७ आश्विन २०८१, सोमबार | Mon Sep 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


माओवादीको प्रदेश समितिमा नौ पदाधिकारी   



२३ मंसिर ०७८, काठमाडौं। नेकपा (माओवादी केन्द्र) ले प्रदेश समितिको पदाधिकारी र सदस्यको संख्या बढाउने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको स्थायी समिति बैठकले प्रदेश समितिको पदाधिकारी सङ्ख्या नौ बनाउने निर्णय गरेको हो ।
बैठकले प्रदेश समिति एक अध्यक्ष, तीन उपाध्यक्ष, एक सचिव, तीन सहसचिव र कोषाध्यक्ष एक गरी नौ सदस्यीय हुने निर्णय गरेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए । यसअघि प्रदेश समितिमा सात सदस्यीय पदाधिकारी रहने व्यवस्था थियो ।

प्रदेश समितिको संख्या बढाउने निर्णय पनि भएको उनले बताए। “यसअघि प्रदेश समिति न्यूनतम् १७५ सदस्यीय हुने व्यवस्था थियो, तर त्यति सङ्ख्याले मात्र नपुग्ने भएकाले प्रदेश र सङ्घीय निर्वाचन क्षेत्रलाई आधार बनाएर थप्ने निर्णय भएको छ”, उनले भने ।

१ नं प्रदेशमा २५९, २ नं प्रदेशमा २७१, वाग्मतीमा २७५, गण्डकीमा २२९, लुम्बिनीमा २५३, कर्णालीमा २११ र सुदूरपश्चिम प्रदेशमा २२३ सदस्यीय समिति हुनेछ ।

पछिल्ला समय अन्य पार्टीबाट माओवादीमा प्रवेश गर्नेको सङ्ख्या बढ्दै गएको भन्दै पार्टी प्रवेश गर्नेको सन्दर्भमा अध्ययन गर्न नेता देवप्रसाद गुरुङको संयोजकत्वमा नेता गिरिराजमणि पोखरेल र पार्टी कार्यालयका मुख्यसचिव श्रीराम ढकाल सदस्य रहेको कार्यदल बनाइएको उनले बताए ।

“पार्टी प्रवेश गर्ने व्यक्तिले यसअघि कुन पार्टीमा कस्तो जिम्मेवारी सम्हाल्नुभएको हो, त्यसका बारेमा अध्ययन गर्ने र कस्तो राजनीतिक र साङ्गठनिक जिम्मेवारी दिने भन्ने विषयमा कार्यदलले अध्ययन गर्नेछ”, उनले भने ।

बैठकले पार्टीमा महिला प्रतिनिधित्व वृद्धि गर्न महिला विभाग गठन गर्ने निर्णय गरेको छ । विभागको प्रमुखमा पम्फा भुसाललाई तोकिएको छ । विभागलाई छिट्टै पूर्णता दिने निर्णय भएको उनले बताए । माओवादीले यसअघि विभिन्न ३४ वटा विभाग गठन गरिसकेको छ ।

प्रकाशित मिति : २३ मंसिर २०७८, बिहिबार  ५ : ४७ बजे