६ आश्विन २०८१, आइतबार | Mon Sep 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


शशांक र विमलेन्द्रले भने,‘कांग्रेस एक्लै चुनाव लड्छ’




१६ मंसिर ०७८, जनकपुरधाम । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधी र नेता शंशाक कोइरालाले कांग्रेसले तीनै तहको चुनाव एक्लै लड्ने बताएका छन् ।
बिहीबार जनकपुरमा कांग्रेस प्रदेश २ को प्रथम अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उपसभापति निधीले बहुतको सरकारको लागि कांग्रेसले तीनै तहमा एक्लै चुनाव लड्नुपर्ने बताए । संविधान र संघीय लोकतान्त्रिक व्यवस्थालाई संस्थागत गर्न कांग्रेसले सरकारको नेतृत्व गर्नुपर्ने बताउँदै उपसभापति निधीले भने, ‘यदि हामी अन्य पार्टीसँग चुनावमा सहकार्य गरेर गयौ भने कांग्रेसको सिट कम हुन जान्छ । यस्तोमा कांग्रेसले चुनावमा बहुमत ल्याउन सक्दैन । त्यसैले प्रतिनिधि सभाको १६५ सिट, प्रदेश सभाको ३३० सिट, पालिकाको ७५३ सिट र वडाको ६ हजार ७४३ वटै सिटमा कांग्रेसले एक्कै उम्मेदवारी दिनुपर्छ ।’
कांग्रेसको लागि मधेस उर्वराभूमि रहेको निधीले बताए । कम्युनिस्ट वा कथित मदेसवादी दलहरूले लामो संघर्षबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्न नसक्ने निधीको दाबी छ ।
‘नेपालको हरेक राजनीतिक परिवर्तनको अगुवाइ कांग्रेसले गरेको छ । संघीय लोकतान्त्रिक व्यवस्थाको संस्थागत पनि कांग्रेसले मात्रै गर्न सक्छन् । त्यसकारण हामी अन्य पार्टीभन्दा कांग्रेस जनताप्रति बढी जबाफदेही छौं,’ उनले भने । पार्टीको १४औं महाधिवेशन निर्वाचनको महाधिवेशन रहेकोले यो महाधिवेशनबाट पार्टीको कुनै नीति तथा कार्यक्रम वा कुनै प्रस्ताव पास नहुने उपसभापति निधीले बताए ।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आगामी निर्वाचनमा गठबन्धनको संकेत गरेका छन् । पोखरामा गण्डकी प्रदेश अधिवेशनको उद्घाटनलाई सम्बोधन गर्दै उनले नयाँ संविधानपछि कसैले पनि बहुमत ल्याउने अवस्था नभएकोले मन मिल्नेहरूसँग गठबन्धन आवश्यक रहेको बताए ।
‘कम्युनिष्ट पार्टीमा एकथरी पृथक अस्थित्व बनाएर बसेका छन् । केपी ओलीहरू एकातिर छन् । परिस्थितिले उनीहरू फेरि एकैतिर खनिने अवस्था भए कस्तो होला ? अहिले मैले सम्झाउन जरुरी छ । हामी एकोरिँदै गयौं भने गएकै चुनावको ठाउँमा पुगौंला,’ उनले भने, ‘गएको चुनावमा के भयो ? सबै एकातिर हामी अर्काेतिर । परिणाम के भयो ? अहिलेको अहिले नै बिर्सने ?’
उनले कसैले एकल बहुमत ल्याउन नसक्ने बताए । ‘अहिले जे संविधान बनाएका छौं, यो संविधानले समावेशी व्यवस्था ल्याएका छौं । सितिमिती कुनै पार्टीको एब्सुलुट मेजोरिटी आउँदैन । पूरा बहुमत ल्याएर कसैले सरकार चलाउन धेरै कठिन छ । अरूसँग नमिलिकन सम्भव छैन,’ उनी अघि भन्छन्, ‘जसरी शेरबहादुरजी अहिले प्रधानमन्त्री बन्नुभएको छ, उहाँ एक्लै कांग्रेसको मात्र हो र ? यो कुरालाई ध्यान दिनुहोस् । भोलिको चुनावमा पनि कांग्रेसलाई एक्ल्याउने कुरा नगरम । कांग्रेसलाई आईसोलेसनमा पु¥याउने कुरा नगरौं ।’
यसअघि बोल्दै कांग्रेस महामन्त्री डा. शशांक कोइरालाले कांग्रेस आगामी चुनावमा कसैसँग नमिल्ने बताएका थिए । ‘आउँदो निर्वाचनमा तिक्तता नहोस् । कांग्रेसले कसैसँग मिल्नु हुँदैन । कसैसँग नमिलेर हामी एक्लै हिड्नुपर्छ । र हामी विजय हासिल गर्छौं । त्यो अठोट हामीसँग हुनुपर्छ,’ उनले भने ।

कोइरालाले पार्टीलाई बहुमत दिलाउन नेता कार्यकर्तासँग आग्रह गरेका थिए ।
पार्टीका केन्द्रीय सदस्य तथा प्रदेश २ का अधिवेशन संयोजक रमेश रिमालको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा कांग्रेस कोषाध्यक्ष सितादेवी यादव, पूर्व कोषाध्यक्ष चित्रलेखा यादव, केन्द्रीय सदस्य आनन्द ढुंगाना, महेन्द्र यादवलगायतकाले मन्तव्य राखेका थिए । न्युज कारखाना

 

प्रकाशित मिति : १६ मंसिर २०७८, बिहिबार  ८ : २४ बजे