५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


पशुपतिलगायत देशभरका शिवालयमा भक्तजनको भीड


५ श्रावण २०७७, सोमबार  

0
Shares


साउनको पहिलो सोमबार पशुपतिनाथ मन्दिरमा पूजा गर्न पुगेका भक्तजन । कोभिड– १९ को सङक्रमण नियन्त्रण तथा रोकथामका लागि सरकारले लागू गरेको बन्दाबन्दी जारी रहेकोले पूजा गर्न मन्दिरको ढोका भने खुलेको छैन । तस्वीर ः रोशन सापकोटा/रासस
५ साउन ०७७, काठमाडौँ  । साउन महिनाको पहिलो सोमबार आज बिहान पशुपतिनाथ परिसरका शिवालयमा भक्तजनको भीड लागेको छ । कोरोना भाइरसको सङ्क्रमणबाट बच्न गत चैत ११ गतेदेखि लक डाउन जारी गरिएपछि पशुपतिनाथको मूल मन्दिरमा भक्तजनलाई प्रवेश दिइएको छैन ।
असार १ गतेअघि पशुपति परिसरमा पनि भक्तजनको आवागमन रोकिएको थियो । असार १ गतेदेखि बन्दाबन्दी खुकुलो बनाइएसँगै पशुपति क्षेत्रमा भक्तजनको भीड बढेको थियो । धेरैले बाहिरबाटै दर्शन गर्दै आएका थिए । आज साउन महिनाको पहिलो सोमबार पनि धेरै भक्तजनले बाहिरबाट दर्शन गरे ।
मूल मन्दिरभित्र भक्तजनलाई प्रवेश नदिइए पनि परिसरमा भौतिक दूरी कायम नहुने अवस्था आज बिहान देखिएको पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष डा मिलनकुमार थापाले जानकारी दिएका छन् । उनका अनुसार धेरै भक्तजनले मास्कसमेत लगाएका थिएनन् ।  पशुपति क्षेत्रका अन्य शिवालयमा पूजा आराधना एवं दर्शन गर्न भक्तजन आतुर देखिन्थे । साउने झरी भए पनि बिहानै भक्तजन पशुपति क्षेत्र पुगेका थिए । मूल मन्दिर नखुले पनि बाहिरबाटै दर्शन गरेर फर्किएको ललितपुर, कुपण्डोलबाट आएकी दर्शनार्थी पार्वती राउतले बताइन् । साउनमा मन्दिरभित्रै गएर दर्शन गर्न पाए हुने भन्ने चाहनाले आफू पशुपति पुगेको उनको भनाइ थियो ।
मूल मन्दिरभित्र गएर दर्शनका लागि खुला गर्न सरकारले गर्ने निर्णयमा भर पर्ने कोषका सदस्य सचिव डा प्रदीप ढकाल बताउछन् । सरकारले मन्दिर क्षेत्र खुला गरे भक्तजनलाई सुरक्षा विधि अपनाएर दर्शन गराउने गरी तयारी भइसकेको उनले जानकारी दिएका छन् । राजधानीका मलिलिङ्गेश्वर, गोकर्णेश्वर, किलेश्वर, कुम्भेश्वर, गोपालेश्वर, फणिकेश्वर, गन्धेश्वर, विक्रमेश्वर, वसन्तपुरको सानो पशुपति भनिने शिव मन्दिर, डोलेश्वरलगायत देशभरका शिव मन्दिरमा बिहानैदेखि भक्तजन दर्शन गर्न पुगेका थिए ।
गोकर्णेश्वरमा बालयन्त्र
गोकर्णेश्वरमा साउनदेखि नै परम्परानुसार बाजासहित पूजा र आरती पुनः शुरु भएको छ । गोकर्णेश्वर महादेवको गुठीका नाममा रहेको ३९६ रोपनी गुठी जग्गा रैकर भएपछि यो परम्परा टुटेको थियो । गोकर्णेश्वर नगरपालिकाले रु ७५ लाख अक्षय कोष स्थापना गरी यो परम्परालाई पुनःस्थापना गरेको हो । पशुपतिनाथ र गोकर्णेश्वरमा विगतमा एकै प्रकारले पूजाराधना गर्ने गरिए पनि गुठी मासिएसँगै त्यो परम्परा हराएकाले हाल गोकर्णेश्वर महादेव मन्दिर क्षेत्र प्रबन्ध समितिले खोजबिन अघि बढाएको अध्यक्ष श्रीकुमार श्रेष्ठले बताए । पशुपतिनाथमा श्रीयन्त्र र गोकर्णेश्वरमा बालयन्त्र पूजााराधना हुन्छ । दुवैको एकापसमा सम्बन्ध छ ।
 नगरपालिका वडा नं ४ को अध्यक्षसमेत रहेका गोकर्णेश्वर मन्दिर प्रबन्ध समितिका अध्यक्ष श्रेष्ठका अनुसार गुठी रैकर गर्दा पूजा चलाउन छुट्याइएको स्रोत कहाँ छ भनी गुठी संस्थान काठमाडौँ शाखालाई पत्राचार गरिएको छ । जग्गा रैकर गर्दा मोहीले राखेको रकमको ७० प्रतिशत मन्दिरको परम्परा चलाउन दिनुपर्नेमा त्यस्तो हुन नसकेको उनले जानकारी दिए ।
साउने सोमबार व्रत शुरु
धेरै वैदिक सनातन धर्मावलम्बीले साउनको सोमबार व्रत बसेर देवाधिदेव महादेवको पूजाराधना गर्छन् । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतम शिवजीले चन्द्रमालाई शिरमा धारण गरेकाले सोमबारलाई शिवजीको बारका रुपमा मानी यस दिन आराधना गर्ने गरिएको बताछन् ।
परम्परानुार कुनै कुल विशेषले चान्द्रमासअनुसारका श्रावण महिनामा साउने सोमबारको व्रत गरे पनि कर्कट राशिमा सूर्य भएका सोमबार विशेष रुपमा शिवजीको आराधना गर्ने शास्त्रीय विधि रहेको उनले सुनाए । यस वर्ष साउन ५, १२, १९ र २६ गते गरी चार सोमबार परेका छन् । नयाँ व्रत पाँच  सोमबार परेको वर्षदेखि शुरु गर्नुपर्छ भनी लोकमा गरिने व्यवहारमा शास्त्रीय मत नमिल्ने  अध्यक्ष गौतमले जानकारी दिए । शास्त्रीय मान्यतानुसार चार सोमबार परेको वर्षदेखि पनि नयाँ व्रतालुले आराधना गर्न सक्छन् ।
साउने सोमबारको व्रत गरेमा यस लोकमा सुखशान्ति र परलोकमा सद्गति प्राप्त गरिने ‘शिवपुराण’लगायत धर्मग्रन्थमा उल्लेख छ । साउने सोमबार र हरितालिका व्रत महिलाले मात्र गर्नुपर्ने भन्ने व्यवहारमा देखिए पनि शास्त्रीय मतानुसार महिलापुरुष दुवैले यो व्रत गर्न सक्छन् । प्रायः परिवारमा महिलाले सबैको प्रतिनिधित्व गरेर व्रत बस्ने गरेका हुन् । आजदेखि साउनको सोमबार व्रत गर्नेले अन्तिम सोमबार व्रत उद्यापन गर्छन् । धेरैले शिवजीको महिना भनी साउनमा मांस, मदिरा सेवन गर्दैनन् । शिवजीलाई जलधारा प्रिय हुने भएकाले यस महिनामा पवित्र तीर्थस्थलबाट जल लगेर पशुपतिनाथलगायत शिवालयमा चढाउन भक्तजनको भीड लाग्छ । वाग्मती मुहान क्षेत्र सुन्दरीजलबाट पशुपतिसम्म बोलबम गरी जल चढाउने गरिएकामा यस वर्ष कोरोनाका कारण त्यससमेत प्रभावित हुने भएको छ ।
भोलेनाथ काँवरिया सङ्घ, बोल बम काँवरिया सङ्घलगायत संस्थाले यस वर्ष बोल बम काँवर यात्रा नगर्ने घोषणा गरिसकेका छन् । धेरै नेपालीले वर्षमा एकपटक साउनमा घरमा वैदिक रुद्राभिषेकसमेत गर्छन् । साउनमा नभ्याउनेले अनुकूलतानुसारको महिनामा गर्ने परम्परासमेत छ ।

प्रकाशित मिति : ५ श्रावण २०७७, सोमबार  ३ : ५४ बजे