१० कार्तिक २०८१, शनिबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


कोरोना क्वारेन्टाइन खरिपाटीमा सञ्चारकर्मीलाई प्रवेश निषेध


२७ माघ २०७६, सोमबार  

0
Shares

सरकारले चीनको वुहानबाट नेपाल फर्काउन लागेको नेपालीलाई राख्नका लागि भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको भवन खाली गराउँदै, तीनदिन अघि दुईवटा भवन खाली गराएपनि आज थप दुईवटा भवन खाली गराएको छ । तस्वीर ः रमेश गिरी\रासस

२७ माघ ०७६, खरिपाटी भक्तपुर । चीनबाट उद्धार गरी नेपाल ल्याउन लागिएका नेपालीलाई राख्न क्वारेन्टाइन निर्माणको काम भइरहेको भक्तपुरको खटिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको भवनमा सञ्चारकर्मीलाई प्रवेश निषेध गरिएको छ ।
चीनमा कोरोना भाइरसले महामारीको रूप लिएपछि त्यहाँ रहेका नेपालीलाई सरकारले स्वदेश फर्काएर खरिपाटीस्थित प्राधिकरणमा राख्ने तयारी गरेपछि त्यसको समाचार सङ्कलनका लागि खरिपाटी पुगेका सञ्चारकर्मीलाई आजदेखि मूलगेटबाटै प्रवेशमा रोक लगाइएको हो ।
समाचार सङ्कलनका लागि खरिपाटीस्थित प्राधिकरण पुगेका सञ्चारकर्मीलाई गेटमा बसेका प्रहरीले स्थानीय बासिन्दा र सञ्चारकर्मीलाई प्रवेश नदिनू भन्ने माथिको आदेश आएको भन्दै प्रवेशमा रोक लगाएपछि सञ्चारकर्मीले आन्तरिक तयारीको तस्बिर र भिडियो सङ्कलन नगरी फर्किएका छन् ।
सरकारले बाक्लो बस्ती भएको खरिपाटीमा चीनबाट फर्काउने नेपाली राख्ने तयारी गरेपछि स्थानीय बासिन्दा, चाँगुनारायण नगरपालिका र यहाँका राजनीतिक दलले त्यसको विरोध गर्दै विकल्प खोज्न माग गर्दै आएका छन् ।
महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सविन प्रधानले चीनबाट फर्काइने नेपाली राख्ने ठाउँमा धमाधम काम भइरहेको र पत्रकार आउँदा काममा बाधा हुने भएकाले रोक लगाइएको बताउनुभयो ।
उहाँले माथिको आदेश पनि त्यस्तै रहेको र काममा पनि बाधा पुग्ने भएकाले सञ्चारकर्मी र स्थानीय बासिन्दालाई प्रवेशमा रोक लगाइएको बताउँदै तयारी तीव्र गतिमा भइरहेको जानकारी दिनुभयो ।
चीनबाट ल्याउन लागेका नेपालीका लागि तयार पारिएको ठाउँ कस्तो छ, कसरी व्यवस्थापन गरिँदैछ भन्नेबारेमा आमनागरिकको चासोलाई सञ्चारकर्मीले ल्याउन खोज्दा रोक लगाइएको भन्दै सञ्चारकर्मीले आक्रोश पोखेका छन् ।
यसबारेमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले आफू कर्मचारी समायोजनमा लागेको र त्यसमै व्यस्त भएकाले कस्तो तयारी भइरहेको छ भन्नेबारेमा आफूले केही थाहा नपाएको र चासो नलिएको बताउनुभयो ।
क्वारेन्टाइन स्थापना गर्न भने भौतिक संरचनाको व्यवस्था शहरी विकास मन्त्रालयले जिम्मेवारी लिएर तयारी गरिरहेको बताइएको छ । चीनबाट फर्काइएकामध्ये १२४ जनालाई यहाँ राख्ने र बाँकीलाई नगरकोटस्थित खानेपानीको तालिम केन्द्रमा राख्ने तयारी गरी व्यवस्थापन गरिएको बताइएको छ ।

चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले सरकारले नगरपालिकालाई कुनै जानकारी नगराएको बताउँदै नगर परिषद्को बैठकबाटै यस ठाउँको विकल्प खोज्नलाई सरकारसँग आग्रह गरेको बताउनुभयो । उहाँले समाचार सङ्कलन गर्न आउने सञ्चारकर्मीलाई रोक्नु पनि गलत भएको बताउनुभयो ।
वाग्मती प्रदेशसभा सदस्य कृष्णलाल भँडेलले सरकारले बस्तीका बीचमा चीनबाट फर्काउने नेपाली राख्न खोज्नु नै गलत भएको बताउँदै यसबारे सरकारले गम्भीर नभए यसबारे उत्पन्न हुने अवस्थाको जिम्मेवार पनि सरकार हुने बताउनुभयो ।
थप दुई भवन खाली गराइयो ः
सरकारले चीनको वुहानबाट नेपाल फर्काउन लागेको नेपालीलाई राख्नका लागि भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको थप दुई वटा भवन खाली गराएको छ ।
तीन दिनअघि प्राधिकरणको वातावरण तथा सामाजिक अध्ययन विभाग र होस्टेल भवन खाली गराएकामा त्यो अपुग रहेको भन्दै आज क्यान्टिन नजिकै रहेको रातो भवन र प्राधिकरणका निर्देशक क्वार्टरसमेत खाली गराएको नेपाल विद्युत् प्राधिकरण खरिपाटीका सहनिर्देशक केशवराज ओलीले जानकारी दिनुभयो ।

होस्टेलको तल्लो भवनको सम्पूर्ण सामान प्राधिकरणको माथिल्लो प्रशासनिक भवनमा सारिए पनि आज शय्यासमेत अपुग रहेको भन्दै प्राधिकरणको होस्टेलको माथि सारिएको शय्या, पर्दा, फर्निचरलगायतका सामान लगेको उहाँले जानकारी दिनुभयो । चीनबाट फर्काइएकामध्ये १२४ जनालाई खरिपाटीस्थित प्राधिकरणमा र बाँकीलाई चाँगुनारायण नगरपालिका–६ स्थित खानेपानी तालिम केन्द्र पिपलबोटमा राख्ने तयारी भइरहेको बताइएको छ ।
पर्यटकीय क्षेत्रमा चीनबाट फर्काइएका नेपालीलाई राख्न लागेको भन्दै आज स्थानीय बासिन्दाले विरोध गरेका छन् । वडा नं ६ का वडाध्यक्ष सन्ते वाइबासहित स्थानीय बासिन्दाले चाँगुनारायण नगरपालिका, जिल्ला प्रशासन कार्यालय भक्तपुर र महानगरीय प्रहरी परिसर भक्तपुरमा ज्ञापनपत्र बुझाउँदै अन्यत्र राख्न माग गरेको नगरकोट नाल्दुम पर्यटन विकास समितिका उपाध्यक्ष धनबहादुर लामाले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २७ माघ २०७६, सोमबार  ८ : ५७ बजे