१५ जेठ ०७८, काठमाडौं । सरकारले आज अध्यादेश मार्फत आगामी आर्थिक वर्षको बजेट ल्याउँदै छ । प्रतिनिधिसभा विघटन भएको अवस्थामा सरकारले अध्यादेश मार्फत पूर्ण आकारको बजेट ल्याउन लागेको हो । कोभिड–१९ को रोकथाम तथा स्वास्थ्य पूर्वाधार, खोप खरिद, आउँदो कात्तिक २६ र मंसिर ३ का लागि तोकिएको चुनाव खर्च, यस्तै आउँदो वैशाखमा हुने स्थानीय तहको चुनाव, वृद्ध भत्ता वृद्धि तथा राहत एवम् आर्थिक उत्थानका कार्यक्रम बजेटमा समेटिने छन् ।
प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले जेठ ८ गते बिहानै प्रतिनिधिसभा भंग गरि चुनावको घोषणा गरेका बेला विज्ञहरुले मतदाता प्रभावित गर्ने खालको बजेट नल्याउन सरकारको ध्यानाकर्षण गराइसकेका छन् । तर सरकारले भने अध्यादेशबाटै पूर्ण आकारको बजेट ल्याउने भएको हो ।
संविधानमा जेठ १५ मा नयाँ आर्थिक वर्षको बजेट ल्याउनु पर्ने व्यवस्था छ । बजेटको दस्तावेज आज बिहान ११ बजेपछि बस्ने मन्त्रीपरिषद बैठकमा पेश हुनेछ । सो बैठकले अध्यादेशका रुपमा बजेट ल्याउन राष्ट्रपतिलाई सिफारिस गर्ने छ । राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि शनिबार दिउँसो ४ बजे अर्थमन्त्री विष्णु पौडेलले बजेट भाषण गर्ने तयारी रहेको छ ।
प्रतिक्रिया