१९ पुस २०८१, शुक्रबार | Fri Jan 3 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


टेलिकमको मोबाइल फोनमा कोरोना सन्देश


६ चैत्र २०७६, बिहिबार  

0
Shares


६ चैत्र ०७६, काठमाडौ । नेपाल टेलिकमले ‘कोभिड–१९’ को सम्भावित सङ्क्रमणबाट बच्ने उपायबारे जनचेतना फैलाउने उद्देश्यले आजबाट जिएसएम मोबाइल नम्बरमा कल गर्दा बज्ने ‘रिङ ब्याक टोन’लाई परिवर्तन गरी जानकारीमूलक सन्देश दिन थालेको छ ।
कोरोना भाइरस महामारीको रुपमा विश्वभर फैलिइरहेको र नेपाल पनि उक्त भाइरस सङ्क्रमणको उच्च जोखिममा रहेको भनी विश्व स्वास्थ्य सङ्गठनले प्रक्षेपण गरेको अवस्थामा यसबाट हुनसक्ने सम्भावित जोखिम न्यूनीकरणका लागि सन्देश सामग्री प्रचारप्रसार गरिएको कम्पनीले आज विज्ञप्तिमार्फत जनाएको हो ।
कम्पनीका अनुसार स्वदेश वा विदेशका जुनसुकै नम्बरबाट नेपाल टेलिकमको जिएसएम मोबाइल नम्बरमा कल गर्दा ग्राहकले कल नउठाउँदासम्म कल गर्ने व्यक्तिले कोरोना भाइरसबाट हुने सङ्क्रमणका लक्षण, भाइरसबाट बच्ने उपाय आदि जानकारी निःशुल्क रुपमा सुन्न सक्नेछन् ।
यसैगरी कोरोना भाइरसको सम्भावित सङ्क्रमण नियन्त्रण गर्ने उद्देश्यले नेपाल सरकारको निर्देशन समेतको आधारमा सार्वजनिक सक्रियता तथा गतिविधि नियन्त्रित गर्नुपर्ने भएकाले नेपाल टेलिकमका सेवाहरुको महसुुल भुक्तानी तथा रिचार्जका लागि यथासम्भव विद्युतीय माध्यमको प्रयोग गर्न पनि कम्पनीले ग्राहकवर्गमा आह्वान गरेको छ ।
कम्पनीका सेवाहरुको महसुल भुक्तानी गर्नका लागि टेलिकमका ग्राहकसेवा केन्द्रहरु खुल्ला रहने भए तापनि वैकल्पिक उपायहरु उपयोग गरी घरमै बसी सहजरूपमा महसुल भुक्तानी गर्न ग्राहकवर्गमा अनुरोध गरेको छ । भुक्तानीका वैकल्पिक उपायहरुमा रिचार्ज कार्ड, इलेक्ट्रोनिक भुक्तानी (एमपोस), कम्पनीको वेबसाइट धधध.लतअ.लभत.लउ तथा मोबाइल एप्लिकेसन, ई–बैँकिङ, ई–कमर्स तथा मोबाइल बैंकिङ र कुनैपनि बैंको भिसा तथा मास्टर कार्ड प्रयोग गरी कम्पनीको वेबसाइटबाट रिचार्ज गर्ने व्यवस्था गरिएको कम्पनीले उल्लेख गरेको छ ।
उक्त भाइरसबाट हुनसक्ने सम्भावित सङ्क्रमण र सोबाट सुरक्षित रहन तथा सङ्क्रमण नियन्त्रणको लागि गरिने प्रयासका क्रममा आउन सक्ने जुनसुकै परिस्थितिमा पनि नेपाल टेलिकमले आफ्नो सेवा चुस्तदुरुस्त राख्न सबै प्रयत्न जारी राख्ने र ग्राहकवर्गलाई स्वस्थ्य र सुरक्षित रही कम्पनीका भ्वाइस, एसएमएस, डाटा÷इन्टरनेट आदि सेवा उपयोग गर्न अनुरोध गरेको छ । कम्पनीले मुलुकको आवश्यकता र ग्राहकवर्गको सुविधाका लागि कम्पनीले कुनैपनि विषम परिस्थितिमा सम्भव भएसम्म सबै प्रयास जारी राख्ने व्यहोरा पनि ग्राहकवर्गमा अनुरोध गरेको छ ।

प्रकाशित मिति : ६ चैत्र २०७६, बिहिबार  १० : ३८ बजे