२४ फाल्गुन २०८२, आइतबार | Sun Mar 8 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Uncategorized


आज बडादसैँको महाअष्टमी पर्व भव्यताका साथ मनाइदै



२७ असोज ०७८, काठमाडौं । आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज नेपालीले बडादसैँका रूपमा दुर्गा भवानीको विशेष पूजा आराधना गरी भव्य रूपमा मनाउँदैछन् ।
बडादसैँको आठौँ दिन आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजा आराधना गरिन्छ । महाअष्टमीको दिन दुर्गा भवानीलाई शक्तिशाली बनाउने दिन भएकाले यसको विशेष महत्व छ । आजको दिन शास्त्रसम्मतरूपमा दसैँघर, कोतलगायत राज्यका विभिन्न शक्तिपीठमा पशु बलि दिई दुर्गा भवानीको विशेष पूजा गरिन्छ । दुर्गा सप्तशती, श्रीमद्देवीभागवत र देवी स्तोत्र पाठ गरिन्छ ।
विवेकशील र अविवेकशील प्राणी दुवैले मोक्ष प्राप्तिको चाहना गर्ने हुनाले देवमन्दिर र यज्ञ यज्ञादिमा विधिपूर्वक बलि दिनाले ती पशुले मोक्ष प्राप्त गरी माथिल्लो योनीमा जन्म लिने कुरा शास्त्रमा वर्णन गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्रा डा रामचन्द्र गौतम बताउछन् ।“सात्विक, राजस र तामस तीन किसिमका पूजाको वर्णन शास्त्रमा गरिएको छ, सात्विक जल, चन्दन, र अक्षतालगायत षोडशोपचारले गरिने पूजा हो, सात्विक र पशु बलिसहितको पूजालाई राजस पूजा भनिन्छ, राजसका साथै मदिरा पनि चढाएर गरिने पूजालाई तामस पूजा भनी शास्त्रमा परिभाषित गरिएकाले पशुबलि पनि शास्त्रीय हो”, उनीले भन्छन् ।
ब्राह्मणका लागि भने पशु बलि बर्जित गरिएको छ । आसुरी प्रवृत्तिको नाश गर्न देवीलाई शक्तिशाली बनाई पशुको मुक्तिका लागि पनि पशु बलिको महत्व रहेको धर्मशास्त्रविद्को भनाइ छ । दुर्गा सप्तशती चण्डीको आठौँ अध्यायमा पनि यससम्बन्धी चर्चा भएकाले पशु बलिलाई अशास्त्रीय भन्न नमिल्ने डा गौतम बताउछन् ।

माता नवदुर्गाको प्रतिमालाई अन्तिमरुप दिँदै कालीगढ । फाइल तस्वीर : सन्जीत मण्डल

“राज्य सञ्चालकले त प्रभु शक्ति, मन्त्र शक्ति र उत्साह शक्तिका लागि पशुबलि विधिपूर्वक दिनैपर्छ भन्ने शास्त्रीय वचन छ”, उनले भने । यी तीनवटा शक्ति दुर्गा भवानीबाट मात्र प्राप्त गर्न सकिन्छ । यसै कारण आजको दिन विधिपूर्वक पशुबलि दिइने गरिएको हो । आजैका दिन राति कालरात्रिका रूपमा पशु बलिको विधि र पूजा आरधनासहित मनाउने गरिन्छ । कालरात्रिको पूजा विधि र सङ्कल्पसमेत छुट्टै हुने भएकाले यसको विशेष महत्व छ । ब्राह्मणले भने कालरात्रि पूजा पनि गर्न नपर्ने विधान छ ।
आजका दिन उपत्यकाभित्रका शक्तिपीठ गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, भद्रकाली, नक्साल भगवती, शोभा भगवती, विजेश्वरी, इन्द्रायणी, रक्तकाली, वज्रयोगिनी, सङ्कटा, बज्रवाराही, दक्षिणकाली, चामुण्डा, सुन्दरीमाईलगायत मन्दिरहरुमा पनि बलिसहित पूजाआजा गर्नेको बिहानैदेखि भीड लाग्ने गर्छ ।
यसैगरी उपत्यका बाहिरका गोरखाको मनकामना, पर्साको गहवामाई, सप्तरीको छिन्नमस्ता भगवती, धनुषाको राजदेवी, डढेलधुराको उग्रतारा, काभे्रपलाञ्चोकको चण्डेश्वरी, नाला भगवती र पलाञ्चोक भगवती, सिन्धुपाल्चोकको पाल्चोक भगवती, दोलखाको कालीञ्चोक भगवती, ताप्लेजुङको पाथीभरालगायतका शक्तिपीठमा पनि बलिसहित पूजा आराधना गर्ने श्रद्धालु भक्तजनको घुँइचो लाग्दछ ।
आजको दिन कलपूर्जा, हातहतियार र सवारी साधनलाई विशेषरूपमा सरसफाइ गरी देवी स्थापना गरिएको स्थानमा राखी पशु बलिसहित पूजाआजा गर्ने गरिन्छ । यी साधनलाई देवीको शस्त्रअस्त्रका रूपमा मानी पूजा गर्ने गरिएको हो ।
देवीका शस्त्रअस्त्रसहित चतुरङ्गिणी सेनाको पनि आह्वान गरी पूजा गर्ने गरिन्छ । पशु बलि नचढाउनेले भने आज पूजा कोठामा आआफ्नो कूल परम्पराअनुसार काँक्रो, घिरौँला, कुभिण्डो, मूला र नरिवल आदि बलि चढाई पूजाआजा गर्ने गर्दछन् ।
महाअष्टमीका दिन राति हनुमानढोकाको दसैँघरमा राज्यका तर्फबाट ५४ बोका र ५४ राँगाको बलिसहित कालरात्रि पूजा गरिन्छ ।

प्रकाशित मिति : २७ आश्विन २०७८, बुधबार  ५ : ४८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।