११ माघ २०८२, शनिबार | Sun Jan 25 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Uncategorized


स्वास्थ्य सामग्री कालोबजारी गर्ने ३७ जना पक्राउ



१९ जेठ ०७८, काठमाडौं । निषेधाज्ञा अवधिभर स्वास्थ्य सामाग्रीलगायत कालोबजारी गर्ने ३७ जना पक्राउ परिसकेको प्रहरीले जानकारी दिएको छ ।
अक्सिजन सिलिन्डर, ह्यान्ड स्यानिटाइजर, अक्सिमिटर, मास्क, पञ्जा, रिमडेसिभिर लगायतका स्वास्थ्य सामग्रीको साथै अन्य अत्यावश्यक सामग्रीको कालोबजारी गर्ने यो निषेधाज्ञाको अवधिमा ३७ जनालाई गत ६ हप्ताको अवधिमा प्रहरीले पक्राउ गरेको प्रहरीले जनकारी दिएको हो ।
कोरोनाका कारण सिर्जित विकराल अवस्थामा सर्वसाधारणले प्रयोग गर्ने स्वास्थ्य सामग्रीको अत्यधिक माग भइरहेको अवस्थामा अप्ठ्यारो परिस्थितिको फाइदा उठाउँदै कालोबजारी गर्नेहरुलाई यस अवधिमा देशभरबाट प्रहरीले पक्राउ गरेको हो । उनीहरु उपर कालोबजार तथा केही अन्य सामाजिक अपराध ऐन, २०३२ अन्तर्गतको कसूरमा अनुसन्धान गरिएको छ ।
यस अवधिमा पक्राउ परेका ३७ जनामध्ये १२ जना अक्सिमिटर कालोबजारी गर्ने, ८ जना पिसीआर परीक्षणको नक्कली प्रतिवेदन बनाउने, ४ जना ह्यान्ड स्यानिटाइजर कालोबजारी गर्ने, ३ जना अक्सिजन सिलिन्डर कालोबजारी गर्ने, २ जना रिमडेसिभिर बढी मूल्यमा बिक्री गर्ने, १ जना स्यानिटाइजर तथा अक्सिमिटर दुवै कालोबजारी गर्ने, १ जना विभिन्न औषधि तथा स्यानिटाइजर कालोबजारी गर्ने, १ जना गुणस्तरहीन ह्याण्ड स्यानिटाइजर उत्पादन गरी विक्री गर्ने र ५ जना निषेधाज्ञा उल्लङ्घन गरी खोलिएका पसल बन्द गराउने तथा अनावश्यक हिँड्डुल रोक्ने कार्यमा खटिएका प्रहरीमाथि अभद्र व्यवहार गर्ने रहेका छन् ।
प्रहरीका अनुसार उनीहरुबाट १३ हजार ७ सय ५६ लिटर स्यानिटाइजर तथा करिब २५ हजार लिटर नक्कली स्यानिटाइजर, ५५ वटा अक्सिमिटर तथा ७ सय ६५ वटा नक्कली अक्सिमिटर, ६ थान रिमडेसिभिर तथा १ थान नक्कली रिमडेसिभिर, १ थान अक्सिजन सिलिन्डर, २ हजार लिटर मिथानोल रसायन, ३ हजार ६ सय लिटर, इथोनिल रसायन, विभिन्न स्टिकरहरू, २ थान विलप्याड र ४६ वटा कार्टुन विभिन्न औषधि बरामद भएको थियो ।
यो अवधिमा काठमाडौं, रामेछाप, काभ्रेपलान्चोक, बारा, महोत्तरी, खोटाङ, बर्दियालगायतका जिल्लाहरूमा सवारी साधन दुरुपयोग गरी बढी भाडा लिएर यात्रु बोक्ने सवारी साधनहरूलाई समेत प्रहरीले कारबाही गरेको छ । साथै बाँके नेपालगंज उपमहानगरपालिका ८ स्थित मारुती नन्दन जनरल स्टोरबाट प्रयोग अवधि समाप्त भएका करिब १ लाख ५० हजार रुपैयाँ मूल्य बराबरको खाद्य सामग्री बरामद गरी प्रहरी सहितको संयुक्त अनुगमन टोलीबाट नष्ट गरिएको प्रहरीले बताएको छ ।
देशमा शान्ति सुरक्षा कायम राख्ने, अपराध नियन्त्रण तथा अनुसन्धान गर्ने लगायतका नियमित कामको साथै कोरोनाको संक्रमण रोकथाम र नियन्त्रण गर्ने, निषेधाज्ञा पालना गराउने एवं विषम परिस्थितिको फाइदा उठाउँदै हुने गरेको कालोबजारी नियन्त्रणमा समेत सक्रिय भूमिका निर्वाह गर्दै आइरहेको प्रहरीको दावी छ । यस क्रममा जन स्वास्थ्य सामग्री तथा अन्य अत्यावश्यक साम्रगीको कालोबजारी गर्ने काम हुँदै नहोस् भनेर स्थानीय प्रशासन र सरोकारवाला निकायसँगको समन्वयमा गोप्य निग्रानी तथा अनुगमन टोली बनाई परिचालन गरिएका उसले बताएकोे छ । प्रहरीका अनुसार जोसुकैले कालोबजारी गरेको भेटिए पनि प्रत्येक जिल्लामा रहेका संयन्त्रमार्फत प्रचलित कानुन बमोजिम कडाइकासाथ अनुगमन र कारबाही गरिएको छ ।
अप्ठ्यारो परिस्थितिको फाइदा उठाउँदै गुणस्तरहीन स्वास्थ्य सामग्री उत्पादन गरी विक्री गर्ने, तोकिएको मूल्य भन्दा बढी मूल्यमा विक्री गर्ने, अर्कै कम्पनीको लेबुल टाँस गरी नक्कली सामग्री उत्पादन गर्ने, मापदण्ड विपरीत हानिकारक पदार्थ मिसावट गरी उत्पादन तथा विक्री गर्नेहरुमाथि प्रहरीको निगरानी निरन्तर कायम रहेको उसले बताएको छ । साथै कोही कसैबाट अनियमितता वा कालोबजारी भइरहेको थाहा हुन आएमा नजिकको प्रहरी कार्यालय वा सम्बन्धित निकायमा सूचना गर्न सम्पूर्ण सरोकारवाला निकाय र आमनागरिकमा प्रहरी प्रधान कार्यालय अपिल गरेको छ ।

 

प्रकाशित मिति : २० जेष्ठ २०७८, बिहिबार  ७ : ३० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।