४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


काँग्रेस दोस्रो जागरण अभियानमा, के के हुँदैछन कार्यक्रम ?


२० भाद्र २०७६, शुक्रबार  

0
Shares

ललितपुर । नेपाली काँग्रेसले भदौ २४ गते बिरुवा रोपेर दोस्रो चरणको जागरण अभियान सुरु गर्ने भएको छ । हिमाल, पहाड, तराई–मधेस जागरण नाम दिइएको दोस्रो चरणको अभियानको पहिलो दिन ३४ हजार ९८० वटा बिरुवा रोपिने छन् । केही महिनाअघि मात्रै काँग्रेसले पहिलो चरणको जनजागरण अभियान सम्पन्न गरेको थियो ।

काँग्रेसले आफ्ना संस्थापक नेता बीपी कोइरालाको १०६औं जन्म जयन्तीको अवसर पारेर अभियान सुरु गर्न लागेको जनाएको छ ।

ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालयमा अभियानबारे जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता विश्वप्रकाश शर्माले पर्यावरणका लागि पार्टीका तर्फबाट योगदान पु¥याउन ३३० वटै प्रदेश सभा क्षेत्रमा १०६ वटाका दरले वृक्षरोपण गरिने बताउनुभयो । जागरण अभियानका लागि प्रत्येक प्रदेश सभा क्षेत्रमा एक–एक जना केन्द्रीय प्रतिनिधि खटाइने छ ।

प्रवक्ता शर्माले जागरण अभियानका क्रममा बोक्सी प्रथा, दाइजोको निहुँमा हुने उत्पीडन, जातीय छुवाछूत, चेलिबेटी बेखबिखन, छाउपडी, घरेलु हिंसालगायत सामाजिक विसङ्गतिविरुद्ध आवश्यक चेतना अभिवृद्धिमा सहभागिता रहने बताउनुभयो । प्रवक्ता शर्माले भन्नुभयो, “जागरण अभियान अन्तक्र्रियात्मक बनाउने स्वरूप तय गरिएको छ । ” उहाँले वर्तमान सरकारसँग जनताको अपेक्षा, परिणामको अनुभूति र समीक्षामा अन्तक्र्रिया केन्द्रित हुने थप्नुभयो ।

भदौ २४ गते सुरु भई असोज ७ गतेसम्म चल्ने जागरण अभियानमा नेविसङ्घ, नेपाल तरुण दल र नेपाल महिला सङ्घलगायतका भ्रातृ र शुभेच्छुक संस्थामा आबद्ध युवा तथा असङ्गठित युवाको सहभागितामा देश, लोकतन्त्र र काँग्रेसको आजको सन्दर्भमा खुला विचार सङ्कलन गरिने जनाइएको छ । काँग्रेसले ३३० प्रदेश सभा क्षेत्रमा दैनिक औसत ३०० युवाका बीचमा बीपीका विचार र संस्कारबारे छलफल गर्दा १५ दिनभित्र करिब एक लाख युवासित प्रत्यक्ष संवाद गर्ने लक्ष्य राखेको छ ।

त्यसैगरी प्रथम चरणमा ३१ हजार ६४२ जना काँग्रेस प्रवेश गरेकोमा दोस्रो चरणमा पनि पार्टी प्रवेशलाई प्राथमिकतामा राख्ने प्रवक्ता शर्माले बताउनुभयो ।

पत्रकार सम्मेलनमा महामन्त्री पूर्णबहादुर खड्काले भन्नुभयो, “सरकारप्रतिको निराशालाई जनतामा विश्वास जगाउने काम पनि जागरण अभियानले गर्ने छन् । ” उहाँले प्रथम चरणको अभियानभन्दा दोस्रो चरणको प्रभावकारी, जनतासित प्रत्यक्ष जोडिने र सुझाव सङ्कलन हुने बताउनुभयो ।

उपसभापति विजयकुमार गच्छदारले लोकतान्त्रिक फोरमसँगको एकता प्रक्रिया टुङ्गिन बाँकी रहेको बताउनुभयो । उहाँले छिट्टै पदाधिकारी बैठकले एकता प्रक्रियाका लागि समायोजनका कार्य टुङ्ग्याउने विश्वास व्यक्त गर्नुभयो ।

पत्रकार सम्मेलनमा उपसभापतिद्वय विमलेन्द्र निधि, विजयकुमार गच्छदार, महामन्त्रीद्वय शशाङ्क कोइराला र पूर्णबहादुर खड्का र प्रवक्ता विश्वप्रकाश शर्मा उपस्थिति हुनुुहुन्थ्यो ।

प्रकाशित मिति : २० भाद्र २०७६, शुक्रबार  ११ : ५४ बजे