२२ भाद्र २०८१, शनिबार | Sun Sep 8 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


‘हरेक परिवर्तनमा दलित समुदायको अतुलनीय योगदान छ’


१९ भाद्र २०७६, बिहिबार  

0
Shares

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दलित समुदायले प्राप्त गरेको अधिकारलाई संस्थागत गर्दै थप अधिकारका लागि सङ्घर्ष गर्नुपर्ने बताएका छन् ।

सातै प्रदेशका प्रदेशसभा सदस्यसहित राष्ट्रियसभा तथा प्रतिनिधिसभाका सांसद, जिल्ला समन्वय समितिका प्रमुख तथा उपप्रमुख, नगरपालिकाका प्रमुख तथा उपप्रमुख एवं गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष सम्मिलित समता फाउण्डेशनद्वारा आज यहाँ आयोजित ‘दलित अधिकार सुनिश्चितताका लागि जनप्रतिनिधिको भूमिका’ विषयक राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै अध्यक्ष ‘प्रचण्ड’ ले सो कुरा बताएका हुन् ।

पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले नेपालको हरेक परिवर्तनमा दलित समुदायको अतुलनीय योगदान रहेको चर्चा गर्दै भने, ‘हामीले गरेको सङ्घर्षमा दलितहरूले सबैभन्दा बढी योगदान दिएका थिए, आन्दोलन नै उत्प्रेरित गर्ने खालको थियो ।’ उनले दुई दिनसम्म सञ्चालन हुने सम्मेलनमार्फत अधिकारका लागि एकीकृत सङ्घर्षको थालनी हुने विश्वास व्यक्त गरे ।

कार्यक्रममा नेपाली काङ्ग्रेसका एवम् पूर्व प्रधानमन्त्री सभापति शेरबहादुर देउवाले सरकारले उपेक्षित, उत्पिडित दलित वर्ग विकास समिति खारेज गर्नु जनविरोधी र दलितहित विपरीत हुने भन्दै गम्भीर आपत्ति जनाए ।

उनले भने, ‘सामाजिक रूपान्तरणका सिलसिलामा जति काम गरियो धेरै गरे जस्तो लाग्छ तर विभेद्का घटना हेर्दा अझै गर्न बाँकी धेरै रहेछन्, अर्कातिर ती अधिकार र सुविधाहरु बढ्दै जानुपर्नेमा संविधानले दिएका अधिकार पनि खोसिएको देख्दा अत्यन्तै दुःख लागेको छ ।’

संविधानमा उल्लेख गरिएको दलित समुदायको हक र त्यो धाराले सुनिश्चित गरेको दलितका अधिकार सरकारले कार्यान्वयन गर्नुपर्नेमा उनले जोड दिए ।

अर्का पूर्व प्रधानमन्त्री तथा समाजवादी पार्टीका नेता बाबुराम भट्टराईले दलितमुक्ति आन्दोलन मानवमुक्ति आन्दोलन भएको दाबी गरे । उनले सदियौंदेखि आर्थिक, सामाजिक र सांस्कृतिक रुपमा पछाडि पारिएको दलित समुदायको अधिकारका लागि आफ्नो पार्टी प्रतिबद्ध रहेको बताए । सो सम्मेलन शुक्रबारसम्म चल्ने बताइएको छ ।

प्रकाशित मिति : १९ भाद्र २०७६, बिहिबार  ४ : ४१ बजे