५ फाल्गुन ०७६, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महानगरीय प्रहरी परिसर ललितपुरमा दर्ता भएको सामूहिक करणीसम्बन्धी मुद्दा मिलाइदिन्छु भनी घुस लिएको अभियोगमा तत्कालीन प्रहरी सहायक निरीक्षक उमेश केसीविरुद्ध विशेष अदालतमा आज मुद्दा दर्ता गरेको छ ।
त्यस्तैगरि करणी मुद्दाका प्रतिवादीको पुर्पक्षका लागि कारागारमा रहेको अवस्थामा बकपत्रको समयमा पीडितलाई समेत बयान मिलाइदिने भनी घुस मागेको पाइएको आयोगले बताएको छ । आयोगले प्रहरी सहायक निरीक्षक केसीविरुद्ध रु ६० लाखको बिगो कायम गरी मुद्दा दायर गरेकोहो ।
त्यस्तैगरि नेपाल नागरिक उड्डयन प्राधिकरणका अधिकृत शालिकराम खनालको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको अभियोगमा विशेष अदालतमा आज मुद्दा दायर गरिएको छ । आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार अधिकृत खनालले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी लाभ लिएको समेत पाइएकाले मुद्दा दायर गरिएको हो ।
यस्तै आयोगले चम्पादेवी प्राथमिक विद्यालय ओखलढुङ्गामा कार्यरत तत्कालीन शिक्षक खेटराज बरालले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी सेवा गरेको र सरकारी सुविधा लिएको आरोपमा आजै मुद्दा दायर गरेको छ ।
त्यस्तैगरि आयोगले आजै साझा प्रकाशनमा कार्यरत सहायक चतुर्थ तहका कुवेरप्रसाद उपाध्यायविरुद्ध समेत विशेष अदालतमा मुद्दा दायर गरेको छ । उपाध्यायले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी सेवा प्रवेश गरेको र पदोन्नतिसमेत भएको पाइएको आयोगले आरोप लगाएको छ ।
प्रतिक्रिया