७ आश्विन २०८१, सोमबार | Mon Sep 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


राजधानीका अस्पतालका श्यया कोरोना संक्रमितले भरिन थाले




११ वैशाख ०७७, काठमाडौं । कोरोनाको सङ्क्रमणले गर्दा उपत्यकाका अस्पतालका रहेका श्यया भरिन थालेका छन् । दैनिक सङ्क्रमितको सङ्ख्या बढ्न थालेपछि श्यया भरिन थालेका हुन् । यही वैशाख ३ गते ९ सय सङ्क्रमित भेटिएकामा वैशाख १० गते करीब तीनगुणा दुई हजार ५ सय ५९ जना पुगेका थियो । चिकित्सकका अनुसार अहिले नेपालमा १२.३ प्रतिशत सङ्क्रमण दर रहेको छ ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग, वीर, पाटन ,त्रिवि शिक्षण र सशस्त्र प्रहरी बल अस्पतालमा कोराना सङ्क्रमितले अस्पतालका श्यया भरिदै गएको छ । शुक्रराज अस्पतालका २२ सघन उपचार कक्षमध्ये २० र १२ भेन्टिलेटर सङ्क्रमितले भरिएको अस्पतालका निर्देशक डा सागर राजभण्डारीले जानकारी दिएका छन् । उनका अनुसार ५५ आइसोलेशन श्यया पनि भरिएका छन् । दैनिक आठ–नौ जना उपचारपछि घर गएपनि त्यतिकै सङ्ख्यामा बिरामी आउने उनको भनाइ छ । उनले अस्पतालमा सङ्क्रमितबाट निमोनिया लागेका बिरामीलाई मात्र भर्ना गरेको जानकारी दिएका छन् । “हामीले सामान्य ज्वरो, रुघाखोकी, जिउ दुख्ने खालका बिरामीलाई भर्ना गर्ने गरेका छैनौँ”, उनले भने, “अलि जटिल खालका निमोनिया र अक्सिजन दिनुपर्ने बिरामीलाई मात्र भर्ना गरेका छौँ ।”
उनले सङ्क्रमित बढ्न थालेपछि विनाकारण घरबाट ननिस्कन र निस्कनै परे मास्क, सेनिटाइजर र भौतिक दूरी कायम गर्न पनि आग्रह गरे । अहिलेको कोरोनाको भाइरस युके भेरियन्ट र डलब भेरियन्ट रहेकोले सङ्क्रमण सार्नसक्ने अत्यधिक क्षमता रहेको छ ।

अहिलेको कोरोनाको नयाँ स्वरुपले एक जनाबाट एक घण्टामा ६०–७० जनामा सङ्क्रमण सार्न सक्छ । उनले सङ्क्रमण नियन्त्रण बाहिर जान थालेको सर्वसाधारण आफँै सचेत हुनुपर्ने भनाइ राखे । “अहिलेको भाइरसले सङ्क्रमण लागेको चार–पाँच दिनमा नै आक्रमण गर्ने खालको छ”, उनले भने, “अहिले ५० वर्षमुनिका मानिसलाई पनि बढी सङ्क्रामक देखिएको छ ।”
वीर अस्पतालमा पनि कोरोनाका बिरामीलाई छुट्याइएको श्यया भरिन थालेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार अहिले उपत्यकामा अहिले ७७ जना सघन उपचार कक्षमा र ४० जना भेन्टिलेटरमा उपचार गराइरहेका छन् ।
मुलुकभरि एक हजार १ सय ८० सघन उपचार कक्ष र ५ सय १२ भेन्टिलेटर रहेका छन् । तीमध्ये १ सय ७३ जना सघन उपचार कक्ष र ५७ जना भेन्टिलेटरमा सङ्क्रमितको उपचार भइरहेको छ । वीर अस्पतालका कोरोना सम्पर्क व्यक्ति डा अच्युत कार्कीले १७ मध्ये १५ सघन उपचार कक्ष श्यया, पाँच भेन्टिलेटर पूरै भरिएको बताए ।
सशस्त्र प्रहरी बल अस्पताल, बलम्बुमा कोरानाका बिरामीले भरिएका छन् । अस्पतालका कोरोना फोकल पर्सन डा प्रविन नेपालले १ सय श्ययामध्ये सबै भरिएको जानकारी दिए । उनका अनुसार सङ्क्रमित बढ्दै गएपछि अस्पतालले आज थप ४० श्यया थप गर्न थालेको हो । २० मध्ये १८ सघन उपचार कक्ष र आठमध्ये सात भेन्टिलेटर पनि सङ्क्रमित रहेको उनले जानकारी दिए ।

उनले अस्पतालमा भर्ना भएका बिरामी श्वास फेर्न गा¥ह्रो, ज्वरो, छाती दुख्ने, निमोनिया जस्ता समस्या रहेकाले ६० प्रतिशतलाई अक्सिजनलाई दिनु परेको जानकारी दिए । अस्पतालमा आएका बिरामीमध्ये अधिकांश ४०–५० उमेर समूहका बिरामी रहेका छन् ।
वीरमा ७६ आइसोलेशनमध्ये ६६ वटा सङ्क्रमित रहेका छन् । उनले दैनिक आठ–नौ वटा नयाँ बिरामी आउने गरेको भन्दै दैनिक सङ्क्रमित थपिँदै गए आफूले बिरामीलाई राख्न नसक्ने बताए । उनले सानो ठाउँ भएकाले उपचार गराउन आउने बिरामी र खोप लगाउन आउने व्यक्तिमा सामाजिक दूरी कायम राख्न नसकेको जानकारी दिए । सङ्क्रमित बढ्न थालेपछि वीरले नजिकैको सर्जिकल भवनमा अबको केही दिनमा कोरोना का बिरामी राख्ने तयारी गरेको उनको भनाइ छ ।
त्रिवि अस्पतालका निर्देशक डा. दिनेश काफ्लेले ५५ जना सङ्क्रमित उपचार भइरहेको जानकारी दिए । उनका अनुसार १२ जना आइसियु, ५ जना भन्टिलेटरमा र ३८ जना हाइ डिपेन्टिेन्ड युनिट (एचडियु)मा उपचार भइरहेको छ । अस्पतालमा ६० आइसियू र ५० एचडियू रहेका छन । उनले बिरामीलाई शुरुमा अब्जर्वेशन गरी राख्ने र समस्या देखिए आवश्यकता अनुसार आइसियू, एचडियू र भेन्टिलेटरमा राखिने बताए । अस्पतालले आइसियुमा एक जना नर्सले एक जना बिरामी र एचडियुमा एक जना नर्सले दुई जनासम्म बिरामी हेर्ने व्यवस्था मिलाएको छ । उनले सङ्क्रमित संख्या बढ्ने भएको ५० आइसोलेन श्यया थपिन थालेको जानकारी दिए ।

शुक्रराज अस्पतालका प्रमुख कन्सल्टेन्ट डा अनुप बाँस्तोलाले सङ्क्रमण पहिलोभन्दा सङ्क्रामक रहेकाले अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन आग्रह गरेका छन् । उनले सङ्क्रमण यही गतिमा अघि बढे, बिरामीले उपचार नै नपाउने स्थिति आउनसक्ने भन्दै मानिसलाई घर बाहिर ननिस्कन अनुरोध गरेका छन् । उनका अनुसार कोरोनाको अहिलेको लहरमा सङ्क्रमित सिकिस्त हुने अनुपात पहिलो लहरको तुलनामा बढिरहेको छ ।
नेपालमा अहिले दुई लाख ९४ हजार ६ सय १ जना सङ्क्रमित, दुई लाख ७६ हजार ७ सय ५५ जना निको भएर घर फर्किएका र तीन हजार १ सय २३ जनाको सङ्क्रमणको कारणले निधन भइसकेका छन् । मुलुकभरि १३ हजार ५ सय ७८ होम आइसोलेशन र एक हजार १ सय ४६ जना संस्थागत आइसोलेशनमा रहेका छन् । सङ्क्रमितमध्ये १.१ प्रतिशतमा मृत्युदर र प्रति १० लाखमा १ सय ७.८ जना मृत्यु हुने गरेको पाइएको छ । ५ सय भन्दाबढी सङ्क्रमित भएका जिल्लामा काठमाडौँ, ललितपुर, बाँके र रुपन्देही रहेका छन् ।

 

प्रकाशित मिति : ११ बैशाख २०७८, शनिबार  ५ : १३ बजे