१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


भक्तपुरमा सबै सरकारी कार्यालयका सेवा बन्द


२ कार्तिक २०७७, आइतबार  

0
Shares


२ कार्तिक ०७७, भक्तपुर ः प्रशासन कार्यालय भक्तपुरले आजदेखि अत्यावश्यक बाहेकका सम्पूर्ण सेवाहरु अनिश्चितकालका लागि बन्द गरेको छ ।
काठमाडौँ उपत्यकाभित्र कोरोना सङ्क्रमितको जोखिम बढेको भन्दै अर्को सूचना जारी नभएसम्मका लागि अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिएको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिइन् । पछिल्लो समय काठमाडौँ उपत्यकामा कोरोनाको सङ्क्रमणको दर अत्यधिक बढिरहेकाले सार्वजनिक सेवा प्रवाह गर्ने कार्यालयमा सेवाग्राहीको भीडभाड अत्यधिक भई सेवाग्राहीमा समेत सङ्क्रमण फैलन सक्ने अवस्था भएको उनलेले उल्लेख गरिन् ।
गत असोज २६ गते बसेको मन्त्रिपरिषद् बैठकले ५ सयभन्दा बढी सक्रिय सङ्क्रमित रहेको जिल्लाको कुनै पनि भागमा कुनै पनि सेवा रोक लगाउन सक्ने निर्णय गरेको थियो । जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार ९ सय नाघेकाले जिल्लाभित्रका सम्पूर्ण सरकारी कार्यालयका अत्यावश्यक बाहेकका सेवा अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरिएको जिल्ला प्रशासनद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र, सबै सरोकारवाला निकाय, स्वास्थ्य विज्ञ, सुरक्षा निकाय लगायतसितको छलफल, परामर्श एवम् निष्कर्षका आधारमा सेवा प्रवाह बन्द गरिएको हो । जिल्लाका नगरपालिकाहरुले समेत अत्यावश्यक बाहेकका सेवा बन्द गरेका छन् । चाँगुनारायण नगरपालिकाले कार्यालयका कर्मचारी र केही जनप्रतिनिधिमा कोरोना सङ्क्रमण बढेपछि अत्यावश्यक बाहेकका सेवा बन्द गरेको छ । नगरपालिका कार्यालयले आगामी १५ गतेसम्मका लागि कार्यालय खाले पनि सीमित कर्मचारीले अत्यावश्यक सेवा मात्रै दिने गरी व्यवस्था गरेको छ ।
यस्तै सूर्यविनायक नगरपालिकाले आफ्ना सबै कर्मचारीको स्वाब सङ्कलन गरी कात्तिक २ देखि नगरपालिकाको अत्यावश्यक बाहेकका सबै सेवा बन्द गराएको छ । नगरपालिकाले स्वाब दिएका सबै कर्मचारीलाई होम क्वारेन्टिनमा राखेको छ भने कात्तिक १२ गते पुनः कर्मचारीको पिसिआर परीक्षण गरी १५ गते रिपोर्ट आएपछि मात्रै १६ गतेदेखि कार्यालय सञ्चालन गर्ने निर्णय गरेको छ ।
यसैगरी मध्यपुरथिमि नगरपालिकामा कर्मचारी र जनप्रतिनिधिलाई कोरोना सङ्क्रमण भएपछि एक महिनादेखि अत्यावश्यक सेवा मात्रै सञ्चालन गर्दै आएको छ । नगरपालिकाले दशैँ अगाडिसम्म अत्यावश्यकबाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति : २ कार्तिक २०७७, आइतबार  १२ : ५६ बजे