१० कार्तिक २०८१, शनिबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


गोदावरी उद्योग वाणिज्य सङ्घ गठन


२५ माघ २०७६, शनिबार  

0
Shares

कार्यक्रममा सहभागी उद्योगी व्यावसायीहरु । तस्विर ः ललितपुर खबर

सुभानु आचार्य
२५ माघ ०७६, ललितपुर । गोदावरी नगरपालिकाभित्र विभिन्न उद्योग र व्यवसाय सञ्चालन गरेका व्यवसायीले आज गोदावरी उद्योग वाणिज्य सङ्घ गठन गरेका छन् ।
कार्यक्रमको उद्घाटन गर्दै सांसद पम्फा भुषालले सबै प्रकारको उद्योग र व्यवसाय सञ्चालन गर्न मिल्ने वातावरण सिर्जना गर्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “अन्य उद्योगको तुलनामा कपडा उद्योग व्यवसायमा ललितपुर अब्बल छ । यसैगरी अन्य व्यवसायमा पनि पहिलो ललितपुर बन्न सम्पूर्ण वस्तुको आवश्यकता यहीबाट पूर्ति गर्ने अवस्था बनाउनुपर्छ ।” गोदावरीमा ठूलो उद्योग सञ्चालन गरी रोजगारी सिर्जना गर्ने आफ्नो लक्ष्य रहेको सांसद भुषालले बताउनुभयो ।

सांसद नवराज सिलवालले गरीबी निवारणका लागि आर्थिक सम्पन्नता प्रमुख विषय रहेको उल्लेख गर्दै भर्खरै सञ्चालन भएको सङ्घलाई व्यावसायिक संस्थाको रूपमा अघि बढाउन आवश्यक रहेको मत राख्नुभयो ।
प्रदेशसभा सदस्य लालकुमारी पुनले बजारमा आएका सामग्रीको गुणस्तर मापन गरी सङ्घले यसको विस्तार र जनताको अधिकार सुनिश्चित गर्ने विषयमा छलफल गरी अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो । वाग्मती प्रदेश उद्योग वाणिज्य महासङ्घका अध्यक्ष दिनेश श्रेष्ठले बहालमा बसेका मानिसका लागि सङ्घले ऐन कानून निर्माण गर्न आवश्यक रहेको बताउनुभयो । प्रमुख जिल्ला अधिकारी भगीरथ पाण्डेले कर छली नगरी इमान्दारीपूर्वक व्यवसाय गर्न सुझाव दिनुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का ललितपुर जिल्ला अध्यक्ष हरिकृष्ण व्यञ्जनकारले सङ्घको स्थापनापछि कर छलीको जाँच नगरपालिकाबाट नियमितरूपमा हुनुपर्ने आँैल्याउनुभयो । नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले सबै क्षेत्रलाई समेटेर सङ्घ अघि बढ्ने आफूले विश्वास लिएको बताउनुभयो ।

ललितपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष कृष्णलाल महर्जनले आफ्नो सङ्घ स्थापनाको ५२ वर्षपछि गोदावरीमा नगर उद्योग खुलेको बताउनुभयो । उहाँले भन्नुभयो, “सबैसँग हातेमालो गर्दै अघि बढ्दा एक दिन सङ्घ आफ्नो लक्ष्यमा पुग्न सक्छ ।” पूर्वअर्थराज्यमन्त्री उदयशम्शेर राणाले विदेश पलायन भएका युवालाई सङ्घले देशमै फर्काएर स्वरोजगार बनाउने योजना अघि बढाउनुपर्ने औँल्याउनुभयो ।
सङ्घका अध्यक्ष जगन्नाथ महर्जनले जिल्ला उद्योग वाणिज्य सङ्घबाट मात्रै सेवा प्रवाह गर्न सम्भव नदेखिएको हुँदा यसको स्थापना गर्न अतिनै आवश्यक भएको जानकारी गराउनुभयो । सङ्घका उपाध्यक्ष पिताम्वर सञ्जेलले समाजमा बढ्दो व्यवसायको एकृकीतरूपमा विकास गरी अघि बढ्न लागिपरेको बताउनुभयो ।नगरपालिकाभित्र दर्ता भएका उद्योगी र व्यवसायीको सङ्ख्या हालसम्म एक हजार ४३० रहेका छन् । भर्खरै शुभारम्भ भएको यस सङ्घको तदर्थ समितिमा ११ सदस्य रहेका छन् । राष्ट्रिय समाचार समिती ।

प्रकाशित मिति : २५ माघ २०७६, शनिबार  ७ : ५७ बजे