११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


भक्तपुरको होल्डिङ सेन्टरमा बस्दैछन् कुवेतबाट फर्किएका १०२ महिला


२९ जेष्ठ २०७७, बिहिबार  

0
Shares


कुवेतबाट बिहीबार त्रिभुवन अन्तरर्राष्ट्रिय विमानस्थल आइपुगेका नेपाली बसबाट होल्डिङग सेन्टर जाँदै । तस्वीरः प्रदीपराज वन्त/रासस

२९ जेठ ०७७, भक्तपुर । कुवेतमा आममाफी पाएर आज स्वदेश फर्किएका १०२ नेपालीलाई यहाँको होल्डिङ सेन्टरमा ल्याइएको छ । नेपाली सेना वीर दल गणको समन्वयमा त्रिभुवन विमानस्थलबाट सूर्यविनायक नगरपालिका–५ कटुञ्जेस्थित इम्पेरियर बैंक्वैट र प्रदेश नं २ का नागरिकलाई मध्यपुरथिमि नगरपालिका–४ स्थित हेरिटेज बैंक्वैटको होल्डिङ सेन्टरमा ल्याइएको हो ।
कुवेतले आफ्नै जहाज जजिरा एअरलाइन्समार्फत त्यहाँ आममाफी पाएका नेपालीलाई कोरोना परीक्षणसमेत गरेर नेपाल ल्याइदिएको छ । लकडाउनपछि पहिलो पटक कुवेतबाट पहिलो उडानमार्फत १५० र दोस्रो उडानबाट १५० जना गरी जम्मा ३०० नेपाली महिला स्वदेश फर्किएका छन् ।
तीमध्ये त्रिभुवन विमानस्थलबाट प्रदेश नं १ मा पहिलो उडानबाट ३८ र दोस्रो उडानबाट ५४ महिला तथा प्रदेश नं २ मा पहिलो उडानबाट छ र दोश्रो उडानबाट चार महिला भक्तपुरको होल्डिङ सेन्टरमा ल्याइएको होे ।
उनीहरुलाई होल्डिङ सेन्टरमा केही घण्टा आराम गराई खाना खुवाएर सम्बन्धित प्रदेशमार्फत जिल्ला पठाइएको वीर दल गणका गणपति कर्नेल शिव पौडेलले जानकारी दिनुभयो । यहाँबाट गएकाहरु आ–आफनो जिल्ला पुगेपछि होम क्वारेन्टाइनमा बस्नुपर्नेछ ।
स्वदेश फर्किएकालाई आवश्यक पैसा साट्नुपरेमा राष्ट्रिय वाणिज्य बैंक सूर्यविनायक शाखाले होल्डिङ सेन्टरमा काउण्टरको व्यवस्था गरेको र नेपाल टेलिकमले निःशुल्क सिम कार्ड वितरण गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सविन प्रधानले जानकारी दिनु्भयो ।

सेन्टरमा वीरदल गण सूर्यविनायकले व्यक्तिगत विवरण सङ्कलन गरी शरीरको तापक्रम मापन गरेको थियो । उनीहरुलाई सेन्टरमा केही समय आराम गराई खाना खुवाएर सम्बन्धित प्रदेशमार्फत जिल्लामा पठाइएको छ ।
कुवेतले भिसा नवीकरण नगर्दा अवैधानिक भएका र रोजगारदाता परिवर्तन गरेर काम गर्दा अघिल्लो रोजगारदाताले जरिवाना लगाएका नेपालीलाई लाग्ने शुल्क माफ गरी निःशुल्क रुपमा आफ्नै जहाजमार्फत नेपाल ल्याइदिएको हो ।
कुवेतले गत अप्रिल २६ देखि ३० सम्म नेपालीलाई आममाफीमा सहभागी गराएको थियो । कुवेतले आममाफीमा सहभागी भएकालाई आफ्नै खर्चमा सेल्टरमा राखेर खानाको समेत व्यबस्था गर्दै आएका दुई हजार ९९१ जनाको सूची नेपाल फर्काउन दूतावासले परराष्ट्र मन्त्रालयलाई पठाएको बताइएको छ ।

प्रकाशित मिति : २९ जेष्ठ २०७७, बिहिबार  ७ : ५६ बजे