ पाए अहिले अधुरो भएको कामहरु पुरा गर्ने योजना छ । बनेका सडकहरु कालोपत्र गर्ने स्तरोन्नती गर्न बाँकी छ । बनेका संरचनालाई संरक्षण गर्ने, आर्थिक समृद्धिमा जनतालाई जोड्दै लैजाने मेरो योजना छ ।
चाहेर पनि गर्न नसकेको योजना के छ ?
मैले चाहेर पनि गर्न नसकेको योजना लेले चन्दनपुर मोटर बाटो हो । यो दुई लेन कालोपत्र गर्न गाउपालिकासँग पैसा छैन । डिपिआर बनायौं । तर स्तरोन्ती गर्न सकेनौं । स्थानीय निकायले गर्न नसकेको यो काम केन्द्र गर्नु पर्ने हो । मन्त्रीहरुले बजेटलाई आफ्नो खल्तीको पैसा जस्तो गरेकाले यो सडक बनेन ।
यो बाहेक कोञ्ज्योसोम माहाकाल जोड्ने मध्यमार्गी सडक,गोदावरी कोञ्ज्योसोम, माहाकाल र वागमती जोड्ने दक्षिण ललितपुरको रिङ्गरोड हामीले चाहेर पनि गर्न नसक्ने योजना हुन् ।
गाँउपालिकाले गाँउ गौरव योजना अन्र्तगत कोञ्ज्योसोम प्रतिमा निर्माणको योजना अघि सारेको छ । यसका लागि १५ करोड रुपैया चाहिन्छ । ४ बर्षको अवधिमा लडाई लड्दा लड्दा यो आर्थिक वर्षमा संस्कृती तथा पर्यटन मन्त्रालयबाट साझेदारी विकाश कार्यक्रमबाट ३ करोड ५० लाख रुपैया बजेट परेको छ । यो बौद्ध धर्मका लागि पहिलोपल्ट राज्यले लगानी गरेको संरचना हो । गाँउपालिकाले एक करोड पचास लाख रुपैया लगानी गरेको छ । यस्ता ठूला योजनाहरु हामी गर्नै नसक्ने भए पछि जनप्रतिनिधि हुनुको के अर्थ ? जनप्रतिनिधि भनिएको हुन्छ ठुला ठुला भाषा प्रयोग हुन्छ । तर काम गर्न सकिदैन ।
प्रदेशमा १० प्रतिशत पैसा खर्च हुदैन । यस्ता ठूला योजनामा उनीहरुले लगानी गर्नु पदैन ? ५ करोड भन्दामाथिको बजेट प्रदेश सरकारले कायान्वयन गर्ने भन्ने नीति बनाउनु पर्छ ।

 

 

प्रकाशित मिति : १२ चैत्र २०७७, बिहिबार  ७ : १४ बजे