५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


पृथ्वी राजमार्गमा २ सय वटा पहिरो


६ श्रावण २०७७, मंगलबार  

0
Shares


६ साउन ०७७, काठमाडौं । पृथ्वी राजमार्गको मुग्लिन–नौबिसे सडकखण्डमा साना–ठूला २०० भन्दा बढी पहिरो खसेका छन् । चितवन र धादिङ जोड्ने मौवाखोलाको पुल र सडक जोड्ने भाग नै बगाएको छ ।
सो खण्ड डिभिजन सडक कार्यालय भरतपुरले हेर्ने गर्दछ । कार्यालयका प्रमुख ई कृष्णराज अधिकारीका अनुसार आज पनि ठाउँठाउँमा पहिरो खस्ने क्रम जारी छ । बिहान मात्र जोगिमारामा ठूलो पहिरो खसेको छ । उनले भने, “मुग्लिन–नौबिसे सडकखण्डमा मात्र साना–ठूला २०० भन्दा बढी पहिरो खसेका छन् । सबैभन्दा बढी समस्या मौवाखोलामा रहेको छ ।”
मौवाखोलामा पानीको बहाव घटेमा ग्याविन जालीमा ढुङ्गा भर्ने तयारीमा रहेको उनले बताए । यसका लागि नुवाकोटबाट जाली मगाइएको छ । बाटो अवरोध भएकाले आइपुग्न समय लाग्ने छ । बेलिब्रिजभन्दा यो सहज र छिटो हुने उनले बताए । स्थानीय प्रशासन, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीलगायतसँग आज बिहान छलफल गरी काम अघि बढाइने उहाँले जानकारी दिएका छन् ।

सडक विभागका महानिर्देशक केशवकुमार शर्माले पानी रोकिएपछि सो सडकखण्ड खुलाउन दुई दिन लाग्ने बताएका छन् । उनले भने, “पानी नरोकिएसम्म मौवाखोलामा काम गर्न मिल्दैन । काम थालेपछि दुई दिन हामीलाई लाग्छ ।” अन्य खुला रहेका सडक प्रयोग गर्न उहाँले सुझाव दिएका छन् । वैकल्पिक मार्ग प्रयोग गर्नुको विकल्प अहिले नरहेको उनको भनाइ छ ।
यता नारायणगढ–मुग्लिन सडकखण्डको चार किलोमा खसेको ठूलो पहिरो पन्छाउन सकिएको छैन । डिभिजन सडक कार्यालय भरतपुरका ई शिव खनालका अनुसार पानी केही रोकिएमा पहिरो पन्छाउन शुरु गरिनेछ । काम थालेको चार घण्टामा थप पहिरो र पानी नआएमा चार किलोमा एकतर्फी सडक खोल्न सकिने उहाँले जानकारी दिए। सो ठाउँमा सोमबार बिहान ५ बजे पहिरो खसेको हो । चार किलोको वरिपरि र अन्य ठाउँमा पनि साना पहिरो खसेको उनको भनाइ छ ।
मौसम अनुकूल भएमा यस सडकखण्ड भने आज सञ्चालनमा आउने उहाँले जानकारी दिए । सडक अवरुद्ध भएपछि राजधानी काठमाडौँ जाने र बाहिरिने धेरै सवारी साधन सडकमा अलपत्र परेका छन् ।

प्रकाशित मिति : ६ श्रावण २०७७, मंगलबार  ९ : १७ बजे