१७ चैत्र २०८२, मंगलबार | Tue Mar 31 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Uncategorized


दक्षिण ललितपुरको प्युटारमामा वाग्मतीमा अस्पताल निर्माण


१९ भाद्र २०७७, शुक्रबार  

0
Shares

अस्पतालको नवनिर्मित भवन ।

१९ भदौं ०७७, ललितपुर । दक्षिण ललितपुरको वाग्मती गाउँपालिका–४ प्युटारस्थित थाङसिनटारमा गाउँपालिकास्तरीय अस्पताल निर्माण अन्तिम चरणमा पुगेको छ । वाग्मती प्रदेश सामाजिक विकास मन्त्रालयको सःशर्त अनुदानमा ‘एक पालिका एक अस्पताल’ को अवधारणाअनुरूप उक्त अस्पताल निर्माण गरिएको छ ।
गाउँपालिकाका सबै नागरिकलाई स्वास्थ्य सेवाको पहुँच पुर्याउने उद्देश्यले गत वर्ष २०७६ भदौ २० गते १५ शय्याको अस्पताल बनाउने योजनानुसार गत जेठ २० गते सम्पन्न हुनुपर्ने गरी काम अघि बढाएको ललितपुर क्षेत्र नं १ ख का प्रदेशसभा सदस्य चेतनाथ सञ्जेलले बताएका छन् । सञ्जेलले भने, “प्रदेशले कुल रु तीन करोड ६० लाख बजेट विनियोजन गरेको थियो । यसमा रु दुई करोड तीन लाख २२ हजार ९२२ मा सम्झौता भएर काम अघि बढेको थियो ।” ज्ञानज्योति बिल्डर्स प्रालि नामक ठेकेदार कम्पनीले सो अस्पताल निर्माणको काम गरिरहेको सञ्जेलले जानकारी दिएका छन् ।
प्रदेश सरकारले वाग्मतीमा १५ शय्याको अस्पताल बनाउने उद्देश्यका साथ बजेट विनियोजन गरे पनि पाँच शय्याको मात्र भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको गाउँपालिकाका अध्यक्ष वीरबहादुर लोप्चनले जानकारी दिए । उनले भने, “भौगोलिक विकटता र कम जनसङ्ख्याको आधारमा हामीले यति शय्याको अस्पताल तयार गरेका छाँै । बाँकी १० शय्याका लागि बिस्तारै काम अघि बढाइनेछ ।” विश्वव्यापी रूपमा फैलिरहेको कोभिड महामारीका कारण समयमै गर्नुपर्ने अस्पताल निर्माणको काममा ढिलाइ भएकाले आउँदो असोज १० गतेभित्रमा ठेकेदार कम्पनीले सम्पन्न गरी बुझाउने प्रतिबद्धता जनाएको लोप्चनले जानकारी गराएका छन् ।
करिब १२ रोपनी क्षेत्रफलमा दुई तलाको अस्पताल बन्नेछ । गाउँमा अस्पताल बन्ने कुरा भएपछि समाजसेवी प्रेम गोले र चतुरमान गोलेले तीन रोपनी नौ आना जग्गा दान गरका थिए । यसमा बाँकी करिब नौ रोपनी सार्वजनिक जग्गा रहेको लोप्चनको भनाइ छ ।

प्रकाशित मिति : १९ भाद्र २०७७, शुक्रबार  १० : २७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।