८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


महिला राष्ट्रिय फुटबल लिग माघ पहिलो सातादेखि


२४ पुस २०७७, शुक्रबार  

0
Shares


२४ पुस ०७७, काठमाडौं । महिला राष्ट्रिय फुटबल लिग आगामी माघ ७ गतेदेखि सञ्चालन हुनेभएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का प्रवक्ता किरण राईका अनुसार महिला लिग एक महिनासम्म मात्र सञ्चालन हुनेछ । यसअघि एन्फाले उक्त लिग ६ महिनासम्म सञ्चालन गर्ने जनाएको थियो । कोरोना भाइरसको महामारीका कारण यस वर्ष महिला लिग ढिला सञ्चालन हुन लागेको राईले बताएका छन् । कोरोनाको जोखिमका कारण लिग लामो समयसम्म सञ्चालन गर्न नसकिएको उनले उल्लेख गरे ।
आगामी फागुन ७ गतेसम्म सञ्चालन हुने यस लिगमा कूल ४२ खेल खेलाइनेछ । उक्त लिगमा सात टोलीको सहभागिता रहने प्रवक्ता राईले जानकारी दिए । नेपाली सेनाको त्रिभुवन आर्मी फुटबल क्लब, नेपाल प्रहरीको पुलिस क्लब, सशस्त्र प्रहरी बलको एपिएफ क्लब तथा चार नगरस्तरीय टोलीले लिगमा प्रतिस्पर्धा गर्ने एन्फाले जनाएको छ । अर्को वर्ष महिला लिग सञ्चालन गर्न समय अपुग हुने भएकाले यस वर्षको लिगको समय घटाइएको हो ।
महिला लिगको विजेताले रु १५ लाख पुरस्कार प्राप्त गर्नेछ । यस लिग त्रिपुरेश्वरस्थित दशरथ रङ्गशाला र ललितपुरको सातदोबाटोस्थित एन्फा कम्पलेक्समा हुनेछ ।

एन्फाले स्थगित भएको विसं २०७६ को शहीद स्मारक ‘सी’ डिभिजन लिग आगामी चैत १ गतेदेखि सञ्चालन गर्ने यसअघि नै घोषणा गरिसकेको छ । उक्त लिग कोरोनाका कारण गत वर्ष चैतमा स्थगित भएको थियो । सी डिभिजन लिगको तयारी गर्न एन्फाले प्रत्येक क्लबलाई रु नौ लाख सहयोग गर्ने घोषणा गरेको छ । यसअघि लिग तयारीका लागि प्रत्येक क्लबलाई एन्फाले रु सात लाख आर्थिक सहयोग गर्दै आएको थियो ।
एन्फाले विसं २०७६ मा कोरोनाका कारण स्थगित गरिएको शहीद स्मारक बी डिभिजन लिग पनि आगामी फागुन ११ गतेदेखि पुनःसञ्चालन गर्ने निर्णय गरेको छ । यी सबै लिग सञ्चालनका क्रममा स्वास्थ्य मापदण्डको पालना गरिनुका साथै सबै खेलाडीको कोरोना परीक्षण गरिने एन्फाले जनाएको छ ।

 

प्रकाशित मिति : २४ पुस २०७७, शुक्रबार  ८ : २१ बजे