११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुरको लुभूमा पाइप लाइन विस्तार


१७ असार २०७७, बुधबार  

0
Shares

खानेपानीको पाइप राख्दै स्थानीय ।

१७ असार ०७७, लुभू । महालक्ष्मी नगरपालिका वडा नं ८ लुभूबाट विष्णुडोल, बखन्नी चोक, न्याठ टोल हुँदै गोदावरी खोला तथा लुभूतल्लो चौतारादेखि गोदावरी पुलसम्मको तीन सडकखण्डमा खानेपानी पाइप लाइन विस्तारको काम भइरहेको छ । ललितपुर क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य कृष्णलाल महर्जनले सांसद पूर्वाधार विकास साझेदारी कार्यक्रममार्फत लुभूमा खानेपानी सहज बनाउन रु ३० लाख प्रदान गरी उक्त काम अघि बढाउनुभएको हो ।
सो स्थानमा लगभग एक महिना पहिलेदेखि नै खानेपानी पाइपलाइन विस्तारको काम भइरहेको छ । विकास साझेदारी कार्यक्रममार्फत रु ३० लाख र लुभू खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था निर्माण कमिटीमार्फत रु ६ लाख थप गरी रु ३६ लाखमा धमाधम काम अघि बढिरहेको निर्माण कमिटीका अध्यक्ष सानुकान्छा श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, “यी तीनै वटा सडकखण्डको दायाँ र बायाँ गरी दुवै स्थानमा दुईदुई वटा पाइप बिछयाइरहेका छाँै ।” सो पाइप एकथरि ६३ एमएम ६ केजी प्रेसरको छ । टयाङ्कीदेखि चुनदेवी हुँदै गक्ष्यटोलसम्म बिछयाइएको पाइप भने ९० एमएम ६ केजी प्रेसरको ३५० मिटर र ११० एमएम ६ केजी प्रेसरको ४५० मिटर रहेको श्रेष्ठले बताउनुभयो ।
सो पानी १५ हजारमाथिका जनसङ्ख्याले उपभोग गर्ने संस्थाका अध्यक्ष इञ्जिनीयर रामबहादुर श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रो संस्थाभित्र रहेका यी सदस्यलाई हाल दैनिक छ लाख लिटर खानेपानी वितरण गर्न आवश्यक पर्छ तर पानी अभावका कारण एउटा घरलाई दैनिक ५०० लिटर पानी दिइरहेका छाँै । पाइपलाई विस्तारपछि थप पानी वितरण गर्न सकिने छ । लुभूको मूलबाटोको उत्तरतर्फ बिहान र मूलबाटोको दक्षिणतर्फ भोलिपल्ट बिहान गरी पानी वितरण गर्छौँ ।”
सो संस्थासँग हाल डेढ लाख लिटरको एक, दुईदुई लाख लिटरको दुई र अन्य थप गरी कूल आठ लाख लिटरको पानी भण्डारण गर्ने क्षमता रहेको श्रेष्ठले जानकारी दिनुभयो ।

प्रकाशित मिति : १७ असार २०७७, बुधबार  ९ : ५६ बजे