४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेश


कोरोना खोप लगाएपछि पुरानै लयमा फर्कँदै अमेरिका




७ असार ०७८,वासिङ्टन । विगत डेढ वर्षदेखि कोरोना भाइरसका कारणले अस्तब्यस्त भएको अमेरिकी जनजीवन विस्तारै पुरानै लयमा फर्कन थालेको देखिएको छ ।
महामारीका कारण घर बसिरहँदा वाक्क भएका मानिसहरु खोप लगाएपछि घरबाट बाहिर निस्केर विस्तारै बजार व्यापार तथा जमघटहरुमा सहभागी हुन थालेका छन् । पछिल्ला हप्ताहरुमा अमेरिकाका विभिन्न शहर तथा बजारहरुमा पनि चहलपहल बढ्न थालेको देखिएको छ भने व्यापारिक प्रतिष्ठानहरुले आफना कारोवारमा वृद्धि भएको बताउन थालेका छन् ।
अमेरिकाका मुख्य पर्यटकीय गन्तव्य न्यूयोर्क, फ्लोरिडा, क्यालिफोर्निया जस्ता राज्यका ठूला रेष्टुरेन्टहरुमा पनि ‘लाइभ कन्सर्ट’ हरु शुरु भएका छन् भने पार्क तथा समुद्रका किनारमा समेत मानिसहरुको चहलपहल बढ्न थालेको छ । मनोरञ्जनका लागि समुद्री किनारमा जाने मानिसहरुको सङ्ख्या दिन प्रतिदिन बढ्दै गएको छ ।
यतिखेर यहाँका कतिपय पसल, होटल एवं व्यापारिक प्रतिष्ठानहरुले ‘यदि तपाई पूणर् रुपमा खोप प्राप्त व्यक्ति हुनुहुन्छ भने मास्क लगाइरहन पर्दैन’ भनेर सूचना टाँसेका देखिन्छन् । यी सूचनाहरुले अमेरिकीहरुलाई खुशी तुल्याएको अनूभूति पनि उनीहरु व्यक्त गरिरहेका छन् । सन् २०१९ को अन्त्यतिरबाट चीनको वुहानबाट युरोप हँुदै अमेरिका भित्रिएको ठानिएको कोरोना भाइरस (कोभिड १९) का कारण अमेरिकाले अकल्पनीय परिस्थितिको सामना गर्नुपरेको थियो । भाइरसको सङ्क्रमणले १६ महिनाको अवधिसम्ममा विश्वभरिमै सबैभन्दा बढी त अमेरिका प्रभावित भयो । अहिलेसम्म पनि अमेरिका नै सबैभन्दा धेरै प्रभावित देशको पहिलो सूचीमा नै रहेको छ । यो भाइरसले विश्वमा सबैभन्दा धेरै नागरिकको ज्यान लिने देशको सूचीमा अमेरिका परेको छ ।
कोरोना भाइरस विरुद्धको खोप निर्माणमा अमेरिकी कम्पनीहरुले सफलता पाएसँगै अहिले खोप वितरण तीव्र गतिमा भइरहेको छ । अहिले अमेरिकामा फाइजर कम्पनी र मोडर्ना कम्पनीका गरी दुईओटा खोप प्रदान गरिन्छ भने जोन्सन एण्ड जोन्सनको एक डोज खोप प्रदान गरिन्छ । यी तिनवटै खोपलाई आपतकालीन उपयोगको लागि भन्दै अमेरिकाको फुड एण्ड ड्रग एडमिनिष्ट्रेशनले अनुमति दिएको हो । कोरोना भाइरस विरुद्धको खोप लगाउन थालेपछि अमेरिकाका पचासैवटा राज्यमा पहिला जारी गरिएका कतिपय प्रतिबन्धहरुलाई पनि लचिलो बनाइएको छ भने कति राज्यहरुले त यस्ता प्रतिबन्धहरुलाई पूणर् रुपमा हटाइसकेका छन् ।
जुन महिनाको दोश्रो सातासम्ममा स्थानीय राज्यका गभर्नरहरुले खोप पर्याप्त उपलब्ध भएकाले खोप लगाउन प्रेरित गर्दै मानिसहरु जम्मा हुन पाउने व्यवस्थालाई खुकुलो बनाएका छन् । सबैभन्दा बढी प्रभावित भएको राज्यमध्येको एक न्यूयोर्कले कोरोना भाइरस विरुद्धको प्रतिबन्ध हटाएको घोषणा गर्न विशेष कार्यक्रम नै गरेको थियो । राज्यका ७० प्रतिशतभन्दा बढी नागरिकले खोप लगाएपछि राज्य सरकारले लगाएको विभिन्न प्रतिबन्धहरु हटाइएको बताएको थियो ।
कोरोना भाइरस विरुद्धको खोप लगाएकाहरुलाई कोरोना भाइरस लागेको खण्डमा उनीहरुमा सामान्य लक्षण देखापर्ने र कम फैलन सक्ने नयाँ तथ्य समेत प्रकाशित गरिएको छ । सेन्टर्स् फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन् सेन्टरले डिसेमबर १३ देखि अप्रिल १० सम्म गरेको अध्ययनमा यो तथ्य फेला परेको हो । यी खोपहरुले ९१ प्रतिशत सम्म कोरोना भाइरस विरुद्ध लड्न सक्ने क्षमता प्रदान गर्ने अनुसन्धानबाट पाइएको छ ।

कोरोना भाइरस विरुद्ध लडने उद्घोषका साथ राष्ट्रपतिको निर्वाचनमा होमिएका जो वाइडेनले निर्वाचनमा विजय भएर जनवरी २० मा शपथ लिएसँगै लिनुभएको रणनीतिले अमेरिकामा सफलता हासिल गर्न सम्भव भएको हो । वाइडेन प्रशासनले एक सय दिनको लक्ष्यसहित दश करोड जनालाई खोप र मास्कको वाध्यकारी व्यवस्था गरेकाले छ महिनामा नै अमेरिकाको जनजीवन सामान्यतर्फ उन्मुख हुन सकेको वा सम्भव भएको हो ।
वास्तविकता के हो भने वाइडेन प्रशासनको नीतिकै कारण १५० दिनमा ३० करोड अमेरिकीले कोरोना विरुद्धको पहिलो खोप लगाउन सफल भएका छन् । अहिले अमेरिकाको आर्थिक अवस्था थप मजबुत भएको भन्दै वाइडेन प्रशासनको प्रशंसा गरिएको छ । वाइडेन प्रशासनले आपतकालीन युद्धसँग जुधे जसरी राज्य संयन्त्रका हरेक समूहलाई विश्वासमा लिएर यथेष्ट बजेट समेत निकासा दिन सफल भएको थियो ।
अहिले अमेरिकी राज्य सरकारहरुले कोरोना विरुद्धको खोप लगाउने आफनो लक्ष्य हासिल गर्नको लागि पुरस्कारको समेत घोषणा गरेका छन् । यसरी घोषणा गरिएका राज्यहरुमा न्यूयोर्क, क्यालिफोर्निया, मेरील्याण्ड, मेनलगायतका रहेका छन् । अमेरिकाको सबैभन्दा ठूलो राज्य र जनसंख्यामा समेत पहिलो राज्यको रुपमा रहेको क्यालिफोर्नियाले १५ लाख डलरको पुरस्कारको घोषणा गरेको छ । उक्त राज्यमा ३ करोड ९५ लाख ३८ हजार २२३ जनसङ्ख्या रहेको छ । त्यसमध्ये ५६ दशमलव ९ प्रतिशत नागरिकले पूणर् खोप लगाएका छन् ।

अमेरिकामा कार्यरत चिकित्सक तथा एनआरएन ग्लोवल हेल्थ कमिटीका संयोजक डा.सञ्जीव सापकोटाले तत्कालको लागि खोपले काम गरेको स्पष्टसँग देखिएको बताउनुहुन्छ । सापकोटाले सङ्क्रमितको दर घट्दै गएको र खोप लगाउनेको सङ्ख्या पनि प्रतिदिन बढ्दो रहेकाले आगामी दुई तीन महिनाभित्रै निकै सहज अवस्था हुने विश्वास व्यक्त गर्नुभयो ।

“अहिले लिएको खोपले तीन महिना देखि छ महिनासम्म काम गर्छ, त्यसपछिको लागि आधिकारिक निकायहरुले थप अनुसन्धान पश्चात रणनीति सार्वजनिक गर्ने नै छन्” उहाँ भन्नुहुन्छ । महामारीबाट पूणर् रुपमा मुक्त भएको घोषणा गर्न थप समय चाहिने भएकाले कहिले सम्ममा खोपको उपलब्धता र नागरिकसम्म खोपको पहुँच हुन्छ त्यसमा निर्भर रहने सापकोटा बताउनु हुन्छ । अमेरिकामा १२ वर्ष माथि उमेर समूहकालाई समेत खोप दिइएकोले विद्यालयहरुमा पठनपाठन समेत शुरु गरिएको छ । सिडिसीले फाइजरको खोपलाई १२ देखि १५ वर्ष उमेर समूहलाई लगाउन अनुमति दिएपछि कोरोना भाइरस विरुद्धको खोप अभियानमा अर्को सफलता हात लागेको थियो ।

अमेरिकामा होटलको ‘अकुपेन्सी’ दर ५९ दशमलव ३ प्रतिशत रहेको थियो र यो दर जुन महिनाको दोश्रो सातामा ६६ प्रतिशत पुगेको छ । यसबाट मानिसहरु खोप लगाएपछि छुट्टीमा निस्किएका छन् भन्ने मजवुत आधार मान्न सकिन्छ । अमेरिकामा रियल स्टेट तथा सेवाका क्षेत्रमा लगानी गर्दै आएका रयाड पण्डित विस्तारै होटलहरुको कोठा भरिन थालेको बताउनुहुन्छ । पण्डित भन्नुहुन्छ “खोप पश्चात अमेरिकीहरुमा यात्रा गर्ने प्रवृत्ति वढेको छ, यसले होटल क्षेत्र बढी चलायमान भएको छ ।”

 

प्रकाशित मिति : ७ असार २०७८, सोमबार  १ : ५९ बजे