
५ साउन ०७८,काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सङ्घीय संसद्मा विश्वासको मत पाएपछि मन्त्रिमण्डल विस्तारका सम्बन्धमा सत्ता साझेदार दलहरुबीचको छलफल बाक्लिएको छ ।
यसै सन्दर्भमा प्रधानमन्त्री देउवालाई विश्वासको मत दिनुभएको नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसँग आज नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र जनता समाजवादी पार्टी नेपाल (जसपा)का अध्यक्ष उपेन्द्र यादवले छुट्टाछुट्टै भेटवार्ता गरेका छन् ।
नेता नेपाललाई भेट्न माओवादी अध्यक्ष दाहाल र जसपा अध्यक्ष यादव कोटेश्वरस्थित उनकै निवासमा पुग्नुभएको थियो । नेता नेपाल निवासमा आज बिहान भएको छलफलमा मुलुकको समसामयिक राजनीतिक परिस्थिति, मन्त्रिमण्डल विस्तारलगायत विषयमा विचार विमर्श भएको बुझिएको छ ।
यद्यपि भेटका सम्बन्धमा दुबैतर्फका नेताले सञ्चार माध्यमलाई औपचारिक प्रतिक्रिया दिएका छैनन् । यता जसपाका कार्यकारिणी समितिका सदस्य मोहम्मद इस्तियाक राईले अध्यक्ष यादवले नेता नेपालसँग समसामयिक विषयमा कुराकानी गरेका र विस्तृत विवरण दिउँसो जानकारी गराउने बताए ।







प्रतिक्रिया