११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


काठमाडौँ उपत्यकामा भेटिए १ सय ६ जना कोरोना सङ्क्रमित


२३ श्रावण २०७७, शुक्रबार  

0
Shares


२३ साउन ०७७, ललितपुर । काठमाडौँ उपत्यकामा केही दिनयता कोरोनाका सङ्क्रमित बढेका छन् । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार उपत्यकामा पछिल्लो २४ घण्टामा १ सय ६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । संक्रमित मध्ये काठमाडौंमा ९२ जनामा संक्रमण फेला परेको छ । शुक्रबार ललितपुरमा १० र भक्तपुरमा चार जनामा कोरोना सङ्क्रमण देखिएको हो ।
देशभर पछिल्लो २४ घण्टामा ४ सय ६४ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार शुक्रबार सात हजार ९ सय २६ पिसिआर परीक्षण भएकामा ४ सय ५४ जनामा सङ्क्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कूल कोरोना सङ्क्रमितको सङ्ख्या २२ हजार २ सय १४ पुगेको मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । हालसम्म चार लाख २७ हजार ९२ सय ६ जनाको पिसिआर परीक्षण भएको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितको सङ्ख्या बढेसँगै उच्च सतर्कता अपनाउनुपर्नेमा जोड दिन थालिएको छ ।

नेपालमा विसं २०७६ माग ९ गते पहिलो कोरोना सङ्क्रमणका बिरामी फेला परेको थियो । हालसम्म छ हजार ३ सय ३० जना आइसोलेशनमा छन् । पछिल्लो हप्तामा लक्षण भएका सङ्क्रमितको सङ्ख्या बढ्दै गइरहेको छ । साउन २२ गतेसम्मको विवरणमा ६६ जना बिरामी आइसोलेशनमा र तीमध्ये तीन जना भेन्टिलेटरमा रहेका छन् ।

पछिल्लो २४ घण्टामा ४ सय २५ जना उपचारपछि निको भएका छन् । नेपालमा हालसम्म कोरोना सङ्क्रमणमुक्त भएर घर फर्कनेको ङ्ख्या १५ हजार ८ सय १४ जना रहेको मन्त्रालयका प्रवक्ता डा गौतमले बताएका छन्। पछिल्लो चरणमा सुरक्षा निकाय, सरकारी कार्यालय, न्यायालय, बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारी, स्वास्थ्यकर्मी र प्रदेशमा मन्त्री समेतमा कोरोना सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये बहुसङ्ख्यक ७५ प्रतिशतभन्दा बढी २१ देखि ६० वर्ष उमेर समूहका छन् भने ६० भन्दामाथिका अतिन्यून २ दशमलव १ प्रतिशत रहेको छ । साथै सङ्क्रमितमध्ये चार प्रतिशत १० वर्षमुनिका रहेका छन् ।
हाल परीक्षणको दायरा फराकिलो बनाई लक्ष्यण देखिएका, सङ्क्रमितको सम्पर्कमा रहेका व्यक्ति, गम्भीर स्वासप्रस्वासमा समस्या भएका व्यक्ति, अग्रपङ्क्तिमा खटिएर काम गर्ने व्यक्तिको परीक्षण गरिने मन्त्रालयले जनाएको छ । जिल्लागतरुपमा ५ सयभन्दा बढी सङ्क्रमित चार जिल्ला पर्सा, रौतहट, महोत्तरी र काठमाडौँ रहेका छन् । सङ्क्रमित शून्य रहेका छ जिल्ला खोटाङ, धनकुटा, सङ्खुवासभा, मनाङ, मुस्ताङ र रुकुमपश्चिम रहेका छन् ।
विभिन्न मितिमा थप पाँच जनाको मृत्यु भएको छ । योसँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ७० पुगेको मन्त्रालयले जनाएको छ । पछिल्लोपटक मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानागरपालिका–९ का ४५ वर्षीय पुरुषको साउन २२ गते पाटन अस्पतालमा मृत्यु भएको थियो । उहाँमा मधुमेह र उक्त रक्तचापको समस्या थियो । सोही महानगरपालिका–११ का ८९ वर्षीय पुरुषको गत साउन २० गते निधन भएको थियो । सोही वडाका ५७ वर्षे पुरुषको पनि मृत्यु भएको छ । उनमा पनि मधुमेह, उक्तरक्तचाप र मुटुको रोग थियो । सिराहा गोलबजारका नगरपालिका १२ का ७७ वर्षीय पुरुषको मृत्यु भएको छ । मिर्गाैला पीडित उनको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा साउन २२ गते मृत्यु भएको थियो । सर्लाही वसन्तपुरका ४५ वर्षीय पुरुषको आज पाटन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ ।

मन्त्रालयका प्रवक्ता डा गौतमले काठमाडौँ उपत्यकालगायत अन्य बाक्लो बस्ती भएको ठाउँमा सङ्क्रमणको दर बढेकाले अस्पतालमा श्यया उपकरण र स्वास्थ्यकर्मी अभाव हुनसक्ने भएकाले सबैलाई सावधानी अपनाउन आग्रह गर्नुभएको छ । उहाँले कोरोनाको औषधि पत्ता नलागी सकेको भन्दै सबै अस्पतालले चिकित्सकलाई सिफ्टअनुसार मिलाएर काम गराउन आग्रह गर्नुभयो ।

मन्त्रालयले सरकारी, सामुदायिक तथा अफिसमा बैठक, गोष्ठी, सेमिनारलगायत अन्य जमघट तत्काल बन्द गर्न र गर्नै परेमा भर्चुअल बैठक गर्न आग्रह गरेको छ । भारतीय सीमा क्षेत्रका जिल्लामा कोभिड सङ्क्रमण उच्च रहेकाले प्रदेश सरकार, स्थानीय पालिका, गैरसरकारी संस्था, राजनीतिक नेता तथा कार्यकर्ता, शिक्षक तथा अन्य पेसा व्यवसायका व्यक्तिलाई सावधानी अपनाउन तथा स्वाब सङ्कलनपछि रिपोर्ट नआउँदासम्म अनिवार्य क्वारेन्टिनमा बस्न पनि मन्त्रालयले अपिल गरेको छ ।

कोभिड–१९ को कुनै पनि उपचार पत्ता लागेको छैन । औषधि, अक्सिजन र भेष्टिलेटरले सहयोग मात्र गर्ने हो रोगको उपचार नगर्ने भएकाले उचित उपाय भनेको नै रोग लाग्न नदिनु यो यसका लागि बेलैमा सचेत हुन सङ्क्रमण बढ्दै गएमा अस्पताल र स्वास्थ्यकर्मीले धान्न नसक्ने र अकालमा मृत्यु हुनसक्ने अवस्था आउने भएकाले सचेत रहन आग्रह गर्नुभयो ।
–––

प्रकाशित मिति : २३ श्रावण २०७७, शुक्रबार  ९ : ४४ बजे