७ साउन ०७७, काठमाडौं । नेपाली बजारमा बुधबार सुनको भाउ बढेको छ । सुनको मूल्य आज एकै दिन प्रतितोला रु एक हजार ३०० ले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य प्रतितोला रु ९४ हजार र तेजाबी सुनको मूल्य प्रतितोला रु ९३ हजार ५ सय ६० पुगेको छ । मङ्गलबार छापावाला सुन प्रतितोला रु ९२ हजार ७ सय र तेजाबी सुन प्रतितोला रु ९२ हजार २ सय ६० मा खरिदबिक्री भएको थियो । यस्तै चाँदीको मूल्य पनि प्रतितोला रु ९५ ले बढेर एक हजार १ सय ३५ पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेकाले स्थानीय बजारमा पनि त्यसको प्रभाव देखिएको महासङ्घका अध्यक्ष मोहनकुमार सुनारले बताएका छन् । अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔँस एक हजार ८ सय ६८.४५ डलर पुगेको छ । अध्यक्ष सुनारले अन्य क्षेत्रको तुलनामा सुनप्रति लगानीकर्ताको आकर्षण देखिँदा पनि सुनको मूल्य बढेको बताए । दैनिक सुनको मूल्य निरन्तर वृद्धि हुँदै गएपछि कारोवार शून्यमा झरेको महासङ्घले जनाएको छ । “नेपाली बजारमा मुख्यत कोरोनाको असरका कारण कारोवार शून्य भएको हो”, उनले भने । देशभरका सुनचाँदी व्यवसायीले सुनको कारोवार ठप्प भएको आफूलाई जानकारी गराएको उनले बताए ।
७ श्रावण २०७७, बुधबार
0
Shares
प्रतिक्रिया