९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


कात्तिक नाचः आज देवी नृत्य मञ्चन


२१ कार्तिक २०७६, बिहिबार  

0
Shares

 

२१ कार्तिक ०७६, ललितपुर । ललितपुर जिल्लाको सबैभन्दा लामो नाट्य महोत्सव अन्तर्गत कात्तिक नाचको आज सातौँ दिन देवी नृत्य मञ्चन गरिने भएको छ । पाटनको मङ्गलबजारस्थित चार नारायण मन्दिर अगाडि कात्तिक डबलीमा साँझ ७ बजेदेखि महोत्सव अवधिभर उक्त नाच मञ्चन हुँदै आएको छ ।

आज उषाहरण लीलामा आधारित नाच मञ्चन हुने कात्तिक नाच संरक्षण समितिका अध्यक्ष किरण प्रधानले बताउनुभयो । उहाँले भन्नुभयो, “सो नाचअन्तर्गतको देवी नृत्यमा भैरव, महालक्ष्मी र बालकुमारीको नृत्य देखाइनेछ ।” सो नाचको दोस्रो चरणमा कङ्काल, ख्याक, मन्दिरको सरसफाइमा बस्ने र माछा मार्ने मानिसमा आधारित नाटकसहितको नृत्य देखाइएको छ ।

कात्तिक नाचका लागि आठ वर्षदेखि ८० वर्ष उमेर समूहका कलाकार, वाद्यवादक, गायक र सहयोगी गरी करीब १०० कलाकारको सहभागिता रहने भए पनि देवी नृत्यमा १२ कलाकारको विशेष भूमिका रहने समितिका कोषाध्यक्ष उत्तमरत्न शाक्यले जानकारी दिनुभयो ।

विसं १६९७ मा पाटनका मल्लकालीन राजा सिद्धिनरसिंहले कात्तिक नाच शुरुआत गर्नुभएको इतिहासमा उल्लेख छ । सत्रौँ शताब्दीमा शुरु भएको विष्णु पुराणमा आधारित सो नाचमा विष्णुको अवतार, नृसिंह, राजा हिरण्यकश्यपु र विष्णुभक्त प्रल्हादका कथा छ । ऐतिहासिक रुपमा सांंस्कृतिक एवं तान्त्रिक मूल्य र मान्यता बोकेको सो नाचको महत्व अहिले पनि बढेको पाइन्छ ।

उक्त नाचलाई महत्व दिन ललितपुर महानगरपालिका, पाटन दरबार सङ्ग्रहालय, ललितपुर उद्योग वाणिज्य सङ्घ, सम्झना ल्याब्रोटरीलगायत इच्छुक व्यक्तिले सक्दो रकम सहयोग गर्ने प्रतिबद्धता जनाए पनि त्यसले अपुग हुने उक्त समितिले जनाएको छ ।

समितिका सदस्य भन्छन्, “यो नाच सञ्चालन गर्न करीब रु १६ लाख लाग्ने भए पनि यो वर्ष करीब रु छ लाखमा सो कार्यक्रम सक्ने योजना बनाएका छौ ।” विसं १६५७ मा पहिलो पटक पाँच दिनसम्म आयोजना गरिएको सो नाच विसं १७२३ मा सात दिन थप गरी १२ दिनसम्म मनाइएको थियो भने विसं १७४० मा १५ दिन थप गरी २७ दिनसम्म मनाइएको थियो । विसं २००७ देखि २०३७ सम्म ३० वर्ष ९आर्थिक अभाव र राजनीतिक परिवर्तनका कारण० दुई दिन मात्र नाच आयोजना गरिएको थियो । विसं २०३८ मा आठ दिनसम्म मात्र आयोजना गरिएको सो नाच विसं २०७१ देखि १२ दिनसम्म आयोजना हुँदै आएको छ ।

प्रकाशित मिति : २१ कार्तिक २०७६, बिहिबार  ७ : ४९ बजे