९ असोज ०७७, ललितपुर । ललितपुरका तिनै वटा नगरपालिकाका मेयरहरुलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
ललितपुर महानगरपालिकाका मेयरचिरीबाबु महर्जनलाई कोरोना भाइरस सङ्क्रमण भएको पुष्टि भएको छ । बिहीबार स्वास्थ्यमा असहजता महसुस भएपछि पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाटन अस्पतालमा स्वाब परीक्षणका लागि दिनुभएकामा आज कोरोना पोजेटिभ रिपोर्ट आएको महानगरका प्रवक्ता राजु महर्जनले जानकारी दिएका छन् ।
प्रमुख महर्जन बखुन्डोलस्थित निजी निवासमा आइसोलेशनमा रहेका छन् । महर्जनको परिवारका सदस्यको भने अब पाँच दिनपछि स्बाब परीक्षण गरिने जनाइएको छ ।
आजै गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जन र महर्जनकी धर्मपत्नी गङ्गामायालाई समेत कोरोना सङ्क्रमण पुष्टि भएको छ । यही असोज ६ गते उनीहरुले स्वाब सङ्कलन गरेर जनस्वास्थ्य प्रयोगशाला टेकु परीक्षणका लागि पठाउँदा आज( शनिबार) कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
हाल महर्जन दम्पती होम आइसोलेसनमा छन् । गाह्रो भयो भने मात्र अस्पताल जाने निर्णय गरिएको मेयर महर्जनले बताएका छन् । मेयर महर्जनले भने, “मसँग सम्पर्कमा रहेर शङ्का लागेका हरेक व्यक्तिलाई तुरुन्त कोभिड परीक्षण गर्न अनुरोध गर्दछु ।”
महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठ र महर्जनका धर्मपत्नी दुवैमा पुनः दोस्रोपटक बुधबार कोरोना सङ्क्रमण पुष्टिसहित नतिजा आएको छ । हाल दुवैले ग्वार्काेस्थित किष्ट मेडिकल कलेजमा उपचार गराइरहेको श्रेष्ठले जानकारी गराएका छन् ।
प्रतिक्रिया