७ आश्विन २०८१, सोमबार | Mon Sep 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


कोरोना संक्रमण बढेपछि प्रहरीको मास्क अभियान



कोरोना संक्रमण बढेपछि प्रहरी प्रचार गर्दै प्रहरी सचेतना जगाउन मास्क वितरण थालिएको हो । तस्वीर : कृष्ण न्यौपाने\रासस

१३ वैशाख ०७८, चितवन । चितवनमा कोरोनाको सङ्क्रमण बढ्न थालेपछि स्वास्थ्य सुरक्षामा निगरानी बढाइएको छ । अरु समयमा सवारी साधनको जाँच र सवारी चालक अनुमति पत्रको जाँच गर्दै आएका प्रहरी पनि यतिखेर सडकमा उभिएर मास्क लगाउन सचेत गराइरहेका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवन मातहतमा रहेका प्रहरीले केही दिनयता आम सर्वसाधारणलाई मास्क अनिवार्य लगाउन अनुरोध गरिरहेका छन् । ठाउँठाउँमा रहेका प्रहरीले चालकको मास्क नभएको पाए मास्कसमेत निःशुल्क उपलब्ध गराउँदै आएका छन् । चोकचोकमा प्रहरीले जनताको सुरक्षा मात्रै नभई स्वास्थ्य सचेतनाको कार्यक्रमसमेत गर्दै आएका छन् । ‘तपाईंको मास्क खोइ ?’ लेखेको प्लेकार्ड नै बोकेर सचेत गराइरहेका छन् ।
निजी तथा सार्वजनिक सवारीसाधनका चालक तथा यात्रु सबैलाई मास्क अनिवार्य लगाउन आग्रह गरिरहेका छन् । मास्क नलगाई हिँडेका अधिकांशले खल्तीमै मास्क लिएर हिँड्ने गरे पनि नलगाएको पाइएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख ओमप्रसाद अधिकारीले जानकारी दिएका छन् । अधिकांशले मास्क बोकेर पनि नलगाएको पाइएको भन्दै उनले मास्क नै नलिई हिँडेकालाई प्रहरीले नै मास्क दिने गरेको बताए । स्वास्थ्य सुरक्षाको मापदण्डलाई पूर्णपालना गर्न सडकबाटै सचेत गराउन आवश्यक ठानेको हुँदा प्रहरीले यो काम गर्दै आएको उनले बताए ।
देशभरको १४ जिल्लामध्ये चितवन जिल्ला र त्यसको पनि भरतपुर महानगरपालिका क्षेत्र सबैभन्दा बढी जोखिममा भएपछि यहाँ मानिसको भीडभाड हुने कुनै पनि गतिविधि हुन दिइएको छैन । यहाँका विद्यालयसमेत वैशाख मसान्तसम्मका लागि बन्द गरिएका छन् । जिल्ला प्रशासन कार्यालय चितवनले पनि २५ जनाभन्दा बढी मानिसको जमघट हुने कुनै पनि गतिविधि नगर्न निर्देशन जारी गरिसकेको छ ।

प्रकाशित मिति : १३ बैशाख २०७८, सोमबार  १० : ४३ बजे