५ आश्विन २०८१, शनिबार | Sun Sep 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


सौरहामा पर्यटकलाई ३० प्रतिशतसम्म छुट


११ आश्विन २०७७, आइतबार  

0
Shares

सौराहाको पर्यटकीय होटल खुलेपछि आइतबार पर्यटकको पर्खाइमा रहेका हात्ती । पर्यटक हात्ती चढेर चितवन राष्ट्रिय निकुञ्ज र आसपासका मध्यवर्ती सामुदायिक वन घुम्ने गर्दछन । तस्बिर ः नारायण अधिकारी\रासस

११ असोज ०७७, चितवन ः कोरोना सङ्क्रमणसँगै बन्द रहेको चितवनको पयर्टन व्यवसायलाई चलायमान बनाउन व्यवसायीले छुटको घोषणा गरेका छन् ।
सौराहाका पर्यटन व्यवसायीले विश्व पर्यटन दिवसका अवसरमा(आइतबार)आज आयोजना गरेको कार्यक्रममा २० देखि ३० प्रतिशतसम्म छुटको घोषणा गरेका हुन् । कार्यक्रममा क्षेत्रीय होटल सङ्घ नेपाल सौराहाका अध्यक्ष दीपक भट्टराईले पर्यटनसँग सम्बन्धित सबै व्यवसायमा छुट गरिने बताएका छन् । उनले भने, “व्यवसायको प्रकृतिअनुसार २० देखि ३० प्रतिशतसम्म छुट समावेश गरेर एक साताभित्र प्याकेज सार्वजनिक गर्छाै ।”
लकडाउनले थला परेको सौराहाका व्यवसायीले सन् २०२० मा सरसफाइ र सम्पूर्ण तयारी गर्ने, सन् २०२१ मा व्यापक प्रचारप्रसार गरी सन् २०२२ मा पर्यटन व्यवसायलाई पूर्ववत अवस्थामा फर्काउने गृहकार्य थालेका छन् । भट्टराईले देशका प्रमुख शहरमा घुमौ चितवन अभियानका साथ जाने बताएका छन् । भट्टराईले भने, “प्रमुख शहरमा सरोकारवालालाई राखेर चितवन वा सौराहा साँझ कार्यक्रम गर्नेछौँ ।” ती कार्यक्रमका लागि जिल्ला समन्वय समिति, रत्ननगर नगरपालिका, पर्यटन बोर्डलगायत सङ्घ संस्थासँग समन्वय भइरहेको उहाँले जानकारी दिए ।
आउँदा दुई वर्षसम्म आन्तरिक पर्यटकको भरमा व्यवसाय टिकाइराख्ने व्यवसायीको योजना छ । “कमाउनुभन्दा पनि व्यवसाय टिकाउन हामी लागि परेका छौँ”, भट्टराईले भने, “दुई वर्षपछि हामी पूर्ववत् अवस्थामा फर्किन्छौँ ।” पर्यटन दिवसका अवसरमा सौराहाका पर्यटनसँग सम्बन्धित क्षेत्रीय होटल सङ्घसहित ११ सङ्घ संस्थाले कार्यक्रमको आयोजना गरेका थिए । सो अवसरमा रत्ननगर नगरपालिकाकी उपप्रमुख विमला दुवाडीले सुरक्षाको मापदण्ड पूर्णरुपमा अपनाएर व्यवसाय सञ्चालन गर्न अनुरोध गरिन् । दुवाडीले आश्वासन दिइन्, “अब सौराहा शून्य हुँदैन, नगरपालिका तपाईहरुको साथमा छ ।”
रेष्टुरेण्ट एण्ड बार एसोसिएशन (रेवान) का अध्यक्ष दीपेन्द्र खतिवडाले हप्ताको दुई दिन बिदाको निर्णय भएमा पर्यटन व्यवसायमा केही सहयोग पुग्ने बताए । सन् २०२२ सम्म विदेशी पर्यटक आउने सम्भावना कम भएकाले देशदर्शन अभियान गर्नुपर्नेमा जोड दिए ।
सोही अवसरमा युनाइटेड हात्ती सहकारी संस्थाका अध्यक्ष ऋषि तिवारी, कुमरोज मध्यवर्ती सामुदायिक वनका अध्यक्ष गणेश श्रेष्ठ, साना पर्यटन व्यवसायी संघका अध्यक्ष सरस्वती चालिसे र बाघमारा मध्यवर्ती सामुदायिक वनका अध्यक्ष जीतबहादुर तामाङले सौराहामा कोभिड नियन्त्रणका लागि सरकारले लागू गरेको सम्पूर्ण मापदण्ड पूरा गरेर व्यवसाय शुरु भएकाले सन्देश प्रवाह गरिदिन अनुरोध गरे । सौराहामा १ सय २० होटल र एक सय हाराहारी रेष्टुरेण्ट छन् । सौराहाका होटलमा पाँच हजार पाँच सय जनाको क्षमता रहेको छ । गएको चैत ११ गतेबाट बन्द रहेका होटल यही असोज १ गते यता क्रमशः सरसफाई र खुल्ने क्रम शुरु भएको छ ।
सङ्घका निवर्तमान अध्यक्ष सुमन घिमिरेका अनुसार आधा हाराहारी होटल खुलेका छन् । पुनः निषेधाज्ञा हुने हो कि भन्ने चिन्ताले सम्पूर्ण व्यवसायी पर्ख र हेरको अवस्थामा रहेको उनले बताए । लकडाउनको अवधिमा बीचको समयमा १५ दिन होटल खुल्दा ठूलो नोक्सान भएकाले पुनः सञ्चालन गर्न व्यवसायी हच्किएका छन् ।
चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती सामुदायिक वन घुम्न आउने पर्यटक बस्ने मुख्य ठाउँ सौराहा हो । निकुञ्जले जीप सफारीबाहेक अन्य पर्यटकीय गतिविधि खुल्ला गरेको छ ।

प्रकाशित मिति : ११ आश्विन २०७७, आइतबार  ८ : ३६ बजे