१० कार्तिक २०८१, शनिबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुरका सबै तिर कोरोना परीक्षण


७ जेष्ठ २०७७, बुधबार  

0
Shares


सुभानु आचार्य/रासस
७ जेठ ०७७, ललितपुर । काठमाडौँ उपत्यकामा कोरोना सङ्क्रमित व्यक्ति भेटिन थालेसँगै लालितपुरका ६ वटै स्थानीय तहमा कोरोना भाइरसको परीक्षण शुरु गरेका छन् । स्थानीय तहले स्वास्थ्य, सरसफाइ, सुरक्षा तथा राहत वितरणमा खटिएका कर्मचारी, जनप्रतिनिधि, चालक, सहचालक, सञ्चारकर्मीलगायतको परीक्षण गरिरहेका छन् । यो एक महिनाभित्र सङ्क्रमण फैलिएका जिल्लाबाट आएका नागरिकको समेत परीक्षण भइरहेको छ । ललितपुर महानगरपालिकाले शनिबार र आइतबार महानगरपालिका कम्पलेक्स, सोमबार लगनखेलचोक र मङ्गलबार हरिसिद्धिमा परीक्षण गरेको थियो । कतिपयको पिसिआर त कतिपयको आरडिटी विधिबाट परीक्षण गरिएको महानगरले जनाएको छ । शनिबार २११ को र आइतबार १४८ जनाको पिसिआर विधिबाट परीक्षण भएको थियो । शनिबार गरिएको परीक्षणको नतिजा नेगेटिभ आइसकेको छ भने आइतबार गरिएको परीक्षणको नतिजा आउन बाँकी छ । महानगरले शनिबार नै ११९ व्यक्तिको आरडिटी परीक्षण गरेको थियो । त्यस्तै सोमबार दिउँसो ३२९ जनाको आरडिटी परीक्षण भएको थियो । उनीहरु फलफूल, तरकारी, ग्यास बिक्रेता रहेको प्रवक्ता महर्जनले जानकारी दिनुभयो । मङ्गलबार विदेशबाट फर्किएका २७ व्यक्तिको आरडिटी परीक्षण गरिएको र त्यसको नतिजा आउन बाँकी रहेको महर्जनले जानकारी दिनुभयो । त्यस्तै गोदावरी नगरपालिकामा आइतबार ९६ जनाको स्वाब र १०९ जनाको आरडिटी परीक्षण गरिएको थियो । नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख शत्रुघन शाहले सोमबार गोदावरीमा ६४ को पिसीआर परीक्षणका लागि स्वाब सङ्कलन गरिएको र १०९ को आरडिटी परीक्षण गरिएको जानकारी दिनुभयो । त्यस्तै मङ्गलबार सात जनाको स्वाब सङ्कलन र १३ जनाको आरडिटी परीक्षण गरिएको शाहले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “आरडिटी नेगेटिभ आइसकेको छ भने पिसीआरको रिपोर्ट आउन बाँकी नै छ ।” महालक्ष्मी नगरपालिकाले आइतबार र सोमबार रेडजोनमा परेका जिल्लाबाट आएका, विदेशबाट आएर अहिले सेल्फ क्वारेन्टाइनमा बसिरहेका, अग्रपङ्क्तिमा रहेर काम गरिरहेका व्यक्तिलगायतको परीक्षण भइरहेको जनाएको छ । आइतबार ६७ जनाको पिसिआरका लागि स्वाब सङ्कलन गरिएको र १९१ जनाको परीक्षण गरिएको थियो । त्यस्तै सोमबार ९२ स्वाब सङ्कलन र १७६ को आरडिटी परीक्षण गरिएको छ । आरडिटी परीक्षणको नतिजा नेगेटिभ आए पनि पिसिआर प्रविधिबाट गरिएको परीक्षणको नतिजा आउन बाँकी रहेको नगरपालिका स्वास्थ्य शाखा प्रमुख गोविन्दप्रसाद श्रेष्ठले बताउनुभयो । जिल्लाको दुर्गम क्षेत्रमा पर्ने तीन गाउँपालिकाले पनि कोभिड–१९ को परीक्षण अघि बढाइरहेका छन् । शनिबार महाँकाल गाउँपालिकाले ६१ को स्वाब र १३८ जनाको आरडिटी परीक्षण गरेको गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक ज्ञानेन्द्र चन्दले बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रो गाउँपालिकाभित्रका हालसम्म परीक्षण गरिएका सबैको नतिजा नेगेटिभ देखिएको छ ।” कोञ्ज्योसोम गाउँपालिकाले शुक्रबार नै ६० को स्वाब सङ्कलन र १३६ जनाको आरडिटी परीक्षण गरेको गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक नवलकिशोर महत्वले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “६२ जनाको नै स्वाब सङ्कलन गरी टेकु पठाउँदा सबैको रिपोट नेगेटिभ आएको छ ।” वाग्मती गाउँपालिकाले आज कोरोना परीक्षण गर्ने स्वास्थ्य शाखा संयोजक नवराज तिमिल्सिनाले बताउनुभयो । उपत्यकामा यो साता कोभिड–१९ सङ्क्रमित भेटिन थालेसँगै यहाँका सबै पालिकाले परीक्षण गरिरहेका हुन् । ललितपुरमा पहिलोपटक मङ्गलबार एक जनामा सङ्क्रमण पुष्टि भएको थियो । सङ्क्रमित व्यक्ति कुन पालिकाको हो भन्ने अहिलेसम्म जानकारीमा आएको छैन । सबै पालिकाले कोभिड–१९ को परीक्षण अघि बढाइरहेकामा स्वास्थ्य मन्त्रालयले ती एकबाहेक अरु सबैको पिसीआर रिपोर्ट नेगेटिभ आएको बताएको छ ।

प्रकाशित मिति : ७ जेष्ठ २०७७, बुधबार  ७ : ५० बजे