३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


धनुषा बम विस्फोटमा प्रहरी निरीक्षकसहित तीनको मृत्यु


२८ मंसिर २०७६, शनिबार  

0
Shares

फाइल तस्विर

२८ मंसिर ०७६, धनुषा । धनुषामा गएराति भएको शक्तिशाली बम विस्फोटमा परी एकै परिवारका बाबु–छोरासहित एक प्रहरी अधिकृतको मृत्यु भएको छ । सो घटनामा चार जना गम्भीर घाइते भएका छन् ।

जनकपुरदेखि १६ किमी उत्तर धनुषाको क्षिरेश्वरनाथ नगरपालिकाको मुख्य बजार केन्द्र वडा नं ५ महेन्द्रनगर बजारमा शुक्रबार मध्यराति ४६ वर्षीय राजेश साहको घरको गेटमा राखिएको बम विस्फोट हुँदा राजेश र उनका २४ वर्षीय छोरा आनन्दको घटनास्थलमै मृत्यु भएको हो । सोही विस्फोटमा परी घाईते भएका इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक अमिरकुमार दाहालको पनि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

विस्फोटमा परी राजेशका कान्छा छोरा १४ वर्षीय प्रकाश, छोरी २२ वर्षीया निक्कीकुमारी र बुबा ७३ वर्षीय भिखारी साह घाइते भएका छन् । त्यस्तै प्रहरी जवान रिजनाथकुमार महतो घाइते भएका छन् । घाइतेलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको र त्यहाँ प्राथमिक उपचारपछि थप उपचारका लागि धरान लगिएको छ ।

शुक्रबार राति १२ बजे राजेशको घरको मुख्य पर्खालबाट भित्र नवनिर्मित घरको बाहिर फलामको गेटमा बम झुन्ड्याइएको थियो । राजेशकी श्रीमती राति शौचका लागि उठेको बेला ढोकामा केही झुन्डिएको देखेर श्रीमान्लाई उठाएर प्रहरीलाई खबर गरेका थिए ।

खबर पाउनासाथ प्रहरी निरीक्षक दाहालको नेतृत्वमा गएको प्रहरी टोलीले गेटमा झुन्डिएको झोला बम हो वा होइन भनी अनुसन्धान गर्ने क्रममा बम विस्फोट भएको त्यहाँ पुगेका एक प्रहरीले बताए । प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीका अनुसार बम कसले र किन राख्यो भन्ने विषय पत्ता लाग्न सकेको छैन । प्रहरीले अनुसन्धान उहाँले थालेको बताउनुभयो ।

प्रकाशित मिति : २८ मंसिर २०७६, शनिबार  ९ : ३२ बजे