९ माघ २०८१, बुधबार | Thu Jan 23 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


आजदेखि न्यादी हाइड्रोपावरको आइपिओ बिक्री खुला




१५ असोज ०७८, काठमाडौं । न्यादी हाइड्रोपावर लिमिटेडले आजदेखि सर्वसाधारणका लागि साधारण सेयर बिक्री खुला गरेको छ । कम्पनीले प्रतिकित्ता रु १ सय अङ्कित मूल्यमा रु २२ करोड ५० लाख बराबरको २२ लाख ५० हजार कित्ता प्रारम्भिक सार्वजनिक निष्काशन (आइपिओ) निष्काशनमा ल्याएको हो ।
कम्पनीले निष्काशन गर्ने साधारण सेयरमध्ये पाँच प्रतिशत अर्थात् एक लाख १२ हजार ५सय कित्ता सामूहिक लगानी कोषलाई बाँडफाँट गरेको र दुई प्रतिशत अर्थात् ४५ हजार कित्ता सेयर कर्मचारीलाई सुरक्षित गरिएको छ । बाँकी रहने २० लाख ९२ हजार ५ सय कित्ता सेयर खरिदका लागि सर्वसाधारणले आज बंैकिङ समयदेखि आवेदन दिन पाउनेछन् ।
निष्काशन गरेका सेयरमा सर्वसाधारणले यही असोज १९ गतेसम्म न्यूनतम १० देखि अधिकतम ५० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । सो अवधिसम्म माग गरिएबमोजिम आवेदन नआए असोज ३१ सम्म निष्काशन खुला हुने विवरणपत्रमा उल्लेख छ ।
कम्पनीले हाल लमजुङको मस्र्याङ्दी गाउँपालिकामा कूल ३० मेगावाट क्षमताको न्यादी जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । आयोजना निर्माणको कूल अनुमानित लागत रु छ अर्ब ११ करोड ७७ लाख ५५ हजार ५५ र प्रतिमेगावाट लागत निर्माण अवधिको ब्याजसहित रु २० करोड ३९ लाख २५ हजार १ सय ८६ दशमलव पाँच हुने कम्पनीले जनाएको छ ।
सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट सिआस्वा सुविधा प्रदान गर्न अनुमति पाएका सबै बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट सेयरमा आवेदन दिन सक्नेछन् । साथै अनलाइनमार्फत ‘मेरो सेयर’ प्रयोग गरेर पनि आवेदन दिन सकिने कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ ।
धितोपत्रको सार्वजनिक निष्काशन गर्दा रेडिङ गर्नुपर्ने प्रावधानअनुसार केयर रेटिङ नेपालले कम्पनीलाई ‘केयरएनपी बिबी इस्युअर’ ग्रेडिङ प्रदान गरेको छ । रेटिङअनुसार कम्पनीको हालको अवस्था दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको भन्ने बुझिन्छ ।
कम्पनीले आफ्नो जारी पूँजी रु एक अर्ब ५० करोडको प्रतिसेयर रु १ सय अङ्कित दरले हुने एक करोड ५० लाख कित्ता शेयरमध्ये १५ प्रतिशत अर्थात् २२ लाख ५० हजार कित्ता सार्वजनिक निष्काशनका निमित्त छुट्याएको थियो । आयोजना प्रभावित क्षेत्र लमजुङका बासिन्दाका लागि छुट्याइएको रु १ सय अङ्कित मूल्यका १५ लाख कित्ता सेयर र संस्थापक सेयरधनी संस्थाका कर्मचारीका लागि छुट्याइएको तीन लाख कित्ता सेयर गरी १८ लाख कित्ता सेयर गत भदौ १ देखि निष्काशन खुला गरिएको र त्यसको बाँडफाँटसमेत भइसकेको छ ।

प्रकाशित मिति : १५ आश्विन २०७८, शुक्रबार  ९ : २५ बजे