४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


भेडा जुधाएर बहादुरी


२७ कार्तिक २०७६, बुधबार  

0
Shares


बाँकेको जानकी गाउँपालिका ५ बेलहरीमा प्रत्येक वर्ष लाग्ने गुरुवागाउँ मेलामा जुधाउन ल्याईएका भेंडा । तस्वीर ः भेषराज बस्नेत

नेपालगञ्ज उपमहानगरपालिका–१९ वसुदेवपुरका घनश्याम बारी गाउँबाट तीन वटा भेडा लिएर गुरुवागाउँ मेला पुग्नुभएको छ ।
बाँकेको जानकी गाउँपालिका–५ बेलहरीमा प्रत्येक वर्ष लाग्ने मेलामा नियमित ३० वर्षदेखि भेडा जुधाउन आउने गर्नुभएका घनश्याम यो वर्ष आफ्नो भेडाले लडाइँ जित्नेमा आशावादी देखिनुहुन्छ । ‘लडाइँ जितेपछि सयको पाँच सयका दरले तुरुन्तै मूल्य बढिहाल्छ’, गुरुवागाउँ मेलामा भेडासहित भेटिनुभएका घनश्यामले भन्नुभयो, ‘सानोले आफूभन्दा ठूलालाई हान्न लाग्यो भने रु १० हजार छ भने त्यसको मूल्य रु २५÷३० हजार भइहाल्छ ।’
डुडुवा गाउँपालिका–४ बाट भेडा जुधाउन आउनुभएका दौलतप्रसाद यादवले भेडा लडाउने खेल सोखका लागि हुने गरेको बताउनुहुन्छ । ‘भेडा लडाउने हाम्रो सोख हो, पाल्ने, लडाउने, हारेपछि बगरेलाई दिने’, यादवले भन्नुभयो, “लाडकु भेडा पाल्न धेरै मेहनत र खर्च लाग्ने भएकाले सबैले गर्न सक्दैनन, मेलामा लडाउनका लागि मात्रै पाल्ने हो ।’
उहाँका अनुसार दुई वर्षभन्दा बढी समयसम्म पालेर लडाकु बनाइएका भेडालाई गुरुवागाउँ मेलामा लडाउन ल्याउने गरिएको छ । एउटा लडाकु भेडाको मूल्य कम्तीमा रु २० हजार पर्दछ ।
भेडा जुधाउने खेल यहाँका गाउँलेको सोख बनिसकेको छ । मेला सकिएपछि भेडाको जितसँगै भेडा पाल्ने किसानको नाम र गाउँको चर्चा चल्ने भएकाले ऋण गरेर भए पनि भेडालाई दानापानी खुवाएर मेलामा उतार्ने गरिएको जानकी गाउँपालिका–५ का वडाध्यक्ष एवं गुरुवागाउँ मेलाका संरक्षक रमेशकुमार बर्माकोे भनाइ छ ।

मेलामा भेडापालक किसान स्वःस्फूर्त रूपमा भेडा ल्याएर जुधाउने गरेको बर्मा बताउनुहुन्छ । केही सौैखिन किसानले मेलामा जुधाउनैका लागि भेडा पाल्ने गरे पनि व्यावसायिकरूपमा भेडा पाल्ने किसान भने नरहेको उहाँले जानकारी दिनुभयो ।
भेडा जुधाउने किसानको सङ्ख्या घट्दो
गुरुवागाउँ मेलामा भेडा जुधाउने किसानको सङ्ख्या घट्दै गएको छ । “२०–२२ पुग्ला भनेको त्यो पनि भएन, यो वर्ष धेरै रमाइलो हुन सकेन”, छिमेकी गाउँ गनापुरबाट भेडो लिएर गुरुवागाउँ पुगेका परशु धोबीले भन्नुभयो, ‘भेडा पाल्न सबैले छोडिसके, हामी त यही मेलाका लागि भनेर मात्रै मेहनत गर्दछौँ ।’

गुरुवागाउँ मेलामा प्रत्येक वर्ष हुने भेडा जुधाइ खेल हेर्न सर्वसाधारण टाढाटाढाबाट आउने गर्दछन् । गुरुवागाउँ मेलाको मुख्य विशेषता नै भेडा जुधाउने खेल हो । तर यो वर्ष कम सहभागिताले भेडा जुधाइ हेर्न आएका सर्वसाधारणसमेत खिन्न हुनपुगे ।

धेरै वर्षदेखि गुरुवागाउँ मेला हेर्दै आउनुभएका खजूरा गाउँपालिका–३ निवासी सुमन सापकोटाले यो वर्ष भेडा जुधाइ हेर्न नपाएकोमा पछुतो लागेको बताउनुभयो । ‘म साँझपख पुगेँ, भेडा जुधाइ दिउँसै भएछ, मैले हेर्नै पाइनँ’, सापकोटाले भन्नुभयो ।

नेपालगञ्ज उपमहानगरपालिका–१९ वसुदेवपुरबाट भेडा जुधाइमा भाग लिन पुग्नुभएका शालिकराम प्रत्येक वर्ष आउने गरेको बताउनुहुन्छ । यो वर्ष थोरै सहभागी भएकोले धेरैले हेर्न नपाएको उहाँले बताउनुभयो ।
अन्य वर्षको तुलनामा यसपटक गुरुवागाउँको मेलामा भेडा जुधाउन थोरै मात्रै आएको मेला व्यवस्थापन समितिका अध्यक्ष रामवचन कुर्मीले बताउनुभयो । मेला शुरु भएदेखिनै भेडा जुधाउने खेल हुँदैआएको उहाँले उल्लेख गर्नुभयो ।
गुरुवागाउँका ९२ वर्षीय भगौतीप्रसाद अहिरले आफ्नो बाबुबाजेका पालादेखिनै यो मेला र भेडा जुधाउने खेल हुँदै आएको बताउनुहुन्छ । ‘पहिला मेलामा अरु मनोरञ्ज गर्ने केही हुँदैनथ्यो, त्यसैले भेडा जुधाउने खेल धेरै रमाइलो हुन्थ्यो’, अहिरले भन्नुभयो, ‘तर अहिले भेडा लडाउने खेलमा रमाउने मान्छे कम हुँदै गएको छ ।’
राष्ट्रि समाचार समिती

प्रकाशित मिति : २७ कार्तिक २०७६, बुधबार  ८ : ४९ बजे