२७ कार्तिक २०८१, मंगलबार | Tue Nov 12 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


सर्वोच्च अदालतले तोक्यो रिट निवेदन र सुनुवाइ समय




१७ वैशाख ०७८, काठमाडौं । सर्वोच्च अदातलले कोभिड–१९ को महामारीका कारण बन्दाबन्दी भएको अवस्थामा रिट निवेदन दर्ता गर्ने र सुनुवाइको समय तोकेको छ ।
अदालतले तोकेको समयानुसार बन्दी प्रत्यक्षीकरणसम्बन्धी रिट तथा कोभिड महामारी, जीवन र जनस्वास्थसँग सम्बन्धित रिट निवेदनहरु दर्ताको समय बिहान ११ः०० देखि दिउँसो ३ः०० बजेसम्म रहेको छ ।

ती रिट निवेदनमध्ये बन्दी प्रत्यक्षीकरणको निवेदन दिउँसो १ः०० बजेसम्म दर्ता गर्न आएमा सोही दिन सुनुवाइ हुने र सो उपरान्त दर्ता हुन आए भोलिपल्ट सुनुवाइ गर्ने तय गरिएको छ । सर्वोच्च अदालतका उपरजिष्ट्रार राजु ढुङ्गानाका अनुसार सुनुवाइका क्रममा सम्बन्धित मुद्दामा एक÷एक पक्ष र एक÷एकजना कानून व्यवसायी मात्र इजलासमा उपस्थित भएर बहस पैरवी गर्ने निर्णय भएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासहित सम्पूर्ण न्यायाधीशहरुको यही वैशाख १४ गते बसेको पूर्ण बैठकले उपत्यकामा निषेधाज्ञा जारी भएको अवस्थामा अदालतबाट दिने सेवा कटौती गर्ने गरेको थियो । पूर्ण बैठकले बन्दी प्रत्यक्षीकरणसम्बन्धी रिट निवेदन तथा कोभिड महामारी, जीवन र जनस्वास्थसँग सम्बन्धित रिट निवेदनको मात्र सुनुवाइ गर्ने निर्णय गरेको थियो । अदालतले सोही निर्णयानुसार रिट दर्ता गर्ने र सुनुवाइ गर्ने समय निर्धारण गरेको हो ।

प्रकाशित मिति : १७ बैशाख २०७८, शुक्रबार  ३ : ४३ बजे