७ आश्विन २०८१, सोमबार | Tue Sep 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


राष्ट्रिय सभाका १९ पदमा निर्वाचन जारी, आजै नतिजा



राष्ट्रियसभा सदस्य निर्वाचनका लागि लुम्बिनी प्रदेशको निर्वाचन केही बेरमा सुरु हुँदैछ । मतदाता मतदानस्थलमा मतदाता आउनेक्रम चलेको छ । तस्वीर : रञ्जिता अधिकारी/रासस

१२ माघ ०७८, काठमाडौं ।  राष्ट्रिय सभामा रिक्त हुन लागेका १९ सदस्यका लागि आज सात वटै प्रदेशमा निर्वाचन जारी छ । बिहान ९ बजेदेखि अपराह्न ३ बजेसम्म मतदानको व्यवस्था मिलाइएको निर्वाचन आयोगले जनाएको छ । आगामी फागुन २० गते नेकपा एमालेका ८, नेकपा एकीकृत समाजवादीका ४, नेकपा माओवादी केन्द्रका ४ र नेपाली कांग्रेसका ३ राष्ट्रियसभा सदस्यको पदावधि समाप्त हुने भएकाले निर्वाचन गर्न लागिएको हो । सदस्यको पदावधि समाप्त हुनुभन्दा ३५ दिनअघि नै निर्वाचन गर्नुपर्ने प्रावधान छ । त्यसैले प्रदेश १ मा तीन, मधेस प्रदेशमा दुई, बागमतीमा दुई, गण्डकीमा तीन, लुम्बिनीमा तीन, कर्णालीमा तीन र सुदूरपश्चिम प्रदेशमा तीन गरी जम्मा १९ पदका लागि निर्वाचन हुन लागेको हो ।

आयोगका प्रवक्ता शालिग्राम पौडेलका अनुसार सातवटै प्रदेशका आठ मतदान स्थलमा १४ वटा मतदान केन्द्र तोकिएको छ । प्रदेश १ मा गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष एवम् नगरपालिकाका प्रमुख तथा उपप्रमुखका लागि प्रदेश निर्वाचन कार्यालय विराटनगरमा मतदान स्थल तोकिएको छ । यसैगरी प्रदेश सभा सदस्यका लागि बाली संरक्षण प्रयोगशाला विराटनगरमा मतदान स्थल तोकिएको छ ।

मधेश प्रदेशका लागि महेन्द्रनारायण निधी भवनमा, बागमती प्रदेशका लागि औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको सभागृहमा, गण्डकी प्रदेशका लागि प्रदेश निर्वाचन कार्यालय पोखरामा मतदान हुने छ ।

लुम्बिनी प्रदेशको लागि दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा, कर्णाली प्रदेशको लागि प्रदेश निर्वाचन कार्यालय सुर्खेतमा र सुदूरपश्चिम प्रदेशका लागि प्रदेश सभा भवन धनगढीमा मतदानस्थल तोकिएको निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचनमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा, लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल मजदुर किसान पार्टी, जनता समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी गरी ९ दलका ४३ जना उम्मेदवार छन् ।

राष्ट्रिय सभा निर्वाचनमा प्रदेश सभा सदस्यहरु र स्थानीय तहका प्रमुख÷पप्रमुखहरुले भाग लिन पाउँछन् । सातै प्रदेशमा कूल मतदाता २०२५ कायम छन् । निर्वाचन आयोगका अनुसार निर्वाचनमा हरियो र रातो रंगको मतपत्र प्रयोग हुने छ । रातो रंगको मतपत्र स्थानीय तहका प्रमुख र उपप्रमुखले प्रयोग गर्नेछन् । हरियो रंगको मतपत्र भने प्रदेश सभा सदस्यले प्रयोग गर्ने छन् ।

प्रदेश सभा सदस्यको मतभार ४८ र स्थानीय तहका प्रमुखको मतभार १८ निर्धारण गरिएको छ । यसैबीच, राष्ट्रिय सभा निर्वाचनको नतिजा आजै सार्वजनिक गर्ने निर्वाचन आयोगले जनाएको छ ।

 

प्रकाशित मिति : १२ माघ २०७८, बुधबार  १० : ३१ बजे