७ मंसिर २०८१, शुक्रबार | Sat Nov 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फोटोफिचर


मनाइयो घोडेजात्रा(फोटो फिचर)



२९ चैत ०७७, काठमाडौं । यस वर्ष घोडेजात्रा पर्व मनाइएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यमा यस वर्षको घोडेजात्रा समारोह सम्पन्न भएको हो । समारोहमा राष्ट्रपतिको सम्मानमा सेनाले सलामी अर्पण गरेको थियो । सो अवसरमा उनले म्युजिकल राईडरमा प्रथम र द्वितीय हुने क्रमशः सहसेनानी प्रवेश खड्का र उपसेनानी दिपीन थापा तथा शो जम्पमा प्रथम भएका सिपाही ओमप्रकाश यादव र द्वितीय जमदार जगदीश घिसिङलाई पुरस्कार प्रदान गरिन् ।

उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री केपी शर्मा ओली सैनिक मञ्च टुँडिखेल पुगेर सेनाले त्यहाँ आयोजना गरेको अश्वकला र साइकल खेललगायतका प्रदर्शनी अवलोकन गरेका थिए । सो अवसरमा अश्वकलाका विविध रोचक कार्यक्रम राईड पास, ब्यानर डिस्प्ले, टांगन र चार्जर घोडा दौड, साईकल रेश, शो–जम्प, ड्रिल राईड, क्रस टेण्ट पेगिङ्ग, सुईरो, स्वर्ड एण्ड वाटर मेलन र रिङ्ग एण्ड लान्स, एक्रोब्याटिस, घोडा लडाउने, म्यूजिकल राइड, क्रसकन्ट्री जम्प, हंगेरियन पोष्ट र कम्बाइन्ड फायर जम्प प्रदर्शन गरिएको थियो ।

कार्यक्रममा कुकुरको कौशल अन्तर्गत विविध रोमाञ्चक कलासमेत प्रदर्शन गरिएको थियो । कुकुर इमान्दार र आज्ञापालक जनावरका रुपमा लिने गरिन्छ । घोडेजात्रा अवलोकनका लागि प्रधानन्यायाधीश, सभामुख, मन्त्रिगण, नेपाल सरकारका उच्च पदस्थ अधिकृत, संवैधानिक निकायका प्रमुख, सुरक्षा अङ्गका प्रमुख एवं समाजका विभिन्न क्षेत्रका महानुभाव टुँडिखेल पुगेका थिए ।

प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन टुँडिखेलमा घोडेजात्रा मनाइँदै आएको परम्परा छ । घोडेजात्रा हेर्न टुँडिखेल वरपर नरनारीको घुँइचो देखिन्थ्यो । अघिल्लो वर्ष कोभिड–१९ को महामारीका कारण साङ्केतिकरुपमा मात्र उक्त जात्रा मनाइएको थियो । यसपटक पनि स्वास्थ्य मापदण्डको पालना गरेर जात्रा मनाइएको हो ।

जनविश्वासअनुसार टुँडिखेलको पूर्व–दक्षिणमा रहेको रूखमा बास गर्ने गुरुमापा भन्ने राक्षसले शहरका बालबालिकालाई दुःख दिने गरेकामा पीडित शहरवासीले विभिन्न उपायबाट त्यसलाई मारेपनि प्रेतात्मा फेरी जागा भई बालबालिकालाई अनिष्ट गर्छ कि भन्ने भयसँग जोडेर जात्राको प्रारम्भ गरिएको भनाइ छ । गुरुमापाको आत्मालाई घोडाको टापले कुल्चाएर दबाउने सोच अनुरुप घोडोजात्रा आयोजना गरिदैँ आएकोे भनिएको छ ।

शहरका कुनै पनि बालबालिकामाथि खतरा नहोस् भनी आजै राति त्यही रूखको फेदमा गुरुमापालाई खानेकुरा दिने पनि चलन छ । आजकै दिन ललितपुरमा पनि एउटा कानो घोडा दौडाएर घोडेजात्रा मनाउने परम्परा रही आएको छ ।

घोडेजात्रा २०७७ को अवसरमा सैनिक मञ्च टुडीखेलमा घोडचडी विभिन्न कला प्रस्तुत गर्दै सैनिकहरु । तस्वीर : प्रदीपराज वन्त, रासस

 

प्रकाशित मिति : २९ चैत्र २०७७, आइतबार  ८ : ५८ बजे