७ आश्विन २०८१, सोमबार | Mon Sep 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


पुनःनिर्माणका दस्तावेज विपद् जोखिम न्यूनीकरणमा ज्ञानका भण्डार : राष्ट्रपति   



२२ मंसिर ०७८, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले तयार पारेका दस्तावेज विपद् जोखिम न्यूनीकरणमा ज्ञानका भण्डारका रुपमा काम गर्ने बताएकी छन् ।भूकम्पपछिको पुनःनिर्माणका क्रममा नेपालले प्राप्त गरेको अनुभव र सिकाइका बारेमा अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउन आयोजित अन्तर्राराष्ट्रिय सम्मेलन उद्घाटन समारोहलाई आज सम्बोधन गर्दै उनले सफलता, सिकाइ र अनुभवबाट उठेर विपद्मुक्त मुलुक बनाउन आह्वान गरिन् ।

विसं २०७२ वैशाख १२ र २९ गतेको भूकम्प एवं पटक–पटकका परकम्पले नेपालीलाई विपद्मा पार्नाका साथै पाठसमेत सिकाएको राष्ट्रपति भण्डारीले बताइन् । भूकम्पले नभई निर्माण भएका कमजोर संरचनाले क्षति गर्ने भएकाले बलियो पूर्वाधार निर्माण गर्ने अवसरका रुपमा पुनःनिर्माण अवधि उपयोग भएको विश्वास उनले व्यक्त गरिन् ।
“भूकम्पपछि विद्यालय, स्वास्थ्य संस्था, सांस्कृतिक सम्पदा र निजी आवास कहिल्यै नढल्ने गरी बनाउने सङ्कल्प गरेअनुसार काम भएको छ, बाँकी कामलाई पनि अब सम्बन्धित निकायले तोकिएको समयमै सिध्याउनुपर्छ, भूकम्पपछि दुई महिनामै क्षतिको आङ्कलन गर्न सफल भएजस्तै अहिले पुनःनिर्माण पनि सफल भएको छ,” उनले भनिन् ।
साढे छ वर्षअघिको भूकम्पले क्षतिग्रस्त संरचनाको पुनःनिर्माण महाअभियान २०७२ माघ २ गते सुरु भएको थियो । कार्यक्रममा परराष्ट्रमन्त्री डा.नारायण खड्काले समुदायले स्वामित्व लिने गरी पुनःनिर्माणका काम भएकाले दिगो हुने विश्वास व्यक्त गरे। विद्यालय, स्वास्थ्य संस्था, सांस्कृतिक सम्पदाजस्ता संरचना पुनःनिर्माणमा प्राथमिकता दिएर काम भएअनुसार परिणाम प्राप्त भएको उनको भनाइ थियो ।

अर्थमन्त्री जनार्दन शर्माले भूकम्पपछिको पुनःनिर्माण ९० प्रतिशत सम्पन्न भएको उल्लेख गर्दै निर्माण प्रविधि र क्षमतामासमेत वृद्धि भएको बताए । भूकम्पले क्षति भएका निजी आवास यसै वर्ष पुनःनिर्माण सम्पन्न गर्ने गरी सहरी विकास मन्त्रालयलाई जिम्मेवारी हस्तान्तरण गरिएको जानकारी पनि उनले दिए ।

श्रव्यदृश्य सन्देशमार्फत भारतीय विदेशमन्त्री एस जयशङ्करले साढे छ वर्षअघिको भूकम्पले क्षति पुगेका २८ वटा सांस्कृतिक सम्पदा पुनःनिर्माणमा भारतले सहयोग गरेको बताए। विद्यालय भवन, स्वास्थ्य संस्था र पुस्तकालय पुनःनिर्माणमा पनि भारतले सहयोग गरेको उनले सुनाए ।

श्रव्यदृश्य सन्देशमार्फत नै चिनियाँ विदेश मामिलामन्त्री वाङ यिले भूकम्पको लगत्तैपछिदेखि उद्धार, राहतका समयदेखि नै चीन नेपालको साथमा रहेको उल्लेख गर्दै पुनःनिर्माण सहयोग मिलेको बताए। कार्यक्रममा जापानका संसदीय एवं विदेश मामिला र उपमन्त्री होण्डा तारो, एशियाली विकास बैंकका उपाध्यक्ष सिजिन चेन, युरोपियन युनियन विपद् व्यवस्थापनका आयुक्त जनेज लेनार्किकलगायत विकास साझेदार संस्थाका प्रतिनिधिले नेपालमा भूकम्पपछिको पुनःनिर्माण सफल रुपमा अघि बढेको बताएका थिए ।

सम्मेलनमा नेपाल पुनः निर्माण प्राधिकरणका सचिव सुशीलचन्द्र तिवारीले विश्वका विभिन्न देशका ७०० प्रतिनिधि जुम प्रविधिमार्फत् सहभागी भएको जानकारी दिए । दक्षिण अफ्रिकाबाट फैलिएको कोरोना भाइरसको नयाँस्वरुप ओमिक्रोनका कारण थोरै मात्र विदेशी विज्ञ भौतिक रुपमा सम्मेलनमा उपस्थित भएका छन् । नेपालस्थित विभिन्न देशका कूटनीतिक नियोगका प्रतिनिधि एवं पर्यवेक्षक गरी १०० जना विदेशी नागरिक पनि भौतिक रुपमा ह्यात होटलमा जम्मा भएका छन् ।

सम्मेलनमा उद्घाटन र समापनसहित २० वटा सत्र रहनेछन् । ‘पुनःनिर्माणबाट उत्थानशीलतातर्फ’ भन्ने नाराका साथ आयोजना गरिने सम्मेलनमा निजी आवास, सांस्कृतिक सम्पदा, सार्वजनिक पूर्वाधार पुनःनिर्माण, जीविकोपार्जन तथा आर्थिक पुनःस्थापना र सुशासनका विभिन्न पक्षमा गरिएका अनुसन्धानमूलक प्रस्तुतिका साथै विषयगत गोष्ठीसमेत आयोजना गरिनेछ ।

प्रकाशित मिति : २२ मंसिर २०७८, बुधबार  ५ : ५८ बजे