६ आश्विन २०८१, आइतबार | Sun Sep 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


एमाले महाधिवेशनमा विशाल मञ्च निर्माण हुने, २० वटा डिस्प्ले राखिने



एमाले महाधिवेशन स्थल ।

कुलप्रसाद काफ्ले
३ मंसिर ०७८, चितवन । नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्र हुने स्थान नारायणी नदी किनारमा मञ्च निर्माणको काम धमाधम भइरहेको छ । बाढीले खाल्टाखुल्टी पारेको ठाउँमा माटो भरेर जमिनको सतह मिलाइँदै छ ।
महाधिवेशनमा लाखौँ जनता सहभागी हुने भएकाले नारायणगढस्थित नदी किनारको उत्तरपट्टि कुनामा थुप्रिएको ढुंगालाई पनि डोजरको सहायताले समथर बनाउने काम भइरहेको छ । यस ठाउँमा चार खण्डमा मञ्च निर्माण हुने एमालेले जनाएको छ ।
चितवनमा १०–१२ मंसिरसम्म हुने महाधिवेशनको उद्घाटन सत्र १० मंसिरमा नारायणी नदी किनारमा हुने भएको हो । प्रमुख अतिथि एमाले अध्यक्ष केपी ओलीसहित स्थायी कमिटीका सदस्य र अतिथि बस्ने मुख्य मञ्च बीच भागमा हुने छ । त्यसको छेउमा भाषण गर्नका लागि छुट्टै खण्डको मञ्च बन्ने छ ।

मुख्य मञ्चको छेउमा केन्द्रीय सदस्य बस्ने र कलाकारले प्रस्तूति देखाउन छुट्टाछुट्टै मञ्च निर्माण हुने एमाले केन्द्रीय सदस्य एवं महाधिवेशन स्वयम्सेवक परिचालन कमिटीका संयोजक विनोद श्रेष्ठले जानकारी दिए । ‘महाधिवेशनका लागि चार खण्डमा भव्य मञ्च निर्माण गर्दै छौँ । त्यसको लागि बुधबारदेखि खाल्टाखुल्टी पुर्ने काम भइरहेको छ’, उनले भने ।
९ मंसिरको साँझसम्म मञ्च निर्माण सम्पन्न भइसक्ने उनको भनाइ छ । एक पटकमा ७२ जना कलाकार सहभागी हुन मिल्ने गरी कलाकारका लागि मञ्च निर्माण हुने उनले बताए । ७२ जना कलाकारको आर्केष्टा (धुन दिने उपकरण)बाट राष्ट्रिय गानको धुन बजाइने उनले जानकारी दिए ।
मञ्च निर्माणमा अहिले ५० जना स्वयंसेवक खटिएका छन् । जमिनको सतह मिलाइ सकेपछि प्राविधिकसहितको स्वयंसेवकको संख्या बढ्ने उनले बताए । मुख्य मञ्चबाट ४० फिट टाढा सहभागीलाई राखिने छ ।
महाधिवेशनको उद्घाटन सत्रमा सहभागी हुनेलाई नारायणी नदीको दुवै किनारमा राखिने भएको छ । चितवनतर्फ पर्ने नदी किनारमा डेढ लाख कार्यकर्ता मात्रै सहभागी हुन सक्ने श्रेष्ठ बताउँछन् ।
‘मञ्च निर्माण हुने नदी किनारमा डेढ लाख अटाउलान् । त्यसो भएकाले सहभागीलाई चितवन र नवलपुर दुवै तर्फको नदी किनारमा राख्छौँ,’ उनले भने, ‘टाढा बस्नेका लागि डिस्प्ले बोर्ड राख्छौँ । सहभागी आउने÷जाने पनि भइरहने हुनाले पाँच लाख जनालाई व्यवस्थापन गर्न सकिन्छ भन्ने विश्वास छ ।’
महाधिवेशन स्थल र बजारका मुख्य चोक पुलचोक, लायन्सचोक लगायतका चोकमा गरी २० वटा डिस्प्ले बोर्ड राखिने उनले बताए । त्यसबाट सहभागीले बजारबाट पनि लाइभ कार्यक्रम हेर्न सक्ने उनको भनाइ छ । मञ्चमा राखिने साउण्ड सिस्टम र टेन्ट कहाँबाट ल्याउने भनेर अझै यकीन नभएको उनी बताउँछन् ।
महाधिवेशन उद्घाटन सत्र हुने दिनमा नदी किनारमा सञ्चालित ठेला व्यवसायहरु बन्द हुने भएका छन् । चितवनतर्फको नदी किनारमा अहिले ५० भन्दा बढी ठेला व्यवसाय सञ्चालनमा छन् । ठेला व्यवसाय यथास्थितीमा सञ्चालन हुँदा सहभागीलाई ठाउँ नपुग्ने भएकाले एक दिनको लागि व्यवसाय बन्द गर्न आग्रह गरिने उनले बताए ।

महाधिवेशनको उद्घाटन सत्र सम्पन्न भएपछि कार्यक्रम स्थलमा हुने फोहोर व्यवस्थापन स्वयम पार्टीले नै गर्ने उनले जानकारी दिए । फोहोर टिप्नका लागि पनि स्वयमसेवक खटाइने भएको छ । न्युज कारखाना

प्रकाशित मिति : ३ मंसिर २०७८, शुक्रबार  १० : १७ बजे