४ आश्विन २०८१, शुक्रबार | Sat Sep 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेश


कोरोना उत्पत्तिबारे अनुसन्धान गर्न चीनले मानेन




८ साउन ०७८,बेइजिङ । कोरोना महामारीको उत्पत्तिबारे थप अनुसन्धान गर्ने विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) को प्रस्ताव चीनलाई मान्य नभएको चिनियाँ एक अधिकारीले बिहीबार बताएका छन् ।
डब्ल्यूएचओका प्रमुख डा. टेड्रोस एड्हानोम गेहब्रेयससले दोस्रो चरणको अनुसन्धानमा थप सघाउन चीनलाई आग्रह गरेको भएपनि यसलाई चीनले अनुमति नदिने बताएको हो ।
चीनका उपस्वास्थ्यमन्त्री जङ यिशिनले उक्त प्रस्तावले ‘सहज बुद्धिको अनादर गरेको तथा विज्ञानसँग अभिमान’ गरेको टिप्पणी गर्नुभएको छ । उक्त योजना राजनीतिक उद्देश्यले आएको दाबी गर्दै जङले त्यसलाई चीनले स्वीकार्न नसक्ने बताए ।
सन् २०१९ को डिसेम्बर महिनामा कोरोनाभाइरस पत्ता लागेको चीनको वुहान सहरमा यस वर्षको जनवरीमा डब्ल्यूएचओका विज्ञहरूको एउटा टोली पुगी अनुसन्धान गरेको थियो । यस समूहले कोरोनाभाइरस कुनै प्रयोगशालाबाट चुहिएर फैलिएको हुनसक्ने सम्भावना नरहेको निष्कर्ष निकालेको थियो ।
बिहीवार एउटा पत्रकार सम्मेलनमा बोल्दै जङले डब्ल्यूएचओको प्रस्तावप्रति आश्चर्य प्रकट गर्दै त्यो प्रयोगशालासम्बन्धी चिनियाँ नियम उल्लङ्घन गरिएको दाबीमा केन्द्रित भएको बताए । चीनले त्यस्ता सर्तहरू मान्न ‘असम्भव’ भएको भन्दै जङले आफ्नो देशले कोरोनाभाइरस उत्पत्ति पत्ता लगाउने सन्दर्भमा छुट्टै विवरण बुझाइ सकेको बताएको छ ।

वुहान इन्स्टिट्यूट अफ भाइरलजीले चमेरामा कोरोनाभाइरसको अध्ययन गरिरहेको छ । वुहान इन्स्टिट्यूट अफ भाइरलजीको प्रयोगशालाका निर्देशक पनि यस पत्रकार सम्मेलनमा उपस्थित थिए । उनले कोरोनाभाइरस प्राकृतिक रूपमै उत्पत्ति भएको तर्क गरे । सन् २०१८ मा उक्त प्रयोगशाला स्थापित भएदेखि त्यहाँबाट कुनै भाइरस पनि नचुहिएको अनि कुनै कर्मचारी पनि सङ्क्रमित नभएको उनको दाबी रहेको छ ।
कोरोनाभाइरसबारे थप अनुसन्धान गर्न र त्यसको उत्पत्ति पत्ता लगाउने विषयमा यूरोप अमेरिका लगायतका केही विकशित मूलुकले डब्ल्यूएचओलाई चर्को अन्तर्राष्ट्रिय दबाव दिइराखेका छन् । केही महिनाअघि अमेरिकी राष्ट्रपति जो बाइडनले अमेरिकी गुप्तचरहरूलाई महामारीबारेको अनुसन्धान अझ राम्ररी गर्न निर्देशन दिएका थिए ।

प्रकाशित मिति : ८ श्रावण २०७८, शुक्रबार  ६ : १६ बजे