७ मंसिर २०८१, शुक्रबार | Sat Nov 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फोटोफिचर


पशुपतिमा चौरमा जलाइदै कोरोना सङ्क्रमितको शव (तस्विरहरु)



रासस२१ वैशाख ०७८, काठमाडौं । कोरोना भाइरसको दोस्रो लहर तीव्र भएसँगै पशुपतिमा खुला चौरमा कोरोना संक्रमितहरुको लास जलाउन थालिएको छ । पशुपति क्षेत्रमा सङ्क्रमण भई निधन भएकाको शव विद्युतीय शवदाह गृहमा आउने क्रम बढ्न थालेपछि नभ्याउदा चौरमै लगाउन सुरु भएको हो ।
कोरोना सङ्क्रमण भई निधन भएका दैनिक सरदर ३० को हाराहारीमा शव आउन थालेको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा प्रदीप ढकालले जानकारी दिएका छन् । विद्युतीय शवदाह गृहमा तीनवटा शवदाह यन्त्र छन् । यी यन्त्रले नभ्याएपछि हाल वाग्मती किनारमा पनि सङ्क्रमण भई निधन भएकाको शवदाह हुन थालेको हो ।
सङ्क्रमण भई निधन भएकाको चाप विद्युतीय शवदाह गृहमा बढ्न थालेपछि पाँच वटा यन्त्र दाउराबाट जलाउन मिल्ने गरी थप्न लागिएको कोषले जनाएको छ । यी यन्त्र यसै हप्ता तयार भइसक्ने जनाइएको छ । गत वर्ष जेठ पहिलो सातापछि कोरोना सङ्क्रमण भई निधन भएकाको शव विद्युतीय शवदाह गृहमा आउन थालेको थियो । गत वर्ष धेरै शव आएका दिन १५ वटासम्म आउने गरेको थियो ।

यसवर्ष कोरोनाबाट मृत्यु हुनेको दर बढेकाले पशुपतिमा शव आउने क्रम पनि बढेको हो । विद्युतीय शवदाह गृहको एउटा यन्त्र दुई दिनअघिदेखि बिग्रिएका कारण पनि कोरोनाबाट मृत्यु भएकाको शव वाग्मती किनारका अन्य स्थानमा जलाउनु परेको कोषका प्रशासकीय अधिकृत कुमार थापाले जानकारी दिए । बिग्रिएको यन्त्र मर्मत गर्न लागिएको पनि उनले बताए ।


भष्मेश्वर र आर्यघाटमा पनि कोरोनाको दर तीव्र भएसँगै शव आउने क्रम बढ्न थालेको कोषले जनाएको छ । घाटमा सामान्य अवस्थामा निधन भएका ४० वटासम्म शव आउन थालेको छ । भष्मेश्वरमा नौ र आर्यघाटमा दुई गरी ११ घाटमा शवदाह हुने गरेको छ । यी ११ वटै घाटमा दाउराबाट शवदाह हुने गरेको छ ।

विद्युतीय शवदाह गृहमा पौने घण्टादेखि एक घण्टासम्ममा शवदाह हुने गरेको छ । दाउराबाट जलाइने घाटमा तीनदेखि चार घण्टामा शवदाह सकिने गरेको छ ।

प्रकाशित मिति : २१ बैशाख २०७८, मंगलबार  ७ : ५९ बजे