६ आश्विन २०८१, आइतबार | Sun Sep 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


सुरक्षा निकायको क्षमता अभिवृद्धि सरकारको विशेष प्राथमिकता : प्रधानमन्त्री   



९ मंसिर ०७८,काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सुरक्षा निकायको व्यावसायिक दक्षता र क्षमता अभिवृद्धिलाई सरकारले विशेष प्राथमिकता दिएको बताएका छन् ।

राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानद्वारा काठमाडौँमा आज आयोजित सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिमको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले सुरक्षा निकायलाई सबल बनाउन सके मात्रै मुलुक र नागरिकको सुरक्षा हुनेमा जोड दिए । शान्ति, सुरक्षा, विकास निर्माण र सुशासनको आधारशीला भएको उल्लेख गर्दै उनले मुलुकको अस्तित्व जोगाउन तथा नागरिकको सुरक्षित जीवन सम्भव बनाउन सबल र सुदृढ आन्तरिक तथा बाह्य सुरक्षा प्रबन्ध आवश्यक भएको बताए ।

“सरकारले मुलुकमा शान्ति, सुरक्षा र अमनचयन कायम गर्न विशेष जोड दिँदै आएको छ”, प्रधानमन्त्री देउवाले भने । राष्ट्र र जनताप्रति अनुशासित, इमान्दार, व्यावसायिक र उत्पादनशील भएर काम गर्न उनले सशस्त्र प्रहरीलाई निर्र्देशन दिए । प्रधानमन्त्री देउवाले सीमा अपराध नियन्त्रणलगायत राष्ट्रियता तथा मुलुकको अस्मिता जोगाउन अग्रपङ्क्तिमा खटिएर काम गर्दैआएकामा सशस्त्र प्रहरीको प्रशंसा गरे ।

नेपालको सुरक्षा निकाय आतङ्कवाद र सीमा अपराध नियन्त्रण गर्न सक्षम रहेको उनको भनाइ थियो । प्रधानमन्त्री देउवाले भूकम्प र कोभिड–१९ जस्ता सङ्कट र विपद् व्यवस्थापन तथा पुनःस्थापनाका लागि सशस्त्र प्रहरीले गरेको काम अनुकरणीय रहेको स्मरण गरे । उनले वर्तमान सरकार विधिको शासन स्थापना गर्न, संविधानको भावना र मर्मअनुसार जनताको नैसर्गिक अधिकारको संरक्षण, भ्रष्टाचारमुक्त समाज निर्माण, भाइचारा र सहअस्तित्व कायम राख्दै सबै जातजाति, भाषाभाषी, लिङ्ग, वर्ण र समुदायको सर्वाङ्गिण विकास गर्न दृढ सङ्कल्पित रहेको उल्लेख गरे ।

समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले प्रधानमन्त्री देउवाको निर्देशन अक्षरसः पालना गर्ने प्रतिबद्धता जनाउँदै नेपाल सरकारबाट सशस्त्र प्रहरीलाई स्रोत साधन उपलब्ध गराउन तथा क्षमता अभिवृद्धि गर्न सहयोग प्राप्त हुने विश्वस व्यक्त गरे ।
सो अवसरमा दीक्षित सशस्त्र प्रहरीले प्र्रतिष्ठानका कार्यकारी निर्देशक खड्गबहादुर राईबाट शपथ लिएका थिए । पन्ध्र महिने तालिम सकाएर चार महिलासहित ५८ सशस्त्र प्रहरी निरीक्षक दीक्षित भएका छन् । प्रशिक्षण अवधिभर विभिन्न क्रियाकलापमा सहभागी भई उत्कृष्ट भएका प्रशिक्षार्थीलाई सो अवसरमा पुरस्कारसमेत वितरण गरिएको थियो ।

प्रशिक्षण अवधिभर प्रशिक्षार्थी सशस्त्र प्रहरी निरीक्षक प्रमोद विष्ट पहिलो, सहिष्णुता विधातर्फ प्रकाशकुमार शाही, कवाज विधातर्फ चन्द्रबहादुर लामा र चाँदमारी विधातर्फ सन्दीप भट्ट उत्कृष्ट भइ पुरस्कृत भएका थिए । सो अवसरमा सशस्त्र प्रहरीद्वारा कवाज, ब्याण्ड र खुकुरी ड्रिल, नृत्य तथा झाँकी प्रदर्शन गरिएको थियो । समारोहमा सशस्त्र प्रहरीले दीक्षान्त कवाजद्वारा प्रधानमन्त्री देउवालाई सलामी अर्पण गरेको थियो ।

प्रकाशित मिति : ९ मंसिर २०७८, बिहिबार  २ : ४४ बजे