६ आश्विन २०८१, आइतबार | Sun Sep 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


कोरोना संक्रमितको निशुल्क उपचार हुने


२० कार्तिक २०७७, बिहिबार  

0
Shares


२० कात्तिक ०७७, काठमाडौं । कोरोना सङ्क्रमित नागरिकलाई निःशुल्क उपचारको व्यवस्था मिलाउन सर्वोच्च अदालतले जारी गरेको परमादेशका विषयमा सरकारले दर्ता गरेको पुनरावलोकनमाथि सुनुवाइ नहुने भएको छ ।
न्यायाधीश हरिकृष्ण कार्की, सपना प्रधान मल्ल र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले आज स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव लक्ष्मण अर्यालले महान्यायाधिवक्ता कार्यालयमार्फत दर्ता गरेको पुनरावलोकन निवेदन खारेज गर्ने आदेश जारी गरेपछि उक्त विषयमा पुनः सुनुवाइ नहुने भएको हो ।
कोरोना सङ्क्रमित नागरिकलाई निःशुल्क उपचारको व्यवस्था मिलाउन दिएको आदेशमाथि यही कात्तिक १७ गते पुनरावलोकन निवेदन परेको थियो । गतअसोज १९ गते बसेको मन्त्रिपरिषद्को बैठकले आर्थिक रुपमा विपन्न, अशक्त, अपाङ्गता अवस्थामा रहेका नागरिक, एकल महिलालाई सरकारले निःशुल्क रुपमा उपचार गर्ने व्यवस्था गरेको थियो । सरकारी तथा कोरोना बीमा गरेका व्यक्तिका लागि सरकारले आर्थिक वर्ष २०७७÷०७८ को बजेटमा प्रतिव्यक्ति रु एक लाख व्यवस्था गरेको हुँदा सोही रकमबाट उपचार गर्नुपर्ने निर्णय गरेको पुनरावलोकन निवेदनमा थियो । अदालतले उक्त विषयमा भने थप सुनुवाइ नगर्ने भएको छ ।
सरकारी अस्पतालले निःशुल्क रुपमा नागरिकको कोरोना परीक्षण गर्न दिएको सर्वोच्च अदालतको आदेशको अवज्ञा गरेको उल्लेख गर्दै अधिवक्ता लोकेन्द्रबहादुर ओली र केशरजङ्ग केसीले यही कात्तिक १७ गते स्वास्थ्यमन्त्री भानुभक्त ढकालविरुद्ध अदालतमा अवहेलना मुद्दा दर्ता गरेका थिए । सोही निवेदनमा सरकारको पुनरावलोकन परेको थियो ।

प्रकाशित मिति : २० कार्तिक २०७७, बिहिबार  ७ : ३० बजे