३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


महिला नै महिला कर्मचारी भएको अचम्मको विद्यालय


१७ माघ २०७६, शुक्रबार  

0
Shares


१७ माघ ०७६, दाङ्ग । घोराही उपमहानगरपालिका–१० मा रहेको खैरा माध्यमिक विद्यालयमा पियनदेखि प्रधानाध्यापक, शिक्षिकासम्म महिला रहेको फेला परेको छ ।
महिला प्रधानाध्यापक श्यामा रावत विगत तीन वर्षदेखि विद्यालयको प्रअको जिम्मेवारी सम्हालिरहनु जानकारी दिनु भएको छ । विद्यालयको शैक्षिक वातावरण, सिकाइ उपलब्धि, व्यवस्थापन, छात्रछात्रा र अभिभावकसँगको घुलमिल सबैमा पछिल्लो समय विद्यालय नमूना बनेको छ । “शिक्षक मात्र हुँदा जिम्मेवारी धेरै नहुने कर्तव्य पूरा गरे पुग्थ्यो, भने प्रधानाध्यापक भएपछि कर्तव्य, जिम्मेवारी र उत्तरदायित्व धेरै हँुदोरहेछ ।” उहाँ भन्नुहुन्छ, “विद्यालयमा महिला प्रधानाध्यापक छ भन्ने थाहा नपाएका मानिस विद्यालयमा आए भने हेडसर खै ? बोलाइदिनुहोस् न भन्छन् । अनि मै हो हेड सरभन्दा दङ्ग परेर हेर्ने गर्छन् ।”
यस विद्यालयमा सबै प्रअदेखि पियनसम्म सबै कर्मचारी महिला आएपछि गत वर्षदेखि ९ र १० कक्षाको पढाइ थप भएको छ । नयाँ भौतिक संरचना बन्ने क्रममा छन् । “हाल विद्यालयमा प्रअसहित १६ शिक्षका, एक जना कर्मचारी, एक जना कार्यालय सहयोगी सबै महिला छौँ ।” उहाँले भन्नुभयो, “विद्यार्थी धेरै अनुशासित छन् । एक पटक सिकायो भने ध्यान दिएर सुन्छन्, नबुझेको सोधीखोजी गर्छन् ।”
महिला शिक्षिका र कर्मचारी आएपछि कक्षा कोठा सबै शैक्षिक सामग्रीले भरिएका छन्, बालबालिका स्वतन्त्ररुपमा अध्ययन गर्न पाएको छन् । कहिलेकाहीँ कारणवश विद्यालयमा शिक्षक नआएर पनि कक्षा खाली हुन पाउँदैन । अर्को शिक्षिकाले कक्षा हेर्नुहुन्छ वा विद्यार्थी बाहिर चौरभरि छरिनुको सट्टा कक्षाकोठामा पुस्तक पढेर बस्ने गरेका छन् । विद्यालयमा खानेपानी, शौचालय, छात्रालाई सेनेटरी प्याड र त्यसलाई विषर्जन गर्ने सुविधा छ ।
सहायक प्रधानाध्यापक विमला अधिकारी प्रअदेखि कर्मचारी, शिक्षक, कार्यालय सहयोगी सबै महिला भएकाले पछिल्लो समय शैक्षिक गुणस्तरमा सुधार आएको दावि गर्नुभयो । “सबै शिक्षकलाई कामको जिम्मेवारी छ । प्रार्थना, अतिरिक्त क्रियाकलाप, साहित्यजस्ता विविध क्रियाकलापको जिम्मेवारीअनुसार सबै शिक्षकले आफ्नो जिम्मेवारी पूरा गर्नुहुन्छ । ” उहाँले भन्नुभयो ।
“हामीले एक पटक जिम्मेवारी बाँडेपछि कसैलाई काम अह्राउनु पर्दैन ।” सहायक प्रअ अधिकारीले भन्नुभयो, “एउटा खाका बनाएर अफिस कोठामा टाँस्छाँै त्यसैका आधारमा काम गर्छौं ।” उहाँ अगाडि थप्नुहुन्छ, “म गणित र विज्ञान विषयको शिक्षक हो, पहिलेपहिले त मान्छेहरु महिलाले मात्र कसरी र कस्तो विद्यालय चलाउलान् भनेर कुरा गर्थे, आजकाल हाम्रो काम देखेर प्रशंसा गर्छन् खुशी लाग्छ ।”
दाङको नमूना विद्यालय हो । महिलाले नेतृत्व पाएमा गर्न सक्छन् भन्ने कुराको उदाहरण आफूहरु बनेको त्यहाँ कार्यरत महिला शिक्षिका बताउँछन् । जिल्ला रहेका सामुदायिक विद्यालयभन्दा कम नभएको दाबी गर्छन् उनीहरु । शिक्षा विकास तथा समन्वय एकाइ दाङले दिएको जानकारीअनुसार दाङका अन्य विद्यालयमा महिला प्रधानाध्यापक पनि छन् तर सबै महिलामात्रै भएको विद्यालय अरु छैन ।
अहिले जिल्लाको मौरीघाट माविमा सीता रिजाल, सरस्वती मावि काठेकोलमा वसन्ता पौडेल, रक्षाचौर माविमा विष्णु केसीले महत्वपूर्ण जिम्मेवारी सम्हालेर काम गरिरहनुभएको छ । खैरा माविमा सबै महिला भएको कारणले विद्यालयको शैक्षिक र भौतिक गुणस्तरमा निकै राम्रो सुधार आएको घोराही उपमहानगरपालिका शिक्षा महाशाखाका प्रमुख नारायण गौतम बताउनुहुन्छ । उहाँले विद्यालयको आर्थिक पारदर्शिता सिकाइ क्रियाकलाप पनि नमूनायोग्य भएको जाकारी दिनुभयो । खैरा मावि बालमैत्री विद्यालयको रुपमा गत वर्ष नै घोषणा भएको थियो ।

प्रकाशित मिति : १७ माघ २०७६, शुक्रबार  ११ : २९ बजे