५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


झन् घट्यो कोरोना सङ्मितको सङ्ख्या, जम्मा ५७ संक्रमित


३ श्रावण २०७७, शनिबार  

0
Shares


३ साउन ०७७, काठमाडौं । पछिल्लो समय नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या कम हुँदै गएको छ । गत २४ घण्टामा ५७ जनामा मात्रै कोरोना सङ्क्रमण देखिएको छ । बिहीबार १ सय ६७ र शुक्रबार १ सय १ जनामा कोरोना देखिएको थियो ।
चौबीस घण्टामा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान प्रयोगशालामा मोरङका दुई र तेह्रथुमका दुई, कोशी अस्पताल विराटनगरमा इलामका एक र मोरङका छ, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा झापाका एक र मोरङका एक, नारायणी अस्पताल वीरगञ्जमा बाराका एक जनालाई कोरोना देखिएको छ । त्यसैगरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा सर्लाहीका दुई, नुवाकोटका दुई, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा बाग्लुङका एक, पर्वतका एक, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गुल्मीका दुई र पाल्पाका दुई, सुर्खेत प्रादेशिक अस्पताल प्रयोगशाला सुर्खेतमा दैलेखका एक, दैलेख पिसीआर प्रयोगशाला दैलेखमा दैलेखका चार, चौरजहारी नगरपालिका पिसीआर प्रयोगशालामा सल्यानका एक र रुकुमपश्चिमका तीन जनामा कोरोना देखिएको छ ।
डडेल्धुरा अस्पतालमा डडेल्धुराका दुई, बझाङका दुई र डोटीका सात, सेती प्रादेशिक अस्पताल प्रयोगशालामा कैलालीका १३ र कञ्चनपुरका एक गरी आज जम्मा ५७ जनामा कोरोना देखिएको छ । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार ८ सय २५ छ । सङ्क्रमणमुक्त भई घर फर्किने र हालसम्म सक्रिय सङ्क्रमण रहने दुवैको जम्मा सङ्ख्या १७ हजार ५ सय २ पुगेको छ । विगत २४ घण्टामा २७ प्रयोगशालामा तीन हजार ३ सय ३१ जनाको पिसीआर विधिबाट नमूना परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले जानकारी दिएका छन् ।

अहिले क्वारेन्टिनमा रहेका व्यक्तिको सङ्ख्या २३ हजार २ सय ७५ रहेको छ । आइसोलेसन रहेका सङ्क्रमित व्यक्तिको सङ्ख्या पाँच हजार ८ सय २५ छ । कोभिड–१९ बाट सङ्क्रमणमुक्त भई गत २४ घण्टामा डिस्चार्ज हुनेको सङ्ख्या १ सय ३ रहेको छ । आजसम्म डिस्चार्ज हुनेको सङ्ख्या ११ हजार ६ सय ३७ (६६.१२ प्रतिशत) छ । उाीहरुको उपचार तथा हेरचाहमा खटिने चिकित्सक, नर्स, स्वास्थ्यकर्मी तथा अन्य सहयोगीलाई मन्त्रालयले धन्यवादसमेत व्यक्त गरेको छ । मन्त्रालयले जनस्वास्थ्यको न्यूनतम पालन गर्नसमेत आग्रह गरेको छ ।
मन्त्रालयको दुई वटा कल सेन्टरबाट ७ सय ६७ कल प्राप्त भएको छ । हाम्रो स्वास्थ्य एप्लिकेशन डाउनलोड गर्नेको सङ्ख्या एक लाख ६० हजार ५ सय छ । त्यसमा सक्रिय प्रयोगकर्ताको सङ्ख्या ८७ हजार २ सय ८१ छ । जम्मा इन्ट्री गरिएको सङ्ख्या ६७ हजार ८ सय ४७ रहेकामा आज ७० जनाले इन्ट्री गरेका छन् । रेडजोनमा परेकाको जम्मा सङ्ख्या ५ सय २७ छ । शनिबार कोही पनि रेडजोनमा परेका छैनन् । मन्त्रालयको वेबसाइट हेर्नेको सङ्ख्या ३० लाख ५१ हजार ५ सय छ । भाइबर ग्रुपमा जोडिनेको सङ्ख्या चार लाख छ हजार ४ सय २४ छ ।
हालसम्मको विश्वको तथ्याङ्क हेर्दा एक करोड ४२ लाख दुई हजार ९ सय ७९ व्यक्ति कोभिड–१९ बाट सङ्क्रमित भएका छन् । त्यसैगरी पाँच लाख ९९ हजार ६ सय ३ व्यक्तिको निधन भइसकेको छ । प्रवक्ता गौतमले भने, “सार्क सदस्य देशहरुसँग नेपाललाई तुलना गरेर हेर्दा नेपाल पिसीआर परीक्षण गर्ने मुलुकमा अफगानिस्तान, बङ्गलादेश, श्रीलङ्का, पाकिस्तान र भारतभन्दा अगाडि रहेको छ ।” कोभिड–१९ बाट प्रत्येक १० लाखमा मृत्यु हुनेको अनुपातमा बङ्गलादेश, भारत, माल्दिभ्स, अफगानिस्थान र पाकिस्तानभन्दा नेपालमा कम रहेको छ । प्रत्येक १० लाखमा पिसीआर परीक्षणको सङ्ख्या अफगानिस्तानमा दुई हजार १सय ३३, बङ्गलादेशमा छ हजार १ सय १०, श्रीलङ्कामा छ हजार ३ सय २७, पाकिस्तानमा सात हजार ६ सय ८६, भारतमा नौ हजार ७ सय ३० र नेपालमा १० हजार ६ सय ९५ छ ।

प्रकाशित मिति : ३ श्रावण २०७७, शनिबार  ८ : ३३ बजे