१५ माघ २०८२, बुधबार | Wed Jan 28 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


पपुवा न्युगिनीविरुद्धको एकदिवसीय क्रिकेटमा नेपाल विजयी   



२२ भदौं ०७८, काठमाडौँ। पपुवा न्युगिनीविरुद्धको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल विजयी भएको छ । केहीबेर अघि सम्पन्न खेलमा नेपालले पपुवा न्युगिनीलाई दुई विकेटले पराजित गरेको हो ।

ओमानको अल अमिरात क्रिकेट मैदानमा पपुवा न्युगिनीले टस जितेर ब्याटिङ रोजेपछि नेपालले फिल्डिङ गर्नुपरेको थियो । पपुवा न्युगिनीले निर्धारित ५० ओभरको खेलमा ३३ ओभरमा सबै विकेट गुमाएर १३४ रन बनायो । नेपालले १३५ रनको विजयी लक्ष्य ३९ दशमलव तीन ओभरमा आठ विकेट गुमाउँदै पूरा ग¥यो । नेपालका लागि रोहितकुमार पौडेलले सर्वाधिक ४१ रन बनाए । उनले ६५ बल खेल्दै दुई चौका प्रहार गर्नुभयो । यस्तै प्रारम्भिक ब्याटस्म्यान आशिफ शेखले ३० रनको योगदान दिए । उनले ४६ बलमा चार चौका हाने ।

नेपाली टोली सङ्कटमा परेको समयमा ब्याटिङ गर्न आएका सोमपाल कामीले ३२ बलमा २२ रन बनाए । सो क्रममा उहाँले एक एक छक्का र चौका प्रहार गरे ।  यस्तै कुशल भुर्तेलले १५ रन बनाए । बलिङतर्फ पपुवा न्युगिनीका गौडी टोकाले तीन, डामिन राभु र चाड सोपरले दुई/दुई तथा नोसिना पोकानाले एक विकेट लिए ।

यसअघि नेपालका लेग स्पिनर सन्दीप लामिछानेले पपुवा न्युगिनीका ब्याटस्म्यानलाई खुलेर खेल्न दिएनन् ।  उनले कसिलो बलिङ गर्दै चार विकेट लिनुभयो । लामिछानेले १० ओभर बलिङ गर्दै ३५ रन खर्चिनुभयो । पपुवा न्युगिनीका लागि लेगा सिकाले सर्वाधिक ३० रन बनाए । यस्तै चाल्र्स अमिनीले २३, गौडी टोकाले २२, चाड सोपरले अविजित १७, किप्लिन डोरिगाले १५, सेसे बाउले १४ र कप्तान असाद भालाले चार रन मात्र बनाए । टोनी उरा र नोसिना पोकाना एक/एक रनमा समेटिए भने जासन किला र डामिन राभु रन नबनाई पेभेलियन फर्किए ।

बलिङतर्फ नेपालका विक्रम सोब र कुशल मल्लले दुई/दुई विकेट लिए । आजको खेलमा अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाली टोलीबाट डेब्यू गरेका सोबले पहिलो बलमै विकेट लिएका थिए । उनले पपुवा न्युगिनीका प्रारम्भिक ब्याटस्म्यान टोनी उरालाई पेभेलियन फर्काए ।  यस्तै सोमपाल कामीले एक विकेट लिए ।

आइसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमान र अमेरिकासँगको त्रिकोणात्मक एकदिवसीय सिरिजअघि नेपालले पपुवा न्युगिनीसँग दुई एकदिवसीय खेल खेल्न लागेको हो ।

प्रकाशित मिति : २२ भाद्र २०७८, मंगलबार  ६ : ०४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।