१४ कात्तिक ०७७, काभ्रे । कोरोना भाइरस् सङ्क्रमणका कारण आज काभ्रेपलाञ्चोकमा एक पत्रकारसहित दुई पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा चौँरीदेउराली गाउँपालिका–५ निवासी ५१ वर्षिय पत्रकार विष्णुप्रसाद चौलागाई र बनेपा नगरपालिकाका ३९ वर्षिय एक पुरुष रहेको राष्ट्रिय समाचार समितीले जनाएको छ । मृतक चौंलागाई काभ्रे पोष्ट साप्ताहिकको प्रधान सम्पादक थिए ।
उनको काठमाडौको चावहिलस्थित ओम अस्पतालमा उपचारका क्रममा आज बिहान ४ बजे मृत्यु भएको हो । चौलागाईलाई गत असोज २६ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । त्यसपछि होम आइसोलेशनमा बस्नुभएका चौलागाईलाई ज्वरो बढेपछि कात्तिक १ गते ओम अस्पताल भर्ना गरिएको मृतकका भाई दिपकले बताएको राससले लेखेको छ । दुई दशकभन्दा बढी काभ्रेपलाञ्चोकमा पत्रकारितामा सक्रिय चौलागाईको पत्नी, एक छोरा र एक छोरी छन् । पारिवारिक सोतका अनुसार ‘ब्रोन्काइटिस’ रोगपीडित चौलागाईमा कोरोना सङ्क्रमण देखिए पनि हप्ता दिनअघि सङ्क्रमण रिपोर्ट नेगेटिभ आएको थियो । कोरोना सङ्क्रमणका कारण ‘मल्टी अग्र्यान फेलिएर’ भई पत्रकार चौलागाईको निधन भएको कोरोना रोकथाम तथा नियन्त्रण कमाण्ड पोष्टका सदस्यसचिव एवं जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा नरेन्द्र झाले बताएका छन् । “चौलागाईको रिपोर्ट नेगेटिभबारे जानकारी छैन तर उहाँको निधन कोरोना सङ्क्रमणका कारण भएको हो” उनले भने ।
हालसम्म काभ्रेपलाञ्चोकमा १४ पुरुष र सात महिला गरी २१ को कोरोना सङ्क्रमणका कारण मृत्यु भएको कमाण्ड पोष्टले जनाएको छ । पोष्टका अनुसार विगत २४ घण्टामा २८ पुरुष र १६ महिला गरी ४४ नयाँ कोरोना सङ्क्रमित थपिएका हुन् । आज पाँच सङ्क्रमित कोरोनामुक्त भई घर फर्किएका छन् ।
काभ्रेपलाञ्चोकमा हालसम्म कुल सङ्क्रमितको सङ्ख्या एक हजार ६ सय ६ पुगेको छ । यसमध्ये ६७ प्रतिशत अर्थात् एक हजार १ सय ३ कोरोनामुक्त भैसकेको पोष्टले जनाएको छ । हाल कोरोना सक्रिय सङ्क्रमितमध्ये ४५ प्रतिशत अर्थात २ सय १६ बनेपा नगरका हुन् । धुलिखेल नगरमा ९५, पनौतीमा ८९, पाँचखालमा १९, नमोबुद्धमा २७, मण्डनदेउपुरमा २२ तथा भुम्लु गाउँपालिकामा एक, रोशीमा छ, बेथानचोकमा चार, खानीखोलामा एक सङ्क्रमित रहेका छन् । यहाँको दुई स्थानीय तह चौंरीदेउराली र महाभारत गाउँपालिका कोरोनामुक्त छन् । हाल सक्रिय सङ्क्रमितमध्ये अस्पताल आइसोलेशनमा ९० र होम आइसोलेशनमा ३ सय ९२ उपचाररत रहेको पोष्टले जनाएको छ ।
एयधभचभम द्यथ इचकयल क्ष्लायतभअज
प्रतिक्रिया