१९ मंसिर ०७६, काठमाडौं । काठमाडौँ महानगरपालिकाको सहयोगमा निर्माण हुन लागेको नारायणगोपाल पेमला सुरमय गीतगङ्गाको विहीबार काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले शिलान्यास गर्नु भएको छ ।
रु ६ करोड ५० लाख लागतमा बन्ने यस वर्ष गीत गंगाको लागि महानगरपालिकाले तीन करोड विनियोजन गरेको छ । कामपाका प्रमुख विद्यासुन्दर शाक्यले भवनको शिलान्यास गर्दै भाषा, कला र संस्कृतिको विकासका लागि महानगरपालिकाले रकम विनियोजन गर्न कन्जुस्याइँ नगर्ने बताउनुभयो । ‘यो वर्ष रु तीन करोड रकमले निर्माण कार्य गुणस्तरीय र प्रभावकारी ढङ्गले पूरा गर्नुहोस्, उहाँले भन्नुभयो, “बाँकी रकम अर्को वर्ष थप गर्छौँ ।” उहाँले भाषा, कला, संस्कृति र सम्पदालाई पर्यटनसँग जोड्दै व्यावसायिक बन्नुपर्ने धारणा राख्नुभयो । सबै कलाकार सङ्गठित भई आए कलाकारको वृत्ति विकासका लागि महानगरपालिकाले रु एक करोड अक्षयकोष सञ्चालनका लागि विनियोजन गर्ने जानकारी दिनुभयो ।
सो अवसरमा शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले कलाकारिता क्षेत्रको विकासका लागि स्थानीय तह र सङ्घीय सरकारले आवश्यक भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । ‘नारायणगोपाल र उहाँ जस्ता अन्य सबै कलाकारलाई राज्यले चिन्नुपर्छ’, उहाँले भन्नुभयो, ‘पुराना कलाकारहरुको सम्मानले नयाँलाई समेत हौसला प्रदान गर्छ ।’
कोषका महासचिव तथा कामपा–३ का वडाध्यक्ष दीपक केसीले २०५४ सालमा आफू वडाध्यक्ष अध्यक्ष हुँदा लैनचौरदेखि हाल नारायणगोपालको शालिक राखिएको क्षेत्रसम्मलाई नारायणगोपाल मार्ग नामकरण गरिएको बताउनुभयो । ‘मैले शालिक निर्माण र सडक नामकरण गरेपछि एक लेखकले नारायणगोपालले छोरा पाए भनेर लेख लेख्नुभयो ।’, उहाँले भन्नुभयो, ‘नारायणगोपालको महत्वलाई उजागर गर्न म शुरुदेखि नै लागिपरेको छु, म आफूलाई सौभाग्यशाली ठान्छु ।’ उहाँले गायिका तारादेवीको सम्मानका लागि पनि महानगरबाट रु १० लाख अक्षयकोषका लागि विनियोजन गरिएको बताउनुभयो ।
कार्यक्रममा गजमेर अस्वस्थताका कारण देशबाहिर रहनुभएकाले उहाँले पठाएको भिडियो सन्देश प्रसारण गरिएको थियो । सम्मानित थापाले स्वरसम्राट् स्मृति सम्मानले आफूलाई थप हौसला प्रदान गरेको बताउँदै नारायणगोपालसँग उहाँ राष्ट्रिय नाचघरको महाप्रबन्धक भएपछि मात्र चिनजान भए पनि त्यसपछि निकटता बढेको बताउनुभयो ।
साथै यस वर्षको नारायण गोपाल स्मृति सम्मान सङ्गीतकार रञ्जित गजमेर र जगतमर्दन थापालाई प्रदान गरिएको छ । स्वरसम्राट् नारायणगोपालको २९औँ स्मृति दिवसका अवसरमा नारायणगोपाल सङ्गीत कोषले आज उहाँहरुलाई रु २५ हजार र सम्मानपत्र प्रदान गरेको हो ।
प्रतिक्रिया