८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


एन्फा प्रशिक्षक प्रकरण : प्रवक्ताको राजीनामा स्वीकृत भएन, सत्यतथ्य बाहिर ल्याउन माग




४ भदौ ०७८,काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्वप्रवक्ता किरण राईले खेलकुद मन्त्रालयले हेरेको प्रशिक्षक राजीनामा प्रकरणको सत्यतथ्य बाहिर आउनुपर्ने माग गरेका छन् ।
पूर्वप्रवक्ता किरणले एन्फामै टुंग्याउनुपर्ने विषयमा मन्त्रालय गुहारेको र मन्त्रालयले प्रतिवेदन सत्यतथ्य बाहिर सार्वजनिक गर्नुपर्ने माग गरेका हुन् । ‘एन्फामै टुंग्याउनुपर्ने विषय मन्त्रालय गुहार्ने काम गलत थियो । तर मन्त्रालयले छानविन समिति नै बनाएपछि प्रतिवेदन सार्वजनिक गर्नुपर्छ । सत्यतथ्य बाहिर आउनुपर्छ,’ एन्फा केन्द्रीय सदस्य किरणले भने ।
साउन १० गते राष्ट्रिय फुटबल टोलीका कुवेती मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङको कारण आफूले राजीनामा दिन एन्फा गइरहेको बताएका थिए । उनले विगत ३ हप्तादेखि वरिष्ठ उपाध्यक्ष पंकजले आफूलाई तनाव दिएको र राजीनामा पछि पंकज खुसी हुने प्रतिक्रियासहित पंकजलाई ‘मेन्सन’ गरेर सामाजिक सञ्जालमा लेखेका थिए ।
यद्यपि उनले हालसम्म एन्फामा राजीनामा पत्र बुझाएका छैनन् । यता, वरिष्ठ उपाध्यक्ष पंकजले तत्काल पत्रकार सम्मेलन गर्दै आफूले प्रशिक्षकलाई कुनै पनि समय तनाव नदिएको र तनाव दिएको पुष्टि भए आफ्नो पदबाट राजीनामा दिने बताएका थिए । उनले आफूविरुद्ध षडयन्त्र रचिएकोसमेत बताएका थिए ।
त्यसको केही दिनमै बसेको एन्फाको आपतकालिन बैठकले ठोस निर्णय दिन नसकेपछि मन्त्रालयलाई छानबिन गर्न पत्र काटेको थियो । मन्त्री र मुख्य सचिवविहीन मन्त्रालयले सात दिनभित्र सत्य तथ्य छानविनसहित प्रतिवेदन तयार गर्न राष्ट्रिय खेलुकद परिषद् (राखेप) लाई जिम्वेवारी दिएको थियो ।
राखेप बोर्ड सदस्य पुरेन्द्रविक्रम लाखे नेतृत्वको ७ सदस्यीय टोलीले मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी, वरिष्ठ उपाध्यक्ष पंकज नेम्बाङ, एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा, तत्कालिन प्रवक्ता किरण राई, राष्ट्रिय टोलीका कप्तान किरण कुमार लिम्बु, ब्यवस्थापक मधुसुदन उपाध्यायसहित १४ जनाको बयान लिएको थियो ।
७ दिनको समय पाएको छानविन समितिले समय अपुग भएको भन्दै थप एक साताको समय माग गरेको थियो । हाल भने छानविन समितिले वयान सकिएसँगै प्रतिवेदन तयार पारि मन्त्रालयलाई बुझाउने तयारी गरिरहेको छ ।
राजीनामा प्रकरणपछि मन्त्रालयलाई छानविनको लागि जिम्मा दिएको भन्दै किरण राईले प्रवक्ता पदबाट राजीनामा बुझाएका थिए । वरिष्ठ उपाध्यक्ष पंकजसमक्ष अध्यक्ष कर्मा छिरिङलाई राजीनामा पत्र बुझाएका राईको हालसम्म राजीनामा स्वीकृत भएको छैन ।
आर्थिक पारदर्शिता, सामुहिक एकता लगायत नारा बोकेर तत्कालिन समय एन्फा कार्य समिति आएको कर्मा, पंकज, किरणलगायतको समूहले गणेश थापा समूहलाई पराजित गरेको थियो । तर पछिल्लो समय एन्फा चुनाव नजिकिदै गर्दा अध्यक्ष कर्मा र वरिष्ठ उपाध्यक्षबिच रस्साकस्सी चलिरहेको छ ।
दुबै आगामी चुनावमा अध्यक्ष प्रत्यासी हुन् । हाल राजीनामा प्रकरणसँगै एन्फामा आगामी चुनावको लागि कित्ता क्लियरका कुरा अगाडि बढेका छन् ।
यस्तै राईले नियम कानुन र खेलको नियमअनुसार छानबिन हुनुपर्ने बताउँदै चोचो मोचोको समय गुज्रिसकेको बताएका छन् । ‘युवा तथा खेलकुद मन्त्रालय र राखेप जस्तो सबै खेलहरुलाई नियमन गर्ने निकायमा बिषय पठाइसकेपछि नियम कानुन र खेलको नियम अनुसार हुनु पर्दछ । चोचो मोचोको समय गुज्रिसकेको छ,’ उनले भनेका छन् ।
पूर्वप्रवक्ता राईले आफूले बयान दिएको र प्रतिवेदनले के बोल्छ त्यसको प्रतिक्षामा रहेको बताउँदै प्रतिवेदन सार्वजनिक गर्न समितिसमक्ष जोडदार माग गरे ।
‘युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद् जस्तो सबै खेलहरुलाई नियमन गर्ने निकायमा विषय पठाइसकेपछि नियम कानुन र खेलको नियमअनुसार हुनुपर्दछ । चोचो मोचोको समय गुज्रिसकेको छ । छानविन समितिले हामीसँग पनि बयान लिएपछि अब प्रतिवेदनले के बोल्छ त्यसैको ब्यग्र प्रतिक्षामा छु । म प्रतिवेदन सार्वजनिक होस् भन्ने जोडदार माग गर्दछु,’ उनले भने ।न्युज कारखानाबाट

प्रकाशित मिति : ४ भाद्र २०७८, शुक्रबार  ३ : १५ बजे