
२ भदौ ०७८, डडेल्धुरा । डडेल्धुराको अमरगढी ५ का रामशरण रोका जिल्ला सदरमुकामस्थित एक संस्थागत विद्यालयमा अध्यापन गराइ रहेका थिए । उमेरले ३८ वर्षका रोका विगत १० वर्षदेखि नियमित शिक्षण पेशामा थिए । शिक्षण पेसामा कार्यरत उनको जीवन सहज नै चलिरहेको थियो । शिक्षण गरेर आएको पैसाले उनका परिवारको दैनिकी सहज रूपमा चलिरहेको थियो । विश्वव्यापी रुपमा कोरोना भाइरसको महामारी फैलियो । महामारी रोक्न सरकारले ११ चैत २०७६ बाट देशभर लकडाउन ग¥यो । आम नागरिकको दैनिक जीवन नै संकटमा प¥यो । साँझ बिहान गुजारा कसरी चलाउने भन्ने पिरलो आम जनमानसमा थियो ।
एक निजी विद्यालयमा कार्यरत शिक्षकमा यसले प्रभाव पारेको होला वा नहोला ? अवश्य पनि नपर्ने कुरा नै भएन । सरकारी विद्यालयमा भएको भए पारिश्रमिक आउँछ भन्ने आशा त हुन्थ्यो । रोका संस्थागत विद्यालयमा थिए ।
काम नगरे पश्चात पारिश्रमिक आउने कुरै भएन । यसको मारमा रोका पनि थिए । कोरोना भाइरसको महामारीले निकै सताएको रोका बताउँछन् । कोरोना रोकथाम तथा नियन्त्रण गर्न सरकारले लकडाउन त ग¥यो । तर, उनीजस्तै निजी संस्थामा काम गरेर खानेको गुजारा चलाउन कठिन बनाइदियो । लकडाउनमा निजी विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारी बेरोजगार भएको समयमा उनी सरकारले निजी विद्यालयलाई सौतेलो व्यवहार गरेको बताउँछन् ।
खान लगाउन नै समस्या भएका बेला अरूको मुख ताक्नुभन्दा आफ्नै ठाउँमा आफैं केही गरौँ भनेर विकल्प खोज्नतिर लागेको उनी सुनाउँछन् । आफूले गर्दै आएको काम रोकिँदा परिवार पाल्नुको पीडा सहन नसक्नेको बाँकी जीवन लथालिंग हुन्छ । तर, रामशरणका लागि त्यहीँ पीडा नै प्रेरणाको स्रोत भइदियो । पहिले उनी पोखरामा बस्ने भएकोले त्यहाँ थुप्रै साथी छन् । कोरोनाका कारण बेरोजगार भएको समयमा एक दिन उनको साथीसँग फोनमा कुराकानी भयो ।
साथीहरूको सुझाव र इन्टरनेटको माध्यमबाट डडेल्धुरामा चप्पल उद्योग खोल्न उनी निकै प्रेरित भए । उनले डडेल्धुरा सदरमुकामको विद्युत रोड छेउमै चप्पल उद्योग खोले । ‘सफल चप्पल उद्योग’का नामले आफ्नै टिनको छाप्रोमा उद्योग सञ्चालन गरे । घरमै बसेर के गर्नु भनेर धेरैसँग सुझाव लिए । फेरि सबैले गरेजस्तो व्यापार गरेर कुनै फाइदा थिएन ।
बजारको अध्ययन गरे पश्चात उद्योग सञ्चालन गर्ने सोच उनले बनाए । सुदूरपश्चिमका पहाडी जिल्लामा कतै पनि चप्पल उद्योग थिएन । ७ वटा पहाडी जिल्लामा आफूले उत्पादन गरेका चप्पल आपूर्ति गर्ने योजनाका साथ उनले उद्योग सञ्चालन गरे ।
८ लाख लगानी गरेर विराटनगरबाट मेसिन तथा चप्पल बनाउन प्रयोग हुने कच्चा पदार्थ ल्याएर उत्पादन सुरु गरेको उनको व्यापार निकै फस्टायो । मनग्य आम्दानी गर्न थाले ।
सफल चप्पलबाट सफल फूड
सफल चप्पलको नामबाट उद्योग सुरु गरेको उनको जीवन नै फेरियो । जीवनसँगै उनको उद्योगको नाम पनि फेरियो र रहन गयो सफल फूड वयर्स । अहिले उनको उद्योगमा चप्पलसँगै, जुत्ता पनि बनाइन्छ । बाहिरी जिल्लाबाट ल्याएका बजारको जुत्ता चप्पल महंगो र गुणस्तरहीन भएको कारण पनि उनको उद्योगमा बनेका जुत्ता चप्पलको माग अत्याधिक छ ।
सुदूरपश्चिमका पहाडी जिल्लामा पहिलो पटक उद्योग सञ्चालनमा आएर सस्तो जुत्ताचप्पल पाइन थालेपछि उपभोक्ता पनि हर्षित छन् । जुत्ता चप्पल बन्ने सामग्री काठमाडौं, नेपालगञ्ज, विराटनगर र भारतबाट ल्याउने गरेको उनको भनाइ छ ।
उनी भन्छन्, ‘डडेल्धुराको बजार अल्लि फरक छ । काठमाडौंको सामाग्री जस्तोसुकै भए पनि व्यापारीहरु खपत गर्छन् । हाम्रो लोकल उत्पादन भए पनि ब्रान्डेड भए पनि नजिकको तीर्थ हेला भन्ने जस्तो गर्छन् ।’
बजार व्यवस्थापनमा चुनौती रहेको उनको अनुभव छ । ‘एक जना व्यापारीले मलाई मात्र दे, अरूलाई नदिनु भन्ने खालका कुरा गर्ने गर्छन् । तर, एउटै पसलमा दिएर सामग्री बिक्री गर्न गाह्रो हुन्छ,’ उनले भने ।
दश जनालाई रोजगारी
उद्योगमार्फत रामशरणले १० जना युवालाई रोजगारी दिएका छन् । जेन्स र लेडिजको लागि जुत्ता चप्पल बनाउन फरक–फरक कामदार राखेको उनी बताउँछन् । अहिले उनले जुत्ता चप्पल बनाउनका लागि भारतबाट समेत कामदार ल्याएर काममा लगाएका छन् । मासिक ठ्याक्कै यति कमाई हुन्छ भन्न सक्ने अवस्था नरहेको तर, सिजनअनुसार राम्रै कमाई हुने गरेको उनको भनाइ छ ।
अधिकांश युवा देशमा रोजगार नपाएर विदेश जाने गरेकोमा उनी दुःखी छन् । विदेशमा गर्ने मेहनत आफ्नै देशमा गरे मनग्य आमदानी गर्न सकिने उनको भनाइ छ । ‘भारतमा हामी भाँडा माझ्ने गछौं। तर, आफ्नो देशमा भाँडा माज्न भने लजाउँछौं । विदेशमा जुन लेभलमा काम गछौं । त्यहीँ लेभलको काम स्वदेशमा हामीले गर्नुपर्छ,’ उनी भन्छन्, ‘सानो लगानीमा काम गरे पनि मनग्य आमदानी गर्न सकिन्छ । मैले पनि सुरुमा चप्पल उद्योग सञ्चालन गरेको थिएँ । अहिले जुत्ता उद्योग सञ्चालन गरिसकेँ ।’न्युज कारखानाबाट
२ भाद्र २०७८, बुधबार
0
Shares








प्रतिक्रिया