३० वैशाख ०७८, काठमाडौं । कोरोना संक्रमित विरामीहरु अक्सिजनको अभावमा पछिल्ला दिनहरुमा मृत्यु हुने क्रम बढेसँगै अक्सिजनको हाहाकार भइरहेको सन्दर्भमा नेपाल प्रहरीले देशभरबाट ५ सय ४७ थान अक्सिजन सिलिन्डर संकलन गरेको छ । ती मध्ये १ सय ८३ भरिएका र ३ सय ६४ खाली सिलिन्डर रहेका प्रहरीले बताएको छ ।
संकलन गरिएका सिलिन्डरमध्ये ५ सय १२ वटा कोरोनाअस्पताल र सम्बन्धित अक्सिजन प्लान्ट उद्योगलाई दिएको प्रहरीको भनाई छ । अक्सिजन सिलिन्डरहरु जिल्ला संकट व्यवस्थापन केन्द्र तथा जिल्लास्थित प्रहरी कार्यालयमाराखी आवश्यकता अनुसार वितरण गरिने प्रहरीले जानकारी दिएको छ ।
प्रहरीका अनुसार कतिपय खाली सिलिन्डरलाई भर्नका लागि डिपोमा समेत पठाइएको छ । आवश्यकता भन्दा बढी अक्सिजन सिलिन्डर होल्ड गर्ने अस्पताल, व्यक्ति लगायत अन्य संघसंस्था तथा स्वास्थ्य प्रयोजन बाहेक अन्य प्रयोजनमा प्रयोग गर्ने उद्देश्यले विभिन्न उद्योग, कलकारखाना, कवाडी, ग्यास वेल्डिङ, पसल तथा गोदामहरूमा स्टक गरी राखेका अक्सिजन सिलिन्डर नियन्त्रणमा लिई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्धारण गरेको संख्या अनुसार वितरण गरिएको हो ।
विश्वव्यापी रुपमा फैलिदै गइरहेको नयाँ भेरियन्ट सहितको कोरनाको दोस्रो चरणको संक्रमणको कारण महामारीले चरम रुप लिइरहेको विषम परिस्थितिमा यसको संक्रमण रोकथाम, नियन्त्रण तथा संक्रमण फैलिन नदिनका लागि राज्यको सम्पूर्ण संयन्त्र पूर्ण रुपमा प्रयासरत रहेको अवस्थालाई ध्यानमा राखी नेपाल प्रहरीले समेत सक्रियता बढाएको हो
।
साथै स्वास्थ्य प्रयोजन बाहेक अन्य प्रयोजनका लागि स्टक राख्ने व्यक्ति तथा सम्बन्धित निकायलाई आवश्यक कारबाहीका लागि थप अनुसन्धान समेत भईरहेको प्रहरी छ । जथाभावी तवरबाट स्टक गरी प्रहरी कारबाहीमा फेला परेमा सम्बन्धित व्यक्ति वा निकायउपर प्रचलित ऐन कानुन बमोजिम कारबाही गर्ने प्रहरीको तयारी छ ।
यस विषम परिस्थितिमा अन्य प्रयोजनका लागि स्टक नगर्न तथा विभिन्न कम्पनी, संघसंस्था तथा व्यक्तिहरूसँग आवश्यकता भन्दा बढी सिलिन्डर छन् भने त्यस्ता सिलिन्डरहरू उपलब्ध गराई सहयोग गर्न नेपाल प्रहरीले अनुरोध समेत गरेको छ ।
३० बैशाख २०७८, बिहिबार
0
Shares
प्रतिक्रिया