७ आश्विन २०८१, सोमबार | Mon Sep 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


नेपाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवा विजयी



२९ मंसिर ०७८, काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पार्टीको १४औँ महाधिवेशनबाट सभापति पदमा पुनः विजयी भएका छन् । सभापतिका लागि मङ्गलबार भएको पुनः मतदानबाट उनी विजयी भएका हुन् । देउवा दोस्रो कार्यकालका लागि सभापतिमा विजयी भएका हुन् ।

सभापति देउवा प्रतिस्पर्धी डा शेखर कोइरालालाई ८ सय ७८ मतान्तरले पाराजित गर्दै विजयी भएका हुन् । मङ्गलबार राति सम्पन्न मतगणनामा जम्मा खसेको मत ४ हजार ६ सय २३ मा देउवाले २ हजार ७ सय ३३ मत प्राप्त गरेका थिए भने डा कोइरालाले १ हजार ८ सय ५५ मत प्राप्त गरेका पार्टीको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । जम्मा ३५ मत बदर भएको थियो ।

दिउँसो ३ः३० बजेदेखि सुरु भएको मतदान राति ९ बजे सम्पन्न भएको थियो । मतदानमा कुल चार हजार ७ सय ४३ मतदातामध्ये चार हजार ५ सय ७४ ले मतदान गरेका थिए । सोमबार भएको निर्वाचनमा सभापति पदका पाँच जना प्रत्यासी कसैले पनि ५० प्रतिशत भन्दा बढी मत ल्याउन नसकेपछि पार्टी विधानअनुसार सबैभन्दा बढी मत ल्याउने प्रधानमन्त्री एवं वर्तमान पार्टी सभापति देउवा र नेता डा शेखर कोइरालाबीच मङ्गलबार पुनः मतदान भएको हो ।

सोमबार भएको मतदानमा प्रधानमन्त्री एवं वर्तमान सभापति देउवाले दुई हजार २ सय ५८ र उनका निकटतम प्रतिद्वन्द्वी पार्टीका केन्द्रीय सदस्य डा कोइरालाले एक हजार ७ सय २ मत प्राप्त गरेका थिए । सभापतिका अन्य प्रत्यासी पूर्व महामन्त्री प्रकाशमान सिंहले ३ सय ७१, उपसभापति विमलेन्द्र निधिले २ सय ५०, र केन्द्रीय सदस्य कल्याण गुरूङले २२ मत प्राप्त गरेका थिए ।

कांग्रेस विधानअनुसार सभापतिमा निर्वाचित हुन खसेको मतको ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्नु अनिवार्य हुन्छ । पहिलो पटक कुनै पनि उम्मेदवारले ५० प्रतिशत भन्दा बढी मत नल्याएमा सबैभन्दा बढी मत ल्याउने दुई जनाबीच पुनः मतदान गर्ने विधानको व्यवस्था छ । पुनः मतदान हुँदा बढीमत प्राप्त गर्ने उम्मेदवार विजयी हुने व्यवस्था छ ।

प्रकाशित मिति : २९ मंसिर २०७८, बुधबार  ७ : ४२ बजे